• ९ मंसिर २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दशैंका लागि ५६ अर्बको नयाँ नोट साटियो




यस वर्षको दसैंमा केन्द्रीय बैंकको ढुकुटीबाट करिब ५६ अर्ब रुपैयाँ बराबरको नोट बाहिरिएको छ । राष्ट्र बैंक र अन्य बैंक तथा वित्तीय संस्थामार्फत नयाँ र सुकिला (पहिले प्रयोगमा आइसकेका) गरी करिब ५६ अर्ब रुपैयाँ बराबरका नोट बाहिरिएको राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभाग प्रमुख रेवतीप्रसाद नेपालले जनाए । यो गत वर्ष सोही अवधिमा वितरण गरिएको भन्दा केही बढी हो ।

गत वर्षको दसैंमा मात्र राष्ट्र बैंकबाट करिब ५० अर्ब रुपैयाँ नयाँ नोट बाहिरिएको थियो । उल्लिखित रकममा सिक्काको हिसाब हुँदैन । दसैंमा बैंक तथा वित्तीय संस्थाबाट पनि सर्वसाधारणले रकम झिक्छन् । त्यसको सम्पूर्ण विवरण आइनसकेको राष्ट्र बैंकले बताएको छ । ‘साना दरका १६ अर्ब रुपैयाँ र ठूला दरका करिब ४० अर्ब रुपैयाँ गरी शुक्रबारसम्म करिब ५६ अर्ब रुपैयाँ बराबरका नयाँ नोट ढुकुटीबाट बाहिरिएको छ,’ नेपालले भने, ‘दसैंका बेला सर्वसाधारणले पनि आफूसँगै केही पैसा नगदमै राख्न चाहन्छन् ।’

राष्ट्र बैंकले दसैं बिदा सकिएपछि पनि तिहार र छठका लागि सर्वसाधारणलाई नयाँ नोट वितरण गरिने बताइएको छ । यसरी दसैंको अवसरमा सटहीका लागि करिब १६ अर्ब र भुक्तानीका लागि ४० अर्ब रुपैयाँ राष्ट्र बैंकबाट बाहिरिएको देखिएको हो ।

नयाँ नोट सटही गर्दा पुरानो पैसा राष्ट्र बैंकमा आउने भएकाले बजारमा मुद्रा आपूर्ति बढ्दैन । तर, भुक्तानी (पेमेन्ट) ले बढाउँछ । दसैंमा बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकमा रहेको आफ्नो खाताबाट पैसा झिक्छन् । यसरी झिकिने पैसा नयाँ वा सुकिला मात्र हुन्छन् । यसैलाई राष्ट्र बैंकले भुक्तानी भन्छ । नोट सटही गर्दा सर्वसाधारण वा संस्थाबाट पुराना नोट लिएर नयाँ नोट दिइन्छ । यसकारण पनि नोट सटही गर्दा बजारमा मुद्राको आपूर्ति बढ्दैन । तर विभिन्न संघसंस्थालाई भुक्तानी दिँदा ती बैंक तथा वित्तीय संस्था र अन्य संस्थाहरूको खातामा रहेको रकम बाहिर जाने हो । यस्तो भुक्तानीले मात्र बजारमा मुद्रा आपूर्ति बढाउने हो ।

गत शुक्रबारसम्म करिब ५६ अर्ब रुपैयाँ बराबर नयाँ नोट बाहिरिएपछि वित्तीय प्रणालीमा रहेको चलनचल्तीको मुद्रा (क्यास इन सर्कुलेसन) बढेर ६ खर्ब ६३ अर्ब रुपैयाँ पुगेको नेपालले जानकारी दिए । गत भदौ २६ सम्म चलनचल्तीमा रहेको मुद्रा ६ खर्ब १० अर्ब रुपैयाँ थियो । राष्ट्र बैंकले गत भदौ २६ देखि बैंक तथा वित्तीय संस्था र २९ देखि सर्वसाधारणका लागि नयाँ नोट सटही सुविधा उपलब्ध गराएको थियो ।

Facebook Comments