प्रभात गुरुङ
रुकुमपूर्व, १७ फागुन । लुम्बिनी प्रदेशको रुकुमपूर्व जिल्लामा डिभिजन वन कार्यालयले टर्कीबाट १६ हजार फरनर जातको दाँते ओखरको विरुवा ल्याएर रोपेको छ । ती १६ हजार ओखरको विरुवा रुकुमपूर्वको विभिन्न ठाउँमा फागुन १६ गते मंगलबारका दिन एकै साथ लगाइएका हुन् ।
लुम्बिनी प्रदेश वन मन्त्रिको प्रमुख उपस्थितीमा विरुवा रोपनको कार्य सुरु गरिएको हो । वन कार्यालयका नासु महेन्द्र भन्दारीका अनुसार जिल्लाका तीन वटै गाउँपालिकामा विभिन्न व्यक्तित्व हरूको उपस्थितिमा बिरुवा रोपन कार्यक्रम थालिएको हो ।
सिस्ने गाउँपालिकाको ५ नम्बर वडा रुमालबारामा लुम्बिनी प्रदेशका वन मन्त्रि दुर्गाप्रसाद चौधरी, भूमे गाउँपालिका ३ झुङ्लाबाङमा जिल्ला समन्वय समितिका प्रमुख मेघबहादुर श्रेष्ठ र पुथा उत्तरगंगा गाउँपालिकाको १३ पिपलतुङमा राष्ट्रिय भूमि आयोग जिल्ला शाखा अध्यक्ष दिपेन्द्र छन्त्यालले उद्घाटन गरेका हुन् ।
पुथाउत्तरगंगामा प्रदेश सांसद सुरुल पुन, दिलकुमारी बुढा, सरिता पुन लगायतको उपस्थिति रहने भनिए पनि कार्यब्यस्तताले उपस्थित हुन नसकेका हुन् । यी तीन ठाउँको कार्यक्रममा तीन वटै पालिकाका अध्यक्ष र उपाध्यक्ष आ आफ्नो पालिकाको कार्यक्रममा उपस्थित हुनुहुने थियो ।
विभिन्न ठाउँमा वन कार्यालयका कर्मचारीको निगरानीमा ओखरका विरुवा लागाउने कार्य गरिने बताइएको छ । वन कार्यालयका अनुसार सिस्ने गाउँपालिकाको १ देखी ८ सम्मका सबै वडा, भूमे गाउँपालिकाको १, ३, ६, ७, ८ र ९ नम्बर वडा तथा पुथा उत्तरगंगा गाउँपालिकाको १, २, ६, ८, ९, १०, ११, १२, १३ र १४ नम्बर वडामा ओखरको विरुवा लगाइएको हो ।
कृषकले बिरुवा माग गर्न दिएको आवेदनमाथी हेरफेर गरेर एक सय ३८ जना किसानलाई ओखरको विरुवा वितरण गरिएको हो । किसानको माग संकलन गरेर उनिहरुको माग संख्याको आधारमा वन कार्यालयले टर्कीबाट ओखरको विरुवा ल्याएको हो । जसमा सिस्ने गाउँपालिकामा ७० घरधुरीलाई ८ हजार ३ सय ८५ बोट, भूमे गाउँपालिकामा ४० घरधुरीलाई ६ हजार ५ सय ४५ र पुथा उत्तरगंगा गाउँपालिकामा २८ घरधुरीलाई २ हजार ६ सय १४ दाँते ओखरको विरुवा वितरण गरिएको डिभिजनल वन सहायक अधिकृत भन्दारीले बताउनुभयो । ती वडाको ४० हेक्टर क्षेत्रफलमा भोली एकै साथ १६ हजार विरुवा लगाइदै छ ।
डिभिजन वन कार्यालयले एक कार्यक्रमको आयोजना गरि सो जानकारी दिएको हो । गत वर्ष पनि वन कार्यालयले फरनर जातकै दश हजार ओखरको विरुवा कसानलाई वितरण गरेको थियो । त्यतीबेला २५ हेक्टर क्षेत्रफलमा ती विरुवा लगाइएको थियो । तर यो वर्ष कार्यालयले जुम्लाबाट हाड्ले जातको एक हजार ७ सय दाँते ओखरको विरुवा ल्याएर वितरण गरिएको पनि भन्दारीले जानकारी दिनुभएको छ ।
हाडे ओखर प्रशस्त मात्रामा पाइने यस रुकुमपूर्वमा दाँते ओखरबाट राम्रो आयआर्जनको सम्भावना छ । तर लगाइएको ओखरको विरुवालाई हुर्काउन भने चुनौती छ । सिंचाईको सुविधा छैन् । किसानसँग आवश्यक ज्ञान नहुँदा पनि ओखर खेतीबाट सफलता हात पार्न सकिन्छ की सकिदैन भन्ने कुरामा अन्यौलता छ । जिल्लामा प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, परियोजना कार्यान्वयन इकाई रुकुमपूर्व र रोल्पा कार्यालयले पनि जिल्लाको विभिन्न ठाउँमा दाँते ओखरको विरुवा वितरण गर्दै आइरहेको छ ।
ठूलो मात्रामा वितरण भएको दाँते ओखरको विरुवाबाट उत्पादन भएको ओखरको बजारीकरण तर्फ सबैको ध्यान जाओस्, भन्ने उद्देश्यले एकैपटक जिल्लाका तीन वटै गाउँपालिकामा रोपन कार्यक्रम चलाइएको हो । यसले उत्पादित ओखरको बजार समस्यालाई सम्बोधन हुने बिश्वास लिइएको राष्ट्रिय भूमि आयोग जिल्ला शाखाका अध्यक्ष छन्त्यालले बताए ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।