बंगलाचुली । जिल्लाको पहाडी गाउँपालिका बंगलाचुलीमा निर्माण भएको कोल्ड स्टोर प्रयोग नभएरै भत्किएको छ । बंगलाचुली गाउँपालिका वडा नं. ५ मुर्कुटीमा निर्माण भएको कोल्ड स्टोर प्रयोगमा नआउँदै भत्किएको हो ।
कोल्डस्टोर भत्किँदा लाखौँ रूपैयाँको क्षति भएको छ । आर्थिक वर्ष २०७६÷०७७ मा बंगलाचुली गाउँपालिकाको करिब ६० लाख, साना तथा मझौला कृषक आयस्तर वृद्धि परियोजना (रिजम) को ५३ लाख ४ हजार १ सय २ रूपैयाँ र लोहारपानी कृषि सहकारी संस्थाको १३ लाख १५ हजार ८ सय ९ रूपैयाँ गरी एक करोड २७ लाख रूपैयाँ खर्च गरेर १०० मेट्रिक टन क्षमताको कोल्डस्टोर निर्माण गरिएको थियो । करोडौँ रूपैयाँ खर्च गरेर निर्माण गरिएको कोल्डस्टोर प्रयोगमा नआउँदै भत्किएको लोहारपानी कृषि सहकारी संस्थाका कोषाध्यक्ष गोपाल वलीले बताए ।
‘कोल्डस्टोर निर्माण भएको वर्ष बर्खाको समयमा पानी पर्दा हल्का क्षति पुगेको थियो । त्यसलाई मर्मत गरेका थियौँ’, सहकारी संस्थाका कोषाध्यक्ष वलीले भने, ‘तर गत वर्षको असोज–कार्तिकमा आएको ठुलो बर्सात्का कारण पहिरो खस्दा कोल्डस्टोर कामै नलाग्ने गरी भत्किएको छ ।’ भत्किएको कोल्डस्टोर मर्मतका लागि बजेट माग गरे पनि गाउँपालिकाले नदिएको उनले बताए । ‘बर्सात्का कारण पहिरोले कोल्डस्टोरमा असर गरेपछि सहकारीले मर्मत गर्न सक्ने अवस्था छैन । त्यही भएर मर्मतका लागि गाउँपालिकालाई भनेका थियौँ’, कोषाध्यक्ष वलीले भने, ‘मर्मतका लागि गाउँपालिकाका अध्यक्षज्यूले बजेटको व्यवस्था गरिदिने पनि बताउनुभएको थियो तर बजेट पार्न सक्नुभएन ।’
बंगलाचुलीमा उत्पादन हुने सुन्तला, अदुवा, कागतीलगायत तरकारी राख्न कोल्डस्टोर निर्माण गरिएको सहकारी सस्थाका कोषाध्यक्ष वली बताउँछन् । ‘बंगलाचुलीको साकिने र कुरुलेमा सन्तुला खेती हुने गरेको छ, त्यहाँ उत्पादन भएको सुन्तलासँगै अदुवा, कागतीलगायत तरकारी राख्ने गरी कोल्डस्टोर निर्माण गरेका हौँ’, उनले भने, ‘तर करोडौँ रूपैयाँ खर्च गरेर निर्माण भएको कोल्डस्टोर प्रयोगमा नआउँदै भत्किन पुगेको छ ।’
बंगलाचुली गाउँपालिका वडा नं. ५ का निवर्तमान अध्यक्ष तथा स्थानीय यनुराज खत्रीले कोल्डस्टोर सही प्रयोजनका लागि निर्माण भए पनि निर्माण गर्दा उपयुक्त ठाउँ छनोट नहुँदा बर्सात्को समयमा पहिरोका कारण भत्किन पुगेको बताए । ‘बंगलाचुली पहाडी गाउँपालिका हो, यहाँ सुन्तला, अदुवालगायतका विभिन्न फलपूmल खेती हुने गरेको छ’, उनले भने, ‘किसानलाई फलपूmल खेतीप्रति आकर्षित गर्दै उनीहरूले उत्पादन गरेका फलपूmल बिक्री नगर्दासम्म कोल्डस्टोरमा राख्ने गरी निर्माण गरिएको हो तर पहिरोले क्षति गरिदिएको छ ।’ करोडौँ रूपैयाँ खर्च गरेर निर्माण भएको कोल्ड स्टोरलाई प्रयोगमा ल्याउन सके मुर्कुटी, सकिने, कुरुले, रिभानलगायतका क्षेत्रका किसानलाई राहत पुग्ने स्थानीय बताउँछन् ।
रिभान तरकारी तथा कागती खेतीका लागि राम्रो सम्भना भएको ठाउँ भएकाले २०७६ सालमा तरकारी खेती र कागतीका लागि स्मार्ट कृषि गाउँका रूपमा घोषणा गरिएको थियो । कार्यक्रमअन्तर्गत किसानलाई तरकारी खेतीप्रति आकर्षित गराउन कृषि ज्ञान केन्द्रले किसानको क्षमता विकास तथा यान्त्रिकीरणका लागि ठुलो पैसा समेत खर्च गरेको थियो । सरकारले सहयोग गरेपछि किसानहरू तरकारी खेती गरे पनि उत्पादन भएको तरकारीको बजारीकरण हुन नसकेपछि पछिल्लो समय किसानले तरकारी खेती गर्न छोडेको स्थानीय खिमप्रसाद महरा बताउँछन् ।
फोटोग्राफीमा दक्ष महरा सिस्ने अनलाइनका फोटो पत्रकार हुनुहुन्छ ।