काठमाडौं: नेपाल कम्युनिस्ट पार्टीले यहि बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा देशभक्त एवं जनवादी स्वतन्त्र उम्मेदवारहरुलाई मतदान गर्न अपिल गरेको छ ।
पार्टीका महासचिव विप्लवले एक विज्ञप्ति जारी गर्दै यस्तो अपिल गरेका हुन् ।
महासचिव विप्लवले भनेका छन्, `चुनावमा एमसीसी पक्षधर एवं राष्ट्रघाती तत्वहरुलाई विरोध एवं तिरस्कार गरौं, जनमतद्वारा परास्त गरौं र आफ्नो मतलाई देश र जनताको पक्षमा उभिने, संघर्ष गर्ने र आवश्यक पर्दा बलिदान दिन तयार हुने इमान्दार देशभक्त, जनवादी स्वतन्त्र प्रतिनिधिहरुका पक्षमा सदुपयोग गरौं । श्रमिक वर्गीय देशभक्तिको भावनालाई व्यवहारमा अभिव्यक्त गरौं । जनताको विजय अवश्य हुने छ ।´
अपिलको पूर्ण पाठ –
हाम्रो जनप्रिय एवं गौरवशाली पार्टी नेपाल कम्युनिष्ट पार्टीले हालै हुन गइरहेको स्थानीय चुनावमा एमसीसी एवं राष्ट्रघात विरोधी देशभक्त, जनवादी प्रतिनिधिहरुलाई सहभागी गाराउने र सहयोग गर्ने नीति र निर्णय पारित गरेको छ । यही नीति अनुसार २०७९ वैसाख ३० गते हुने चुनावमा पुतली चुनाव चिन्ह लिएर उम्मेदवार हुनु भएका साथै अन्य कैयौं स्थानमा अन्य चिन्ह जस्तोकि लठ्ठी, हाँस, धरहरा आदि लिएर उठेका देशभक्त, जनवादी स्वतन्त्र उम्मेदवारहरुलाई सहयोग र समर्थन गर्ने नीति लिएको जानकारी गराउँदछौं ।
स्पष्ट छकि दलाल पूँजीवादी एवं संसदीय सत्ता र व्यवस्थाभित्रका कुनै पनि इकाई र तहबाट राष्ट्र र जनताका पक्षमा आमूल परिवर्तन गर्न संभव छैन । देशको स्वाधीनता एवं जनताको पूर्ण अधिकारका लागि वैज्ञानिक समाजवादी सत्ता अपरिहार्य छ । परन्तु यो स्थानीय चुनावलाई हाम्रो पार्टीले राष्ट्र र जनताका पक्षमा संघर्ष गर्ने कार्यनीतिक मोर्चाका रुपमा ग्रहण गरेको छ । खासगरी देशमा राष्ट्रघाती एमसीसी संझौता लादिएपछि साथै चरम भ्रष्टाचार र महङ्गीले जनता सताइरहेको स्थितिमा जनतालाई गाउँगाउँबाट आफ्नो स्तरअनुसार राष्ट्रिय स्वाधीनताका पक्षमा गोलबन्द गर्न, देशभक्तिको संघर्ष संचालन गर्न, भ्रष्टाचारका विरुद्ध संघर्ष गर्न र सम्भव रहेसम्मको स्तरमा जनताको पक्षमा योजना निर्माण गर्न साथै जनताको सेवा गर्न यो चुनावी मोर्चामा सच्चा देशभक्त एवं जनवादी प्रतिनिधिहरुलाई सहयोग एवं समर्थन गर्ने नीति प्रयोग गरेको छ ।
हामीले समर्थन गरेका प्रतिनिधिले दलाल पुँजीवादी सत्ता र संसदीय व्यवस्थाका विरुद्ध स्थानीय तहबाट जुन स्तरमा संघर्ष गर्न संभव छ त्यो स्तरमा गर्नेछन् । यो सत्ताका खराबी एवं घेराबन्दी बारे जनतालाई सूचित गर्नेछन् । आफ्नो स्तरमा नाङ्गो भ्रष्टाचार, तस्करी, महिला, वालवालिका, सुकुम्वासी, तथा श्रमिक समुदायमाथि हुने भेदभाव, उत्पीडन, दमनका विरुद्ध लड्ने छन् । महान एकीकृत जनक्रान्ति, जनयुद्ध, हरेक मुक्ति संघर्षहरुमा वलिदान गर्ने आदरणीय सहिद तथा वेपत्ताहरुको सम्मान गर्दै उहाँहरुका परिवार, घाइते योद्धाको सेवा गर्नेछन् । जनताको नाममा जम्मा हुने सम्पूर्ण आर्थिक कोष र योजनाहरुलाई श्रमिक जनता विशेषतः गरीब जनताको हितमा पारदर्शीरुपले प्रयोग गर्ने छन् । आफ्नो ठाउँमा शिक्षा, स्वास्थ्य, सिचाई, कृषि उत्पादन, उद्योग, व्यापार, वर्यावरण, वन, यातायता, सूचना–संचार, रोजगारीका क्षेत्रमा जति संभव हुन्छ इमान्दारीपूर्वक जनताको हितमा योजनाबद्धरुपले काम गर्ने छन् । श्रमिक जनता, जनता र जनताको हितमा उभिनु नै स्वतन्त्र उम्मेदवारहरुको आदर्श हुनेछ ।
हामीले समर्थन गरेका कुनै पनि स्वतन्त्र प्रतिनिधिले राष्ट्र र जनताका विरुद्ध हुने कार्य गरेको देखिएमा, पुराना संसदवादी दलहरुका व्यक्तिहरुले गरेको जस्तो भ्रष्टाचार एवं अनियमितता थोरै मात्र देखिएमा, आफ्नो पदलाई निजी स्वार्थका लागि प्रयोग गरेको देखिएमा साथै श्रमिक जनताको क्रान्तिकारी आन्दोलनलाई हानी पुग्ने कार्य गरेमा पार्टीले आफ्नो समर्थन फिर्ता लिनेछ र जनताको सहयोगमा प्रत्याह्वान समेत गर्नेछ । तर हामीलाई विश्वास छ वर्ग संघर्ष, राजनैतिक संघर्ष एवं क्रान्तिकारी आन्दोलनका बीचबाट सहभागी बन्नु भएका हाम्रा समर्थक उम्मेदवारहरुले यस्तो कार्य गर्नु हुने छैन । जति समय त्यहाँ रहनु हुनेछ देश र जनताप्रति पूर्ण निष्ठा, इमान्दारीता एवं उच्च नैतिकताका साथ सामाजिक एवं राजनैतिक रुपान्तरणका पक्षमा काम गर्नु हुनेछ ।
अन्तमा हाम्रो पार्टी सम्पूर्ण देशभक्त, प्रगतिशील, जनवादी, कम्युनिष्ट शक्तिहरुलाई, सारा युवा, विद्यार्थी, महिला, मजदुर, किसान, बुद्धिजीवी, श्रमिक समुदाय, जनजाति, मधेशी, मुश्लिम, कलाकार, पत्रकारलाई विनम्र अनुरोध गर्दछौं कि यो चुनावमा एमसीसी पक्षधर एवं राष्ट्रघाती तत्वहरुलाई विरोध एवं तिरस्कार गरौं, जनमतद्वारा परास्त गरौं र आफ्नो मतलाई देश र जनताको पक्षमा उभिने, संघर्ष गर्ने र आवश्यक पर्दा बलिदान दिन तयार हुने इमान्दार देशभक्त, जनवादी स्वतन्त्र प्रतिनिधिहरुका पक्षमा सदुपयोग गरौं । श्रमिक वर्गीय देशभक्तिको भावनालाई व्यवहारमा अभिव्यक्त गरौं । जनताको विजय अवश्य हुनेछ ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।