पातीहाल्ने र रिगताल क्षेत्र बागलुङ, रोल्पा र पूर्वी रुकुमको सिमाना हो । मध्यपहाडी लोकमार्गमा पर्ने यी क्षेत्र अहिले आन्तरिक पर्यटकको रोजाइमा छन् ।
स्थानीय सरकार आएपछि बागलुङको निसीखोला गाउँपालिका र पूर्वी रुकुमको भुमे गाउँपालिकाले यहाँका पर्यटकीय क्षेत्रलाई आआफ्नो कब्जामा पर्न थालेपछि विवाद उत्पन्न भएको छ । पाँच वर्ष अगाडि भूमे गाउँपालिकाले बागलुङको भूभागमा आएर प्रवेशद्वार निर्माण गर्न थालेपछि उत्पन्न भएको विवाद अझै सुल्झिएको छैन । सरोकारवालाले विवाद मिलाउन कोसिस गरे पनि अहिलेसम्म कुनै पनि निचोड निक्लिएको छैन ।
पातीहाल्ने दुई जिल्ला मात्रै नभएर गण्डकी र लुम्बिनी प्रदेशकै सीमा क्षेत्र पनि हो । दुवै जिल्लाका सरोकारवालाबीच पटकपटक सहमति जुटाउने प्रयास विगतमा भए तर त्यसले कुनै सहमति नजुटेपछि विवाद कायमै रहेको हो । दुई वर्ष अगाडि सीमा विवाद टुङ्ग्याउन कार्यदलसमेत बनेको थियो । कार्यदललेसमेत विवाद टुङ्याउन सकेन ।
अहिले पनि भूमे गाउँपालिकाले बागलुङको भूभागतिर ल्याउने गरी सडक निर्माण गरी रहेको निसीखोलाका स्थानीयको भनाइ छ । गत वर्षदेखि नै भूमे गाउँपालिकाले पुनः बागलुङमा पर्ने रिगा तालसम्म जोड्न सडक निर्माण गर्न थालेपछि विवाद थप बढेको निसीखोला गाउँपालिका–६ का अध्यक्ष हिमबहादुर बुढामगरले बताए । उनले भूमे गाउँपालिका–१ ले आफू खुसी अर्काको भूभागमा आएर पूर्वाधार निर्माण गरेको भन्दै निसीखोला गाउँपालिका–६ ले उक्त निर्माण कार्य तत्काल रोक्न पत्र पठाएको बताए । उनले विवाद नसुल्झेसम्म कुनै पनि पालिकाले यस क्षेत्रमा विकास निर्माण नगर्ने सहमति गरे पनि भूमे गाउँपालिकाले आफू खुसी सडक निर्माण गर्न थालेको बताए ।
“भूमे गाउँपालिकाले २०७५ सालमा हाम्रो क्षेत्रमा आएर प्रवेशद्वार नबनाएको भए यो विवाद सिर्जना हुने थिएन, प्रवेशद्वार निर्माणलाई रोकियो तर विवाद सुरु भयो, अहिले पनि उहाँहरुले हाम्रो क्षेत्रमा आएर पूर्वाधार निर्माण गरी आफ्नो भएको दाबी गर्दै हुनुहुन्छ”, अध्यक्ष बुढामगरले भने, “विवाद नरोकिएसम्म यस क्षेत्रमा कुनै पनि पालिकाले विकास निर्माणका काम नगर्ने भन्ने सहमति ग¥यौँ तर उहाँहरुले अहिले सडक बनाउँदै हुनहुन्छ ।”
प्रवेशद्वार बनाउने बेला निसीखोलाका स्थानीयले संरचना निर्माण गर्न रोकेका थिए । भूमे गाउँपालिकाका–१ का वडाध्यक्ष मनकाजी पुनले मगर अहिले निर्माण भइरहेको सडक आफ्नै क्षेत्रमा भएको दाबी गरे । अध्यक्ष पुन मगरले उक्त सडक पर्यटन प्रवद्र्धनका लागि निर्माण गर्न थालिएको बताए । यो सडक मध्यपहाडी लोकमार्गदेखि कोइपाडाँडासम्म जोड्ने उनले बताए ।
उनले नापी विभागले जारी गरेको आधिकारी नक्सा हर्ने र सोही आधारमा विवाद टुङ्याउने भन्दै यस अगाडि गुगल नक्सामार्फत विवाद मिलाउने कोसिस भएको जनाउँदै त्यो नक्सा आधिकारीक नभएको बताए । “अहिले हामीले निर्माण गर्न थालिएको सडक हाम्रै भूभागमा पर्छ, यो सडक पर्यटन प्रवद्र्धनका लागि निर्माण गर्न थालेका हौँ, लोकमार्गदेखि कोइपाडाँडासम्म जोड्ने गरी सडक निर्माण भएको छ”, उनले भने, “नापी विभागको आधिकारिक नक्सा लिएर हेर्ने त्यसपछि हामीले दाबी गरेको क्षेत्र जता परे पनि हामी मान्न तयार हुन्छौँ, हामीलाई लाग्छ, यो क्षेत्र हाम्रैमा पर्छ ।”
निसीखोला गाउँपालिका–६ का स्थानीय टेकबहादुर घर्तीले रिग ताल र पातीहाल्ने क्षेत्र पर्यटकीय हिसाबले निकै संभावना बोकेको ठाउँ भएको हुँदा भूमे गाउँपालिकाले आँखा लगाएको जानकारी दिए । उनले यो क्षेत्र निसीखोलाका पाका पुर्खा सयौँ वर्षदेखि चरन क्षेत्रका रुपमा प्रयोग गर्दै आएको बताए । घर्तीले रिगतालमा पछिल्लो समय सयौँ पर्यटक आउन थालेपछि रुकुमले आफ्नो दाबी गरेको बताए ।
निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्ती मगरले सीमा विवादका बारेमा जिल्ला समन्वय समिति, प्रमुख जिल्ला अधिकारी र प्रदेश सांसदहरु, निवर्तमान गाउँपालिका अध्यक्ष, वडा अध्यक्षसँग पटकपटक छलफल भए पनि यसको समाधान हुन नसकेको बताए । उनले प्रदेश सरकारलाई सय विषयमा जानकारी गराएपछि तदारुकता नदेखाएको बताए ।
“यो विवाद मिलाउन हामीले निकै प्रयास ग¥यौँ सकिएन, यतिका वर्ष भयो, प्रदेशमा पनि जानकारी गरायौँ, तर कुनै सुनुवाइ नै भएन, सांसदहरु पनि आएर यहाँ विवाद मिलाउने कोसिस गनुभयो तर सक्नुभएन”, उनले भने, “अब तिहार पछाडि अथवा चुनाव पछाडि जसरी पनि यो टुङ्ग्याउनु पर्नेछ, विवादले ठूलो रुप लियो भने यहाँ ठूलो घटना हुनसक्छ, घटना हुन नदिन सहजरुपमा विवाद मिलानका लागि हामी फेरि पनि जुट्नेछौँ ।”
मध्यपहाडी लोकमार्गले दुई जिल्ला नजोडिँदा यस क्षेत्रमा निसीखोलाका स्थानीयले चरन क्षेत्रका रुपमा प्रयोग गर्दै आएका थिए । यो ठाउँ सुनसान थियो । अहिले पातीहाल्नेमा घर भवन निर्माण गरी व्यवसाय सञ्चालन हुँदै आएको छ । यस क्षेत्रमा दैनिक दर्जनौँ आन्तरिक पर्यटक पुग्ने गर्दछन् । आफ्नो भूमि आफूले नछोड्ने निसीखोलाका स्थानीयको भनाइ छ ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।