• ३ माघ २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
जनयुद्धकी पहिलो छापामार प्रतिक्षालाई माओवादीले बनाउला त समानुपातिक सांसद ?




माओवादीभित्र अवसरको सवालमा सबैभन्दा ठूलो प्रश्न उठ्ने गर्छ परिवारवाद । कतिपय नेता कार्यकर्ताको सवाल हेर्दा यो गलत पनि होइन तर केही यस्ता नेता कार्यकर्ता छन्, जो परिवारका सदस्य उच्च पदमा भएकै कारण पछि परेका छन् । तीमध्ये एक हुन– नारायणी शर्मा ‘प्रतिक्षा’ ।

नाारायणी शर्मा माओवादी केन्द्रका प्रभावशाली नेता जनार्दन शर्माकी कान्छी बहिनी हुन् । तर, आफ्नो राजनीतिक योगदान हुँदाहुँदै पनि नाताको आरोप लाग्ने खतराले निरन्तर ओझेलमा पर्दै आएकी पात्र पनि यिनै हुन् ।
२०३२ फागुन १८ गते जन्मेकी शर्मा २०४७ सालदेखि पार्टीमा जोडिएकी हुन् । नाचगानमा चासो राख्ने शर्माले पूर्ण घर्तीको नेतृत्वमा रहेको सांस्कृतिक परिवार रुकुममा रहेर २०५१ सालसम्म काम गरिन ।

कक्षा ९ मै पढ्दै गर्दा १४ बर्षको उमेरमा शर्मा माओवादी आन्दोलनमा होमिएकी थिइन् । शारीरिकरुपमा तन्दुरुस्त अनि वैचारिकरुपमा स्पष्ट हुँदै गएकी नारायणीलाई कलाकारभन्दा फरक भूमिकामा आवश्यक भन्दै पार्टीले अफर गर्यो । पार्टीकै अफरमा उनी वाइसिएल इकाइ, एरियाहुँदै जिल्ला समितिमा पुगिन् । त्यही वाइसिएल रुकुमको जिल्ला समिति नै अन्नतः माओवादी रुकुमको लडाकू दलमा बदलियो ।

२०५२ साल फागुन १ गते जनयुद्ध सुरु हुँदा नेपालका तीन ठाउँमा आक्रमण गर्ने केन्द्रीय योजना बन्यो । रुकुमको आठबीसकोट राडी प्रहरी चौकी, रोल्पाको होलेरी र सिन्लुधीको सिन्धुलीगढी आक्रमण गर्ने योजनाअनुसार रुकुमको लडाकू दलले पायो आठबीसकोट राडी प्रहरी चौकी आक्रमणको जिम्मा । त्यसमा अन्य पुरुष लडाकूको अलावा खटिए तीन महिला लडाकू– कमला रोका, नारायणी शर्मा र लालकुमारी झाँक्री (आँधी) ।

जनयुद्धको पहिलो कारवाही सफल भएपछि उत्साहित भएकी शर्मा २०५५ मा नेपालकै पहिलो स्क्वायड कमाण्डर भइन । सल्यानको बाफूखोलामा नेपालभरिका छापामारका लागि गरिएको प्राबिधिक प्रशिक्षणमा एक मात्र महिला सहभागी थिइन शर्मा ।

निरन्तर माओवादी आन्दोलनमा पूर्णकालीन नेताको रुपमा क्रियाशील शर्मा पालुङटार अधिवेशनदेखि माओवादी केन्द्रको नेतृत्वमा रहेकी छन् ।

अहिले पनि माओवादीको केन्द्रीय नेतृत्वमा रहेकी शर्मालाई पार्टीले जनयुद्धको लिगेसीको रुपमा स्थापित गर्छ वा जनार्दन शर्माको बहिनीको रुपमा बिस्थापित गर्छ, केही दिनमा देखिने नै छ ।

Facebook Comments