होलेरी, ६ साउन । रोल्पाको रुन्टीगढी गाउँपालिकाका अध्यक्ष जनक पुनले होलेरी बजारमा बस्ने मानिसहरु सुकुम्बासी नभएको बताएका छन् । सब- डिभिजन वन कार्यालय होलेरीले बिहीबार आयोजना गरेको होलेरीमा वन अतिक्रमण पहिचान तथा नियन्त्रण सम्बन्धी कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका पालिकाका अध्यक्ष पुनले होलेरी बजारमा धेरै मानिसहरु बस्ने गरेको बताए । बजारमा बस्ने जो मानिसहरू सुगमबासी र हुकुमबासी छन् ,तर सुकुम्बासी छैनन् उनले भने । सुकुम्बासी नभएपनि उनीहरुको कहि कतै उचित व्यवस्थापन हुनुपर्छ र गरिनुपर्छ त्यसका लागि भूमि आयोगले हेर्ने अधिकार छ, तर पालिकासँग त्यो हैसियत नभएतापनि उनीहरूको बस्ने बास तथा खाने गाँसका लागि आफूले गम्भीर ढंगले सोचेको बताए ।
होलेरी बजारमा जग्गा अतिक्रमण गरि बनाइएका घरटहराको बारेमा बेला बखत सुनामी छाल आएको जस्तो आभास भइरहेको उनको धारणा रहेको छ । वन तथा सामुदायिक वनको जग्गा अतिक्रमण गरेर बनाइएका टहरा सब – डिभिजन बन कार्यालय होलेरीले गरेको काम नियम संगत गरेको र कानुनले जो कोहीलाई पनि नछाड्ने अध्यक्ष पुन जिकिर गरे । होलेरीमा वन क्षेत्र बाहेक ३ वटा जग्गा रहेको र त्यो अतिक्रमित जग्गा कुन कस्को हो भनेर अहिले अमिनले छुट्याउने काम भइरहेको हुँदा उक्त जग्गा छुट्याइएपछि ती अतिक्रमण गरि बनाइएका घरटहराहरुको बारेमा आगामी कार्यपालिकाले निर्णय गर्ने र त्यो निर्णय कार्यान्वयन गर्न सबैको साथ र सहयोग रहनुपर्ने उनको भनाइ छ ।
त्यस्तै सब- डिभिजन वन कार्यालय होलेरी रोल्पाका प्रमुख गौतम ख्यालापालाले वन अतिक्रमण सबै ठाउँमा हुने गरेको बताए । उनले वन अतिक्रमण गरि टहरा बनाउने याम बहादुर विक र लालबहादुर विकको टहरा हटाइएको उनले जानकारी दिए ।
कानुनले कुनैपनि धनी र गरीब भनेर नचिन्ने र नियम बिपरित काम गर्ने जो कोही कानुनको दायरामा आउनुपर्ने उनको धारणा छ । अबदेखि होलेरी बजारमा वन क्षेत्र र सामुदायिक वनको जग्गा अतिक्रमण गरेर बनेका सबै घरटहराहरु हटाउनुपर्ने र त्यसका लागि सबैको साथ सहयोग हुनुपर्नेमा र त्यो काम अमिनको प्रतिवेदन अनुसार अगाडि बढ्ने प्रमुख ख्यालापालको भनाइ छ ।
त्यसैगरी वडा नम्बर ६ का वडा अध्यक्ष तथा वन महासंघ रुन्टीगढीका अध्यक्ष घनबहादुर घर्तीले वन अतिक्रमण देशभर समस्या भएको बताए । उनले जग्गा अतिक्रमणका समस्या के हो भन्ने कुराको पहिचान गरेर समस्याको समाधान खोज्नुपर्नेमा जोड दिए ।
कुनैपनि जग्गा अतिक्रमण सबैभन्दा सहरमा हुने र ती अतिक्रमीत जग्गालाई सामूहिक व्यवस्थापन गर्नुपर्नेतिर अगाडि बढ्न नसकेमा यो समस्या कालान्तरसम्म्म रहने र सहर क्रुप हुने भएको हुँदा दीर्घकालीन समाधान खोज्नतिर सबै जना एकजुट हुनुपर्ने अध्यक्ष घर्तीको भनाइ छ ।
होलेरी बजार व्यवस्थापन समितिका अध्यक्ष होम यरीले वनको जग्गा अतिक्रमण गर्नेलाई नियन्त्रण गर्ने कार्य स्वागतयोग्य भएको तर विभेदकारी निर्णय सही नभएको बताए । उनले होलेरी बजारमा वन, ऎलानी तथा सार्वजनिक जग्गा अतिक्रमण गरि बनाइएका सबै घरटहराहरु समान रुपले हटाइनुपर्नेमा जोड दिए ।
सब- डिभिजन वन कार्यालय होलेरी रोल्पाका प्रमुख गौतम ख्यालापाला एवं रुन्टीगढी गाउँपालिकाका अध्यक्ष जनक पुनको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पालिकाका ९ वटै वडाका वडा अध्यक्षहरु, नेकपा एमाले रुन्टीगढी गाउँपालिका अध्यक्ष गोपाल डाँगी, नेपाली कांग्रेस रुन्टीगढीका प्रतिनिधि नारायण लामिछाने, नेकपा माओवादी केन्द्र रुन्टीगढीका देबेन्द्र परियार, एकीकृत समाजवादी रुन्टीगढीका प्रतिनिधि डिलबहादुर खड्का , इप्रका होलेरी प्रमुख मधुसूदन विक,पत्रकार, सामुदायिक वनका पदाधिकारी लगायको उपस्थिति रहेको थियो ।
वन रक्षक नन्दबहादुर पुनको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण सब- डिभिजन वन कार्यालय होलेरीका फोरेष्टर खुमबहादुर सार्कीले गरेका थिए ।
रेउले सिस्ने अनलाइनका प्रबन्ध सम्पादक हुनुहुन्छ ।