दाङ । राप्ती गाउँपालिका–३ पाखापानी निवासी लक्ष्मी रोकालाई हिजोआज पन्चेबाजा बजाउन भ्याइ नभ्याइ छ । गाउँघरमा हुने विवाह, पूजालगायत शुभकार्यसहित मेला महोत्सवको सिजन सुरु भएसँगै लक्ष्मीको व्यस्तता बढेको हो ।
गाउँघरमा हुने विवाह, पूजा, कूलपूजा, ब्रतबन्धलगायतका शुभकार्यमा बाजा बजाउने मानिस नभेटिँदा गाउँकै १२ जना महिला मिलेर बाजा बजाउन सिकेको लक्ष्मी बताउँछिन् । दुई वर्ष अघि नेपाल मगर संघ नौमती पन्चेबाजा समूह गठन गरेर व्यावसायिक रूपमा बाजा बजाउँदै आएकी लक्ष्मीले कला संस्कृतिको संरक्षणसँगै आम्दानी समेत गर्दै आएकी छन् । समूहमा आबद्ध महिलाले विवाह, कूलपूजा, पूजा, ब्रतबन्धलगायत विभिन्न मेला, महोत्सवलगायतका कार्यक्रममा बाजा बजाएर आम्दानी गर्दै आएको नौमती पन्चेबाजा समूहकी अध्यक्ष समेत रहेकी रोका बताउँछिन् ।
गाउँमा हुने विवाह, पूजालगायतका कार्यक्रममा बाजा बजाउने मानिस नहुँदा मौलिक संस्कृतिको रूपमा रहेको पन्चेबाजाको संरक्षणमा जुटेको उनी बताउँछिन् । ‘गाउँघरमा हुने विवाह, ब्रतबन्ध, कूलपूजालगायतका उत्सवका कार्यक्रममा पन्चेबाजा बजाउने पररम्परा रहे पनि बजाउने मानिस नहुँदा समस्या हुने गरेको थियो’, अध्यक्ष रोकाले भनिन्, ‘पन्चेबाजा बजाउने मानिस नभेटिएपछि महिला नै मिलेर बाजा बजाउन थालेका हौँ ।’
गाउँमै बाजा बजाउन सिक्नका लागि सातदिने तालिम लिएको समूहकी सचिव शान्ति घर्ती मगर बताउँछिन् । ‘बाजा बजाउने निष्कर्षमा त पुग्यौँ तर सिप सिकेका थिएनौँ, त्यसैमा समाजले के भन्ला भन्ने डर पनि थियो’, सचिव घर्ती मगर भन्छिन्, ‘अरू मानिसले जे भने पनि सिक्नै पर्छ भन्ने आत्मविश्वास जागेपछि गाउँमै सातदिने तालिम लिएर बाजा बजाउन लागेका हौँ ।’ बाजा बजाउन सिकेपछि पछिल्लो समय गाउँघरसँगै जिल्लाका विभिन्न ठाउँमा पुगेर विवाह, ब्रतबन्ध, कूलपुजा, मेला, महोत्सवलगायतका कार्यक्रममा पन्चेबाजा बजाउने गरेको उनी बताउँछिन् । यसरी बाजा बजाउँदै हिड्दा सुरुमा घरपरिवारसँगै समाजमा दलित समुदाय र त्यसैमा पुुरुषले गर्ने काम सक्दैनौ भने पनि अहिले भने सकारात्मक रूपमा लिने गरेको उनी बताउँछिन् ।
‘सुरुमा कसैले विश्वास नै गर्नुभएन, दलित समुदाय, त्यसैमा पुरुषले बजाउने बाजा महिलाले कसरी बजाउन सक्छौ भन्नुहुन्थ्यो’, उनले भनिन्, ‘तर हामी उहाँहरूको कुराबाट निराश भएनौँ । सक्छाँै भन्ने आत्मविश्वास लिएर तालिम लियौँ र सिप सिक्यौँ । अहिले त्यही सिप आम्दानीको बाटो बनेको छ ।’ ठाउँ अनुसार महिलाले नौमती, पन्चेबाजा बजाएर एक दिनको करिब ३० देखि ४० हजार रुपैयाँसम्म लिने गरेको समूहकी कोषाध्यक्ष गोमती पुन बताउँछिन् । बाजा बजाएर गरेको आम्दानी बचतसँगै सामाजिक कार्यमा समेत लगाउने गरेको उनी बताउँछिन् ।
‘व्यावसायिक रूपमै बाजा बजाउन थालेपछि समूहमा आबद्ध महिला दिदीबहिनीका घर खर्चको जोहो नै हुने यही माध्यम हो’, उनले भनिन्, ‘त्यसबाट केही रकम छुट्याएर सामाजिक कार्यमा पनि लगाउँछौँ ।’ उनले गाउँघरमा हुने धार्मिक कार्यक्रमसँगै मठमन्दिरका लागि निःशुल्क रूपमा बाजा बजाउने गरेको बताइन् । उनका अनुसार विवाह, पूजा, मेला महोत्सवलगायतका कार्य हुने महिनामा ३ देखि ५ लाखसम्म आम्दानी गर्ने गरेको समूहकी कोषाध्यक्ष घर्ती मगरले बताइन् ।
फोटोग्राफीमा दक्ष महरा सिस्ने अनलाइनका फोटो पत्रकार हुनुहुन्छ ।