कमल खड्का
रोल्पा, २९ असोज । केही वर्ष अगाडि मात्र २९ किलोमिटर कालोपत्रे भएको रोल्पाको सहिद मार्ग घोराही ,होलेरी क्षेत्रभित्र पर्ने सडक छोटो समयमै जीर्ण भएपछि यात्रीहरुले सास्ती बेहोर्दै आएका छन् । उक्त सडकमार्फत चुनढुङ्गा ओसार्ने टिप्परहरु गुड्ने हुँदा सडक जीर्ण भएको स्थानीयको भनाइ छ । सडकको अवस्था नाजुक हुँदै गएपछि स्थानीयले संघर्ष समिति बनाई टिप्परलाई फरक बाटो प्रयोग गर्नुपर्ने माग गर्दै आन्दोलन समेत गरेका थिए ।
आन्दोलन लगत्तै आफ्ना माग राख्दै उद्योगका टिप्परहरु अनिश्चितकालका लागि थप्प पारेका थिए । टिप्परहरु थप्प भएपछि उद्योगी र संघर्ष समितिबीच एक खाल्को बैठक बसेको थियोे ।
उक्त बैठकले अन्य सडकको बिकल्प नहुदा सम्मका लागि सहिद मार्ग नै प्रयोग गर्नुपर्ने तर बिग्रेको सडक मर्मत सम्भार गरेर र लोड बोक्दा टिप्परको ढाला बराबरको बोक्ने निर्णय भएर टिप्पर संचालन गर्न दिइएको थियोे । त्यस यता केही समयसम्म उद्योगबाट टिप्पर ढुङ्गा लिन आउदा छर्रा लिएर आउने र खाल्डाखुल्डीमा राखेर मिलाउने काम उद्योगले गरेको थियोे । त्यसपछि सडकमा यात्रा गर्नका लागि केही समय अलि सहजता भएको थियोे ।
तर लामो समयसम्म कसैले वास्ता नगर्दा फेरि सडक पुरानै अबस्थामा फर्किएको छ । यसवर्ष स्थानीय चुनाबमा रुन्टीगढी गाउँपालिका काङ्ग्रेसले जित्यो । जित हुने बित्तिकै गाउँपालिकाले सडक आयोजनासँग समन्वय गरेर नाला सफाई गर्न र खाल्डाखुल्डी पुर्न लगायो तर वर्षाले गर्दा भने अनुसारको काम हुन सकेन । त्यस्तै यसवर्ष उद्योगका टिप्परहरु पनि त्यति गुडेनन्, त्यसैले सडक सुधारमा अत्यधिक दबाब दिन समेत नसकिएको गाउँपालिका अध्यक्षले जानकारी दिए ।
तर खाल्डाखुल्डी भएर सडकमा यात्रा गर्दा सास्ती भएको अत्यधिक गुनासो आउन थालेपछि रुन्टीगढी गाउँपालिका अध्यक्ष जनक पुनले सहिद मार्ग सडक आयोजना र उद्योगीहरुलाई बोलाएर छलफल गराउदा उद्योगीहरुले काम गरेको तर बर्षाले फेरि खाल्डाखुल्डी बनाएको भन्ने भनाइ छ ।
त्यसकारण पहिले नाला सफाई गरेर मात्र खाल्डाखुल्डी पुर्दा टिकाउ हुने कुरालाई जोड दिदै सडक आयोजनाबाट नाला सफाईका लागि आवश्यक जनशक्ति खटाउने र नाला सफाईका लागि उद्योगले मेसिन उपलब्ध गराउने कुरामा सहमति भएको छ ।
त्यस्तै खाल्डाखुल्डी पुर्न र सडक मर्मतका लागि सडक आयोजनाबाट ईस्काभेटर र उद्योगीहरुबाट टिप्पर उपलब्ध गराउने समेत निर्णय भएको छ। छलफलमा बोल्दै सहिद मार्ग सडक आयोजना प्रमुख पवन भतराईले अब बन्ने सडकको कालोपत्रेले टिप्पर लोड धान्न सक्ने क्षमताको बनाउने समेत जानकारी गराएका छन् । तर आधिकारिक रुपमै उद्योगले सोही सडक प्रयोग गर्ने हो भने यस सडक स्तरोन्नतिमा उद्योगले समेत सहयोग गर्नुपर्ने कुरा अघि सारेका छन् । अब फेरि कालोपत्रे गर्नको लागि डिपिआर र वातावरणमा मुल्यांकनको काम यसैवर्ष गर्ने जानकारी दिएका छन् । सबै कुरा मिलाएर अर्को बर्षको दशै अगाबै टेन्डर आवान गर्ने जानकारी दिए ।
त्यस्तै छलफलमा बोल्दै पालिका अध्यक्ष जनक पुनले यस क्षेत्रकै प्राकृति सम्पत्ति क्षति गरेर संघ र प्रदेशलाई मात्रै बनाउने हुदा यस क्षेत्रलाई प्राथमिकता नदिनु दुःखद भएको कुरा उल्लेख गरेका छन् । त्यसैले यस क्षेत्रका बहुउपयोगी सामाग्री राज्यले लादै गर्दा स्थानीय सरकारले समेत केही हिस्सा पाउन सके यहाँका जनता जीवनस्तर सुधार्न टेवा पुग्ने कुरालाई समेत जोड दिएका छन्। सोही अनुरुप स्थानीय सरकारले आफ्नो तबरबाट केही ऐन बनाउन लागेको कुरा समेत जानकारी दिए ।
छलफलमा रुन्टीगढी गाउँपालिका अध्यक्ष जनक पुन, प्रमुख प्रशासकीय अधिकृत रेमन्त बहादुर डाँगी, प्रशासन अधिकृत सानबाबु खड्का ,सहिद मार्ग आयोजना प्रमुख पवन भट्टराई ,सहिद मार्ग आयोजना लेखा अधिकृत दिनेश थापा, सम्राट सिमेन्ट संचालक जिबराज पन्त, सोना सिमेन्ट ब्यबस्थापक बिनोद घिमिरे ,सम्राट सिमेन्ट कर्मचारी पुरुसोतम पौडेल ,पिके निर्माण सेवा दाङबाट प्रेम प्रसाद भण्डारी र शिक्षक पृथ्वी जिएमको उपस्थिति रहेको थियोे ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।