घोराही, २६ माघ । घोराहीसँगै जारी लुम्बिनी प्रदेशकै सर्वाधिक पुरस्कार राशिको दोश्रो खुमबहादुर खड्का स्मृति अन्तरपालिका पुरुष भलिबल प्रतियोगिता २०७९ मा सेमिफाईनल आज हुँदै छ । पहिलो खेलमा राप्ती गाउँपालिकासँग पराजय व्यहोरेको घोराही उपमहानगरपालिकाको टीमले लिग चरणका अरु तीन वटै खेलमा उत्कृष्ट पुनरागमन गर्दै अन्तिम चारमा प्रवेश गरेको हो।
सेमिफाईनलमा घोराही उपमहानगरपालिकासँगै लमही नगरपालिका, शान्तिनगर गाउँपालिका र राजपुर गाउँपालिका प्रवेश गरेका छन् । नेपाली कांग्रेस दाङको आयोजनामा माघको २० गतेबाट जारी प्रतियोगितामा लिग चरणको अन्तिम खेल बुधबार भएको हो ।
लिग चरणको अन्तिम खेल लमहि नगरपालिकालाइ घोराही उपमहानगरपालिकाले हराउदै उपाधी दाबेदारका रुपमा प्रस्तुत गरेको थियो । जसमा घोराहीले लमहीलाई ३–१ को सेटमा हराएको हो । घोराहीले २९–२७, २३–२५, २५–१५ र २५–१८ मा खेल आफ्नो पक्षमा पारेको हो । खेलका क्रममा लमहीले रेफ्रीको निर्णयमा असन्तुष्टी जनाएपछि केहीबेर रोकिएको थियो । यसअघि लिग चरणका तीन खेलमा अपराजित रहेको लमही नगरपालिकाको टीम घोराही उपमहानगरपालिकाको टीमसँग हारेको छ । घोराहीका लागि राष्ट्रिय भलिबल टीमका सदस्य रविन चन्द्र ठकुरी र विशाल विकलगायतका स्थानीय खेलाडीहरुले खेलिरहेका छन् ।
यसैगरी बुधबार दिउँसो भएको अर्को खेलमा शान्तिनगर गाउँपालिकाले राजपुर गाउँपालिकालाई ३–१ को सेटमा हराएको छ । यद्यपि दुवै टीम समुह ए बाट विजेता र उपविजेता बन्दै सेमिफाईनमा प्रवेश गरेका छन् । शान्तिनगरले २५–२२, २३–२५, २५–१५ र २५–१८ को सेटमा हराएको हो ।
योसँगै जारी प्रतियोगितामा समुह ए बाट शान्तिनगर गाउँपालिका समुह विजेता र राजपुर गाउँपालिका उपविजेता बनेर सेमिफाईनलमा प्रवेश गरेको छ । समुह बी बाट पनि घोराही उपमहानगरपालिका समुह विजेता र लमही नगरपालिका उपविजेता बनेर सेमिफाइनलमा प्रवेश गरेको छ ।
सेमिफाईनलमा दुवै खेल आज दिउँसो हुनेछ । जसअनुसार, दिउँसो १ बजे पहिलो सेमिफाईनलमा शान्तिनगर गाउँपालिका र लमही नगरपालिकाबीच खेल हुनेछ भने दोश्रो सेमिफाईनलमा घोराही उपमहानगरपालिका र राजपुर गाउँपालिकाबीच खेल हुने प्रतियोगिता संयोजक राजु आचार्यले जानकारी दिएका छन् ।
प्रतियोगिताको फाईनल खेल माघ २७ हुनेछ । त्योभन्दा अघि तेश्रो र चौथो स्थानका लागि २६ गते खेल हुनेछ । जारी प्रतियोगितामा साविक विजेता तुलसीपुर उपमहानगरपालिका र उपविजेता रहेको राप्ती गाउँपालिका बाहिरिएकाले यो पटक नयाँ टीमले उपाधि जित्ने भएको छ ।
प्रतियोगिताको विजेताले नगद दुई लाख पच्चीस हजारसहित शील्ड मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ । उपविजेताले एक लाख १२ हजार पाँच सय, तेश्रो हुनेले ५६ हजार २ सय ५० र चौथो हुने टीमले २८ हजार १ सय ३२ रुपैयाँ पुरस्कार पाउने छन् भने विधागत उत्कृष्ट खेलाडीलाई पनि पुरस्कृत गरिने आयोजकले जनाएको छ ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।