काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले मन्त्रालयगत समस्या सुन्न गुनासो ब्यवस्थापन कक्षको सुरुवात गरेको छ । मानो रोपेर मुरी फलाउने सिजन सुरु भएकाले किसानलाई रासायनिक मल र अन्य कुनै पनि कृषि समस्या समाधानमा सहयोग पुगोस् भन्ने उद्धेश्यले मन्त्रालयमै गुनासो कक्षको ब्यवस्थापन गरिएको हो ।
कृषि तथा पशुपन्छी बिकास मन्त्री डा. बेदुराम भुसालले मंगलबार कक्षको सुरुवात गर्दै देशभरका किसानले राखेका समस्याको अब सिधै सुनुवाई हुने बताए ।
सरकारले रासायनिक मल प्रशस्त रहेको बताए पनि देशभरका किसानले नपाएको गुनासो गरिरहेका छन् । त्यहि खाली ठाउँ पुर्न र रासायनिक मल अभावको समस्यालाई समाधान गर्न गुनासो शाखा खोलिएको हो ।
मन्त्री भुसालले जिल्ला जिल्लामका कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ शाखामा मौज्दात रहेको मलको विवरणसमेत सार्वजनिक गर्दै सोही अनुसार नभएको पाइए तुरुन्त गुनासो शाखामा फोन गर्न किसान र सरोकारवालालाई आग्रह गरे ।
किसानको गुनासो अनुसार मल नपाइएको खण्डमा तत् जिल्लाका शाखा, बदमासी गर्ने ब्यक्ति या सहकारी जोकोहीलाई पनि कारबाही हुने मन्त्री भुसालको भनाई छ । मन्त्री भुसालले कुनै पनि समस्या भएका गुनासो शाखामा राखेर अधिकतम फाइदा लिन समेत किसानलाई अनुरोध गरे ।
दिइएका नम्बरमा फोन गर्दा ७७ जिल्लाका समस्या समाधान हुने उनको भनाई छ । त्यसको लागि पैसा नलाग्ने (टोल फ्रि नम्बर) १६६००१७७७७९ र ०१–४२११४४६ नम्बरको ब्यवस्था गरिएको छ । यस्तै [email protected] इमेल, gunaso.molad नामको फेसबुक र @hello_molad नामको ट्विटरमा पनि मन्त्रालयगत समस्या राख्न सकिने प्रबन्ध मिलाइएको छ ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।