• ५ आश्विन २०८३, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
गोरखा ग्रुपका शिक्षक शिक्षिकालाई परियोजनामा आधारित सिकाइसम्बन्धी दुई दिने तालिम




गोरखा ग्रुप दाङद्वारा सञ्चालित बिभिन्न विद्यालयका शिक्षकहरुका लागि दुई दिने परियोजनामा आधारित शिक्षण सिकाइ तालिम सम्पन्न भएको छ ।

गोरखा ग्रुप दाङका आयोजनामा भएको तालिममा शनिवार कक्षा ९ देखि १२ सम्मका शिक्षक शिक्षिकाहरुलाई तालिम दिइएको थियो भने आइतवार कक्षा ६ देखि ८ सम्मका शिक्षक शिक्षिकालाई तालिम दिइएको गोरखा ग्रुपका प्रमुख प्रमुख कार्यकारी अधिकृत नवल जीएमले जानकारी दिनुभयो ।

गोरखा ग्रुपअन्तर्गत सञ्चालित घोराही, तुलसीपुर, लमही र भालुवाङका शिक्षक शिक्षिकाहरुलाई तालिम दिइएको हो । परियोजनामा आधारित शिक्षण सिकाइसम्बन्धी विज्ञ डा. सुनिल पोख्रेलले प्रशिक्षण दिनुभएको थियो ।

उहाँले अब शिक्षककेन्द्रित होइन, बालबालिका केन्द्रित र कक्षाकोठा केन्द्रित होइन समुदाय केन्द्रित शिक्षण सिकाइ पद्धति लागु गर्नुपर्ने बताउनुभयो । सन् २००० पछि जन्मेका २१ शताब्दीका विद्यार्थीलाई कसरी पठाउन सकिन्छ भन्ने बिषयमा ‘टिचिङ मिलेनियल्सः प्रोजेक्ट बेस्ड लर्निङ अप्रोच’ शीर्षकमा शिक्षक शिक्षिकाहरुलाई तालिम दिइएको थियो । यसलाई परियोजनामा आधारित सिकाइ अर्थात प्राजेक्ट बेस्ड लर्निङ र छोटकरीमा पीबीएल बिधि भन्ने गरिएको डा. पोख्रेलले जानकारी दिनुभयो ।

कुनै बेला शिक्षकलाई विद्यार्थीले भय र त्रासको स्रोतको रुपमा लिने गरेको भए पनि अबका शिक्षक विद्यार्थी साथी, सहयोगी, सहजकर्ता, समन्वयकर्ता, प्रोत्साहनकर्ता र सामाजिक रुपान्तरणका मार्ग दर्शक भएकाले शिक्षक शिक्षिकाहरुलाई आफूलाई सोहीरुपमा प्रस्तुत गर्नुपर्ने डा. पोख्रेलले बताउनुभयो ।

अब विश्व, देश र समाजलाई सरोकार नभएका कोरा सैद्धान्तिक तथा विद्यार्थीको सरोकार नभएका बिषय पठाउनुभन्दा पनि विश्वमा वर्तमान समस्याको पहिचान गराइ विद्यार्थी आफैले समाधान गर्ने गरी शिक्षण सिकाइ क्रियाकलाप अघि बढाउनुपर्ने उहाँले बताउनुभयो ।

गोरखा ग्रुपको सिइओ नवल जीएमले पछिल्लो पाठ्यक्रमले विद्यार्थीकेन्द्रित र परियोजनामा आधारित शिक्षण सिकाइ क्रियाकलाप अवलम्बन गर्न खोजे पनि प्रायः विद्यालयहरुमा पुरानै ढर्राले पढाइ भइरहेकाले गोरखा ग्रुपले आफूमाताहतका विद्यालयको शिक्षणशैली परिवर्तन गर्न चाहेको बताउनुभयो । उहाँले कक्षा ६ सम्म यसअघि नै परियोजनामा आधारित पठनपाठन शुरु गरेको भए पनि ६ देखि १२ सम्म अब परियोनामा आधारित बनाउने बताउनुयो ।

कार्यक्रममा ग्रुपका शैक्षिक निर्देशक दुर्गा केसीले मूल्यांकन बिधि र गोरखा मावि तुलसीपुरका प्राचार्य विजय जीएमले पाठ्यक्रमबारे जानकारी गराउनुभएको थियो ।

Facebook Comments