रुकुम (पश्चिम)को मुसिकोट नगरपालिका वडा नम्बर १ को खलंगा बजारमा रहेका बिभिन्न पसलहरुको अनुगमन गरिएको छ । जिल्ला प्रशासन कार्यालय, मुसिकोट नगरपालिका र उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयको संयुक्त आयोजनामा खलंगा बजारमा रहेका बिभिन्न पसलहरुको अनुगमन गरिएको हो ।
खंलगाको तल्नो बजार, सहिद मैदान र पातुखोलामा रहेका २९ वटा होटेल, किराना तथा मासु पसल र डेरी पसल र एग्रोभेटहरुको अनुगमन गरिएको आयोजकले जनाएको छ । यहि बैशाख ८ गते बिहीबार २० वटा किराना पसल, ५ वटा मासु पसल तथा डेरी पसल र एग्रोभेट, ४ वटा होटेल तथा नास्ता पसलको अनुगमण गरिएको छ भने बाँकी स्थानमा रहेका पसलहरुको शुक्रबार अनुगमन गरिने बताइएको छ ।
अनुगमनको क्रममा कतिपय पसलमा म्याद गुज्रिएका सामान समेत फेला परेका छन् । त्यसैगरि मुल्यसूची नराखेको, दर्ता नविकरण नगरेको, करचुक्ताको कागजात नभएको लगायत कैफियत भेटिएको मुसिकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेर बहादुर पुनले जानकारी दिनुभयो । उहाँका अनुसार वजारमा केहि सुधार आए पनि व्यपारीहरुले निर्देशन नमान्ने गरेको पाईएको छ । पटक–पटक अनुगमन गर्दा पनि कैफियत दोहोरिएको उहाँले बताउनुभयो । त्यसैगरि होटल तथा खाजा घरहरुमा पनि खाना तथा खाजाको परिकारमा बिभिन्न अखाद्य रङ प्रयोग गरेको पाईएको छ । खाजालाई आर्कषक देखाउनलाई अखाद्य रङ प्रयोग गरेको पाईएको हो । त्यस्ता रङहरुले स्वास्थ्यमा असर गर्ने भन्दै प्रयोग नगर्न भनिएको स्वास्थ्य सेवा कार्यालयका डाक्टर भिमकान्त जैसीले जानकारी दिनुभयो ।
मुसिकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेर बहादुर पुनको नेतृत्वमा गरिएको अनुगमनटोलीमा सहायक प्रमुख जिल्ला अधिकारी डिल्ली खड्का, स्वास्थ्य सेवा कार्यालयका डाक्टर भिमकान्त जैसी, उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयका मेनुका चन्द, नेपाल पत्रकार महासँघ रुकुम (पश्चिम)का अध्यक्ष लक्ष्मण केसी, रुकुम उद्योग बाणिज्य संघका अध्यक्ष पहलबहादुर खड्का लगायत सुरक्षाकर्मी र सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।