नेकपा एमालेकी नेता एवं निवर्तमान प्रतिनिधिसभा सदस्य गंगा चौधरीले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गर्नुभएको छ ।
‘आज मैले ठिक निणर्य गरे या बेठिक मलाई थाहा छैन, राष्ट्र र राष्ट्रियताको लागि म सधैं लागि रहने छु’– फेसबुकमार्फत उहाँले भन्नुभएको छ– ‘जनता भगवान हुन, जनता नै सर्वपरि हुन् । देशलाई शीरमाथि राखेर आज स्वतन्त्र उमेदवार भएर जनताको बिचमा आउदैछु हजुरहरुको साथ चाहिएको छ ।’
दाङ १ बाट आफ्नो नाम सिफारिस भएको तर पार्टीले अर्को निर्वाचन क्षेत्रकी शान्ता चौधरीलाई ल्याएकाले स्वतन्त्र उम्मेदवार बन्न लागेको गंगाले बताउनुभयो । ‘मैले स्वतन्त्र उम्मेदवार बन्ने घोषणा गरेकी छु । दाङ १ बाट म स्वतन्त्र उम्मेदारी दिने हो’– उहाँले भन्नुभयो– ‘पार्टीले बाहिरको मान्छेलाई उम्मेदवार बनाउने भएकाले मान्दैनौं । उहाँ (शान्ता चौधरी)को क्षेत्र पनि यो भएको भए र उहाँलाई नै दिएको भए त मान्थ्यौं तर बाहिरको मान्छेलाई यहाँ उम्मेदवार बनाएपछि कसको मनले मान्छ र ?’
असोज २३ मा उम्मेदवारी दर्ता गरेर पार्टीबाट राजीनामा दिने उहाँले जानकारी दिनुभयो । शान्ता चौधरीको स्थायी बसोबास दाङ क्षेत्र नम्बर २ मा पर्छ । दाङ २ बाट एमालेका महासचिव शंकर पोखरेल प्रतिनिधिसभा सदस्य उम्मेदवार बन्नहुने भएको छ ।
गंगाले पार्टीका नेताहरूसामू आफ्ना कुरा राख्दा पनि सुनुवाइ नभएको र उम्मेदवारीबाट वञ्चित गराएको बताउनुभयो । २०४९ सालमा एमालेको क्रियाशील सदस्यता लिएर पार्टीमा आबद्ध भएकी गंगा २०६४ सालमा एमाले परित्याग गरी थरुहट तराई पार्टीमा लाग्नुभएको थियो । २०७० मा संविधानसभा सदस्य बनेकी उहाँ २०७४ सालको निर्वाचनअघि एमालेमै फर्किएर प्रतिनिधिसभामा समानुपातिक सांसद बन्नुभएको थियो । एमालेको चितवनमा भएको १०औं महाधिवेशनबाट उहाँ केन्द्रीय सदस्य पनि बन्नुभएको थियो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।