• ६ जेष्ठ २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
समृद्ध उपमहानगरपालिका अबकाे गन्तव्य : नगर प्रमुख चाैधरी




जेठ १५, दाङ । घाेराही उपमहानगरपालिकाका प्रमुख नरूलाल चाैधरीले समृद्ध उपमहानगरपालिका अबकाे गन्तव्य रहेकाे बताएका छन् ।

आज आइतबार नारायणपुर उद्याेग वाणिज्य संघले आयाेजना गरेकाे नव निर्वाचित जनप्रतिनिधिहरूलाई स्वागत तथा सम्मान कार्यक्रममा बाेल्दै नगर प्रमुख चाैधरीले अब उपमहानगरपालिकालाई थप विकास र समृद्धिसँग जाेड्न लागिपरेकाे बताएका हुन् ।

कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका नगर प्रमुख चाैधरीले क्षणिक रूपमा देखिने विकासभन्दा पनि दिगाे विकास अबकाे आवश्यक रहेकाे कुरामा जाेड दिए ।
`१९ वटै वडालाई चाैतर्फी विकास र समृद्धिसँग जाेड्ने लक्ष्य रहेकाे छ । नारायणपुुर घाेराही उपमहानगरपालिकाकाे दाेस्राे ठूलाे र सम्भावना बाेकेकाे बजार रहेकाे छ, यस क्षेत्रकाे आवश्यक विकास पहिलाे प्राथमिकता रहनेछ।´ नगर प्रमुख चाैधरीले थपे, `बजार बिस्तारसँगै उपभाेक्ता विस्तारमा पनि ध्यान दिन जरूरी छ । दिगाे विकासका लागि विमानस्थल निर्माण आवश्यक छ । स्थानीयवासीले सिङ्गो दाङकाे विकासका लागि पनि विमानस्थल निर्माणमा सहमति कायम गर्न जरूरी छ । स्थानीयवासीकाे सहमति भएमा विमानस्थल निर्माणकाे कार्य अगाडि बढाउन सकिनेछ । दाङ समृद्धिकाे बाटाेमा जानेछ ।´

दाङकाे उदाउँदाे बजारकाे रूपमा रहेकाे नारायणपुरलाई व्यवस्थित सहरीकरणतर्फ उन्मुख गराउन व्यवसायीहरूले नव निर्वाचित जनप्रतिनिधिहरूलाई अनुराेध गरेका छन् ।

आज नारायणपुर उद्याेग वाणिज्य संघले आयाेजना गरेकाे नव निर्वाचित जनप्रतिनिधिहरूलाई स्वागत तथा सम्मान कार्यक्रममा बाेल्ने बक्ताहरूले साविककाे त्रिपुरकाे विकासका लागि पहलकदमी चालिदिन आग्रह गरेका हुन् ।

नारायणपुरमा रहेकाे बस पार्क व्यवस्थापन, खानेपानी समस्याकाे समाधान, शैक्षिक उन्नयनका मुद्दा, कृषि उत्पादन तथा बजारीकरण, अन्तर्राष्ट्रिय विमानस्थल निर्माण, साविक त्रिपुरभित्र रहेका पर्यटकीय तथा धार्मिक स्थलकाे संरक्षण र विकासमा प्रभावकारी भूमिका निर्वाह गर्न, नारायणपुर साविक त्रिपुर नगरपालिकाकाे केन्द्र भएकाे र यसलाई ग्रामीण भेगकाे बजारकाे केन्द्रका रूपमा विकास गर्न वक्ताहरूले सुझाएका थिए ।

कार्यक्रममा बाेल्दै विशिष्ट अतिथि तथा उपमहानगरपालिकाकाे उप प्रमुख हुमा डिसीले नारायणपुरलाई विशेष केन्द्रका रूपमा लिएर काम गर्ने बताइन् । `बितेकाे समयमा अपूरा रहेका याेजनालाई पूरा गर्दै नयाँ याेजना तर्जुमा गरिनेछ। विकासमा कुनै कन्जुस्याइँ रहँदैन ।´ उप प्रमुख डिसीले बताईन् ।

कार्यक्रममा घाेराही उपमहानगरपालिका वडा नं. १२ का अध्यक्ष द्राेर्ण बहकरी , वडा नं. ११ का वडाध्यक्ष कुलप्रसाद लामिछाने, वडा नं.१० वडाध्यक्ष दिपक पाण्डे, नारायणपुर खानेपानी तथा उपभाेक्ता समितिका अध्यक्ष कुलप्रसाद रजाैरे (श्रवण) लगायतले मन्तव्य राखेका थिए ।

संघले उपमहानगरपालिकाका नगर प्रमुख, उप प्रमुख तथा साविक त्रिपुरमा अवस्थित वडा नं. ८, ९, १०, ११ र १२ का जनप्रतिनिधिहरूलाई स्वागत तथा सम्मान गरेकाे थियाे ।

संघका अध्यक्ष अभियान बस्नेतकाे अध्यक्षतामा कार्यक्रम सम्पन्न भएकाे थियाे । संघका मानार्थ सदस्य माधव पाण्डेकाे स्वागत मन्तव्यबाट शुभारम्भ भएकाे कार्यक्रमकाे सहजीकरण महासचिव बसन्त न्याैपानेले गरेका थिए ।

Facebook Comments