घोराही, १९ चैत । घोराही उपमहानगरपालिका-१५ डिके पेट्रोल पम्प स्थित रहेको विद्यानीलकण्ठ माध्यामिक विद्यालयको बृहत अभिभावक भेला सम्पन्न भएको छ । विद्यालयले शनिबार घोराहीमा एक कार्यक्रमका बीच सो भेला सम्पन्न गरेको हो ।
घोराही उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख बिनोद गौतमले बालबालिकाले कुन विद्यालय पढ्ने भन्ने बारेमा सेचेका हुदैनन् र अभिभावकले नै भोलिको दिनमा मेरा छोराछोरीले राम्रो शिक्षा आर्जन गर्न सक्नेछन् भन्ने उदेश्यका साथ विद्यालय छनोट गर्ने गरेको बताए ।
उनले शिक्षालाई समय अनुसार कस्तो बनाउने भन्ने बुझ्नुपर्ने र आफूले के गर्न लागेको हो त्यो बिषयमा राम्रोसँग बुझेको हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा योग गुरु रबिन्द्र बस्नेतले विद्यार्थी स्वस्थ, खुशी, संस्कार, संस्कृत, बोली तथा पढाइ राम्रो भएमात्र अभिभावकहरु खुशी हुने बताए । उनले अभिभावक सफल हुने कि असफल हुने भन्ने आफुमा भरपर्ने र अभिभावक सफल भएमात्र छोराछोरी राम्रो बन्नेमा जोड दिए ।
अभिभावकले बच्चालाई जस्तो संस्कार दिन्छन्, बच्चा त्यस्तै बन्ने भएकाले आफ्नो बालबालिकालाई राम्रोसंग माया, स्नेह तथा प्रेरणा दिएर हरेक बाताबरणमा अगाडि बढाउनुपर्ने उनको भनाइ छ ।
योग गुरु बस्नेतका अनुसार अभिभावकले आफ्नो बच्चाको क्षमता अर्को बच्चासँग तुलना गर्न नमिल्ने र अर्काको बच्चा जस्तै आफ्नो बच्चा बनाउन नसकिने भएकाले बच्चाको क्षमता अनुसार अगाडि बढाए बच्चा सफल बन्छन् । अभिभावकले आफ्नो बालबालिकालाई शिक्षासँगै परिवारको संस्कार तथा संस्कृति सिकाउनुपर्ने हुन्छ ।
विद्यालयका प्रिन्सीपल रामजनम चौधरीले विद्यालय र अभिभावक दुबैबाट केही न केही गल्तीहरु भएको बताए । उनले विद्यालय र अभिभावकको बिशेष समन्वय भएमात्र शिक्षालाई गुणस्तरीय बनाउन सहज हुनेमा जोड दिए ।
विद्यार्थीमा हरेक कुरा सकारात्मक बनाउने र अभिभावकले बच्चाको अभिभाकत्व ग्रहण नगरेसम्म विद्यालयको एकल प्रयासले मात्र शिक्षामा उच्च शैक्षिक गुणस्तर आउन नसक्ने प्रअ चौधरीले उद्घोष गरे ।
विद्यालय नयाँ व्यवस्थापनका साथ संचालन ल्याएसँगै थुप्रै योजना लिएको भएतापनि कोभिडका कारण कतिपय योजनाहरु पुरागर्न नसकेकोहुँदा अगामी शैक्षिक सत्रमा पूरा गर्ने उनले प्रतिवद्दता जनाए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रप्रकाश खनालले विद्यानिलकण्ठ विद्यालय मध्यपश्चिम कै अग्र स्थानामा रहेको बताए । उनले २०४७ सालमा स्थापना भएको विद्यालयमा अहिले नर्सरीदेखि मास्टरसम्म पढाइ हुने स्पष्ट पारे ।
नयाँ व्यवस्थापन र नयाँ टिमले संचालनमा लिएको विद्यालयमा सक्षम र योग्य शिक्षकहरुबाट पठनपाठन भइरहेको अध्यक्ष खनालको भनाइ छ ।
कार्यक्रममा विद्यार्थी, अभिभावक तथा शिक्षक र शिक्षिकाहरुलाई अबिर तथा खादा लगाएर सम्मान गरिएको थियो ।
विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष चन्द्रप्रकाश खनालको अध्यक्षता एवं स्कूलका निर्देशक प्रभात पोख्रेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा शिक्षक/ शिक्षिका, अभिभावक तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।
विद्यालयको शिक्षिका सिर्जना अधिकारीको स्वागत मन्तव्यबाट शुरुभएको कार्यक्रमको सहजीकरण विद्यालयको भाइस प्रिन्सीपल शारदा खाड्काले गरेकी थिइन् ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।