खुमबहादुर सुनार
लिवाङ, १७ राेल्पा । घरमा मृत भेटिइएकाे १८ दिन बितिसक्दा पनि मृत्युको कारण अझै खुल्न सकेको छैन्।
गत साउन ३० गते सुनछहरी गाउँपालिका वडा नं. -३ माइतीघर भई साेहि गाउँपालिका -१ सेरम घुस्वाङकि १९ वर्षिय कल्पना विकलाई घरपरिवारका सदस्यले मृत फेला पारेका थिए। त्यसपछि माइती पक्षले उनकाे हत्या भएको दावि गर्दै आएका छन्।
मृतक कल्पनाका श्रीमान् अन्दाजी २१ वर्षिय रमेश कामीले विगत लामो समयदेखि अत्याधिक मादक पदार्थ सेवन गर्ने‚ दैनिक जसो आफ्ना घरका परिवार संग झै- झगडा गरी बुवाआमा, बहिनी र श्रीमती कल्पनालाई समेत कुटपिट समेत गर्ने गरेको स्थानीयले बताए पछि माइती पक्षले उनले आफ्नी छाेरीकाे हत्या गरेकाे बताउदै आएका छन्।
मृतक कल्पना र रमेश २०७७ फाल्गुन प्रेम विवाह गरेका थिए। पटकपटक रमेशले कल्पनालाई कुटपिट गरेपछि गत चैत्र २५ गते माइतीमा नै बस्ने गरि गएपछि फेरि कल्पनालाई लिनको लागि श्रीमान र कल्पनाकाे सासुले माइतीबाट गत बैशाख ११ गते झैझगडा नगर्ने गर्भवती समेत रहेकि कल्पनालाई कुटपिट नगर्ने सर्तमा आमाछाेराले घरमा ल्याएको माइती पक्षले जनाएको छ।
मृतक कल्पनालाई गत साउन २० गते सुत्केरी व्यथा लागेपछि स्थानीय स्वास्थ्य चौकीमा अ.न.मी. सुनमाया घर्तीले सोहि दिन सफल सुत्केरी गराएकि थिइन। कल्पनाले छोरी पाएपछि श्रीमान रमेशले अत्याधिक मदिरा सेवन गरि स्वास्थ्य चौकीमा नै गएर श्रीमती कल्पनालाई गाली गलौच गरेका थिए। त्यसपछि स्वास्थ्य चौकीका स्वास्थ्य कर्मीले सुत्केरी भएको ५ र ७ औं दिन कल्पनाको स्वास्थ्य चेकजाँच गर्दा स्वास्थ्य अवस्था सामान्य रहेको‚ सामान्य हिडडुल समेत गरेको, कुनै घातक खालको रोग र समस्या नदेखिएको स्वास्थ्य चौकिले जनाएको छ।
माइतीबाट गत साउन ३० गते सुत्केरी कल्पनालाई आमाबुवाले भेटगरि फर्किएपछि साेहि दिन राती कल्पनाको रहस्यमय मृत्यु भएको हाे। मृतक कल्पनाको हात / खुट्टामा निलडाम‚ मुख र आँखाबाट रगत पनि आएको स्थानीयले बताएका छन। रमेशका बावाआमा र बहिनी छुट्टिएर अर्को घरमा बस्ने हुदा कल्पना र रमेश एक्लै बस्दै आएका थिए। बिहान पख रमेशका बुवाआमा रमेशकाे घरमा जाँदा सुत्केरी कल्पनालाई मृत अवस्थामा फेला पारेपछि स्थानीयलाई खबर गरेपछि कल्पनाकाे शव परिवार र गाँउलेहरुले अन्तिम संस्कारका लागि घर देखी अन्दाजी ३५/४० मिटर टाढा गाडेको खुलेकाे छ।
मृतक कल्पनाको बाबु र आमाले हत्या नै भएको भन्दै प्रहरीलाई खबर गर्ने र मुद्धा दर्ता गर्ने भनेपछि छिमेकी एकजनाले प्रहरीलाई खबर गर्दा‚ मुद्धा मामिला गर्दा धेरै खर्च हुन्छ भनेपछि आर्थिक अवस्था कमजोर भएका माइती बाबुआमाले पनि प्रहरीमा कुनै जानकारी नगरेकाे बताइएको छ।
हत्या भएको १७ दिनपछि मात्रै घटना बाहिरिएको छ। यसबारे केही तथ्य जनसहारालाई प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय राेल्पालाई बुझदा प्रहरीमा पनि कुनै जानकारी नआएको पाइएको छ।
घटनास्थल पर्ने क्षेत्र हेर्दै आएकाे जिल्ला प्रहरी कार्यालय मताहतकाे प्रहरी युनिट र जिल्लामा पनि घटनाबारे केही जानकारी नआएको जिल्ला प्रहरी कार्यालय राेल्पाका प्रवक्ता प्रहरी निरीक्षक प्रकाश भुसालले बताए।
अब घटना बारे तत्काल मताहत प्रहरी युनिटमा बुझने र घटनास्थल भनिएकाे ठाउँमा प्रहरी परिचालन गरि स्थलगत अनुगमन गर्न लगाई अनुसन्धानकाे प्रक्रिया अघि बढाइने प्रहरी निरीक्षक भुसालले जनसहारालाई बताए।
स्थानीयका अनुसार मृतकका श्रीमान केही दिन अघि देखि घरमा छैनन। कामकाे खाेजिकाे लागि भन्दै ४/५ दिन अगाडि आफ्नो नवजात छाेरीलाई अलग बस्दै आएका बुवाआमाकाे घरमा छाेडेर गएपछि अहिलेसम्म गाउँघरमा नदेखिएको र नवजात छाेरीकाे अवस्था समेत नजुक रहेकाे स्थानीयले बताएका छन्।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।