घोराही, २४ फागुन । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) महेन्द्र बहुमुखी क्याम्पस घोराहीले स्ववियु अध्यक्षको उम्मेदवारमा खुमन पौडेललाई घोषणा गरेको छ । संगठनले आगामी चौत ५ गते हुने स्ववियु निर्वाचनलाई मध्यनजर गर्दै संगठनको तर्फबाट संगठनका दाङ जिल्ला अध्यक्ष खुमन पौडेललाई स्ववियु अध्यक्षको उम्मेदवार घोषणा गरेको हो ।
संगठनले आज बुधबार बिहान महेन्द्र बहुमुखी क्याम्पसमा स्ववियु उम्मेदवार घोषणा तथा नारी दिवसको अवसरमा शुभकामना आदानप्रदान आयोजित कार्यक्रममा पौडेललाई स्ववियु अध्यक्षको उम्मेदवार घोषणा गरेको थियो ।
हामी बदल्छौ महेन्द्र क्याम्पसको स्वरुप, महेन्द्र क्याम्पको स्ववियु अखिल (क्रान्तिकारी)को नेतृत्व र विद्यार्थीको सुखदुःखको साथी अखिल (क्रान्तिकारी) विप्लव भन्ने मूल नारासहित संगठन केन्द्रीय सचिवालय सदस्य अनिल केसीले आगामी चैत ५ गतेहुने स्ववियु निर्वाचनका लागि संगठनको झण्डा हस्तान्तरण गर्दै पौडेललाई उम्मेदवारको घोषणा गरेका हुन् ।
उम्मेदवारको घोषणा गर्दै संगठन केन्द्रीय सचिवालय सदस्य अनिल केसीले आफ्नो संगठनले स्ववियुको चुनाव जित्ने आधारसहित विद्यार्थीको माझमा आएको बताए । उनले स्ववियु भनेको विद्यार्थीहरुको हकहित र अधिकार प्राप्तिसँगै विद्यार्थीका समस्याहरूलाई समाधान गर्ने साझा संस्था भएको स्पष्ट पारे ।
त्यसै गरी नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा पूर्वी दाङ जिल्लाकी इन्चार्ज सम्झना सीले क्याम्पस पुरानो विधि र पद्धतिबाट चलेकोर त्यसको रुपान्तरण गरेर अगाडि बढ्नको लागि स्ववियु निर्वाचन अनिवार्य भएको बताइन् । उनले परम्परागत रुपमा हुँदै आएको स्ववियु चुनाव लामो समयपछि हुन लागेको भन्दै स्ववियु चुनाव नयाँ ढंगले कुन संगठनले जित्यो भन्ने महत्त्वपूर्ण कुरा हुने उल्लेख गरिन् । स्ववियु चुनाव जित्नु भनेको जनताको छोराछोरीले जित्नु हो भन्दै नेता सम्झनाले यो चुनाव विप्लव नेकपा निकट अखिल (क्रान्तिकारी)ले तित्नुपर्ने कुरामा जोड दिइन् ।
उक्त कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा राप्ती ब्यूरो इन्चार्ज सविन सी, पार्टीका केन्द्रीय सदस्य दाङ जिल्लाकी इन्चार्ज सम्झना सी, पार्टीका पूर्वी दाङ जिल्ल सेक्रेटरी जनक सी, अखिल (क्रान्तिकारी) केन्द्रीय सचिवालय सदस्य अनिल केसी लगायत विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।