तपाईं प्रतिनिधिसभा सदस्य उम्मेदवार नबन्ने निर्णयमा किन पुग्नुभयो ?
मेरो यो सुविचारित निर्णय हो । मैले पहिले संसद्मा र बाहिर बोल्दा पनि भनेको थिएँ- संसद् वा सरकारमा गएर मात्रै राजनाीति गर्न सकिन्छ र त्योभन्दा बाहिरको राजीनीति चाहिँ राजनीति नै होइन भन्ने जुन गलत भाष्य स्थापित भएको छ; नेपालमा यसले राजनीतिलाई भ्रष्टीकरण गर्न र देशलाई यो दुर्गतिमा हाल्न यो चिन्तनले पनि असर गरेको छ । त्यसैले हामीले राजनीति भनेको समाज रुपान्तरण र जनसेवाको साधन हो भन्ने मान्यतालाई पक्रिनुपर्यो । त्यसका लागि सदन र सरकार भनेका एउटा साधन मात्रै हुन् । त्योभन्दा बाहिरबाट गरिने कर्म, जनपरिचालन, जनअभियान र अन्य सार्वजनिक तहबाट गरिने काम पनि राजनीति हो भन्ने स्थापित गर्नुपर्छ । त्यसका लागि अगुवाइ गर्नुपर्छ । हिजो क्रान्ति र आन्दोलनको नेतृत्व गर्ने संविधानका निर्माताहरूले नै त्यो गर्नुपर्छ भन्ने मेरो मान्यता हो । त्यसैअनुसार अब आफूबाट सुरुवात नगरेसम्म अरुलाई उपदेश दिएर मात्रै केही अर्थ हुँदैन, त्यसैले मैले नै सुरुवात गर्नुपर्छ भनेर उम्मेदवार नबन्ने निर्णय लिएको हुँ । दुई पटक संविधानसभा सदस्य र पछिल्लो समय सांसद जितिसकेको र पूर्वप्रधानमन्त्री पनि भइसकेको मान्छे हो । त्यसैले मैले पटकपटक सत्ता र संसद्को मात्रै अपेक्षा गर्नु उपयुक्त हुन्न, त्योभन्दा बाहिरको राजनीति पनि राजनीति हुन्छ भनेर यो निर्णय लिएको हुँ । कतिपयले चाहिँ यो चुनाव नलड्ने बित्तिकै राजनीतिक सन्न्यास लिने भन्नु गलत कुरा हो ।
राजनीतिबाट सन्न्यास लिनुभएको होइन ?
त्यो गलत भाष्य हो । त्यसकारण नै देश बिग्रिएको हो । संघीय संसद्मा २७५ जना मात्रै हुन्छन् र त्योभन्दा दोब्बर प्रदेशसभामा छन् । त्योभन्दा बाहेक ३ करोड जनता, १५-२० लाख राजनीतिक दलका कार्यकर्ता छन् । ती के हुन्छन् ? तिनले किन राजनीति गर्ने ? त्यसकारणले मैले यो भाष्यलाई बदल्न पनि खोजेको हो ।
यो निर्णयबाट युवाहरूलाई पनि अगाडि बढाउन खोजेको हो । त्यसका लागि युवाहरूमा राजनीतिक विचार पनि हुनुपर्यो र उमेर पनि हुनुपर्यो । विचारले पनि युवा हुनुपर्यो । युवा भनेको विज्ञानबाट लेस हुने ढंगको हुनुपर्यो । उमेर र विचारको युवा भयो भने राम्रो हुन्छ भन्ने मेरो मान्यता हो । यसले युवाहरूलाई प्रश्रय पनि देओस् तर विचारविहीन युवाचाहिँ होइन । जुन अहिले आइरहेको छ कि स्वतन्त्र भनेर विचारविहीन ढंगले एकदमै पपुलिस्ट कुरा गरेर मात्रै नेता हुने भन्ने जुन प्रवृत्ति बढेको छ त्यो पनि लोकतन्त्रिक हुँदैन । त्यसैले मैले युवालाई प्रश्रय पनि हो र त्यो विचारसहितको युवालाई अगाडि बढाउनुपर्छ भन्ने सन्देश पनि दिन खोजेको हो ।
मतदाताले स्वतन्त्रहरूलाई खोजिरहेका छन् । तर तपाईं भने उनीहरूमा राजनीतिक विचार नभएकाले दिगो हुन्न भनिरहनुभएको छ र आफैं फिल्ड छोड्दै हुनुहुन्छ नि ?
मैले राजनीतिको फिल्ड छाडेको होइन । राजनीतिलाई दिशा दिन खोजेको हो । दोस्रो कुरा, युवाहरूको दल नेताहरूप्रतिको असन्तुष्टिको हदसम्म ठिकै छ तर त्यो विकल्प के हो ? दलको विकल्प राम्रो दल हो । नराम्रो नेताको विकल्प राम्रो नेता हो । त्यसैले व्यक्ति मात्रै केही गर्न सक्छ भन्ने कुराले पपुलिज्मतिर लिएर जान्छ र राजनीतिक विकल्प दिँदैन । त्यसैले युवाहरूको असन्तुष्टि ठिक छ तर त्यसले विचारसहित संगठित शक्तिले मात्रै सही दिशा दिन्छ र राजनीति बदल्छ भन्ने उहाँहरूले बुझ्नुपर्छ ।
तपाईंको पार्टी नेपाल समाजवादी पार्टी र माओवादी केन्द्रबीच एउटै चुनाव चिह्न लिएर निर्वाचनमा जाने सहमति भएको थियो, अहिले तपाईंले यो निर्णयबारे निर्णय लिँदा त्यो पक्षबारे छलफल भएको हो कि होइन ?
चुनाव चिह्न एउटै लिने निर्णय गरेका छौं तर पार्टी एकता भइसकेको छैन । भोलि फेरि बहस छलफल गर्दै गएर नयाँ समाजवादी धार सिर्जना गर्ने भन्ने पनि हाम्रो समझदारी हो । कांग्रेस र एमालेको विकल्पमा अग्रगामी शक्तिको विकल्प आवश्यक छ र त्यो देखिएको छैन नेपालमा भन्ने हो । नयाँ शक्ति हुँदै एउटा प्रयोग गर्न खोज्यौं तर प्रभावकारी बनेन । फेरि, माओवादी र अन्य शक्तिहरू एमालेसँग जोडिएर गर्न खोजे त्यो पनि सफल भएन । त्यसैले हामीले फेरि यो विषयमा छलफल गरेर निष्कर्ष दिनुपर्छ भन्ने हाम्रो कुराकानी पनि छ । त्यस अर्थमा भोलि नयाँ समाजवादी धार सिर्जना भएछ भने त्यहाँ पनि विचारगत राजनीतिको अर्थ र महत्त्व हुन्छ । मेरो त्यक्ष क्षेत्रमा रुची पनि हो । त्यसले पनि मैले चुनावी राजनीतिभन्दा बाहिर रहेर विचार राजनीतिमा रहेमा त्यो अभियानलाई बढी योगदान गर्न सक्छु भन्ने मलाई लागेर यो निर्णय लिएको हो ।
तपाईंले प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार नबन्ने निर्णय लिएपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल गोरखाबाट चुनाव लड्न लाग्नुभएको हो ? तपाईंहरूबीच सल्लाह भएर यो निर्णयमा पुग्नुभएको हो ?
मुख्य कुरा, म आफैं चुनावी राजनीतिभन्दा जनतासँग जोडिएको, वैचारिक राजनीतिमा केन्द्रित हौं भन्ने मेरो प्रयत्न हो । दोस्रो कुरा, प्रचण्डजीहरूसँग भोलि हामीले चुनावपछि नयाँ ढंगको समाजवादी धार बनाउने भन्ने सोच छ । त्यस अर्थमा पनि मुख्य नेतृत्वहरूमध्ये सबैले सत्तामा मात्रै जाँदा हिजोको समाजवादी आन्दोलनलाई घाटा पर्यो भन्ने प्रचण्ड र मेरो साझा बुझाइ हो । त्यसो हो भने हामी सबै सत्ता र संसद्मा मात्रै किन जाने ? कोही सांसद सरकारमा जाउँ र कोही बाहिर बसौं त्यस निम्ति पनि यो ढंगको कार्यविभाजन भयो भने राम्रै हुन्छ भन्ने पनि हाम्रो कुरा छ । त्यसकारण प्रचण्डजीलाई तपाईं गोरखामै आउनुस्, गोरखामा विकास निर्माणको पूर्वाधार पनि तयार भएको छ । तपाई त्यहाँ गइदिइसकेपछि त्यसमा सहयोग पुग्छ र तपाईं धेरै अन्त अल्झिनु पर्दैन, राम्रो सन्देश पनि जान्छ भन्ने आग्रह गरेको छु । उहाँले सकारात्मक छु र सोच्छु भनिराख्नुभएको छ । मेरो आग्रह- उहाँ गोरखा जानुभयो भने हाम्रो अभियानलाई राम्रै हुन्छ भन्ने मलाई लाग्छ ।
भनेपछि माओवादी र नेसपा एकता हुने, तपाईंले पार्टीको नेतृत्व गर्ने र दाहालले सरकार संसद्को नेतृत्व गर्ने कार्यविभाजन भइसकेको हो ?
नेतृत्व के गर्ने भनेर त अर्कै कुरा हो‚ र त्यो पछि हुन्छ । म वैचारिक राजनीतिक नेतृत्वप्रति बढी केन्द्रित हुने र राजकीय काममा प्रचण्डजी बढी केन्द्रित हुने भन्ने हो । नेतृत्व प्रणाली के हुने भन्ने विषयमा त पछि छलफल गरेर टुंगोमा पुग्छौं । अहिले नै निष्कर्ष र टुंगोमा पुगेका छैनौं ।
तपाईं २०७४ सालमा कांग्रेसको साथमा लागेर निर्वाचन जित्नुभयो, त्यसअघि माओवादीबाट दुईपटक सांसद बन्नुभयो ।अहिले फेरि माओवादीबाट प्रतिस्पर्धा गर्दा निर्वाचन क्षेत्रमा कमजोर परिन्छ कि भनेर त यो निर्णयमा पुग्नुभएको होइन ?
होइन । जनताले त यसरी छोड्न भएन, आउनुपर्यो भनिरहनुभएको छ । निर्वाचन क्षेत्रमा कमजोर भएको भन्ने चर्चामा कत्तिको पनि सत्यता छैन । जनताले माया गरिराख्नुभएको छ । बरु मैले छोड्दा बिग्रिन्छ कि भन्ने उहाँहरूको चिन्ता छ । मैले छोड्दा मभन्दा राम्रो मान्छे ल्याउँछु भनेर उहाँहरूको चित्त बुझाइरहेको छु । निर्वाचन क्षेत्रमा म कमजोर हुने त प्रश्न नै होइन ।
तपाईंले संसदीय राजनीति सधैंका लागि छोड्नुभएको भनेर बुझ्ने कि यो निर्वाचनमा मात्रै उम्मेदवार बन्नुहुन्न भन्ने बुझ्ने ?
तत्कालका लागि त अहिलेलाई नै हो । तर पनि यो परिस्थितिमा सकभर हामी वैचारिक राजनीतिक कामतिरै केन्द्रित हुनुपर्छ भन्ने हो । हाम्रो उमेरका मान्छेहरूले त्यतातिर लागेर नयाँलाई संसद्मा अवसर दिनुपर्छ भन्ने मेरो मान्यता हो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।