नवीन लोचनमगर
रोल्पा, १४ चैत। पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चुनाव अरुका लागि चुनाव मात्र भएपनि माओवादीका लागि ठूलो लडाई भएको बताएका छन् । सोमबार रोल्पाको लिबाङमा आयोजित जनसभालाई सम्बोधन गर्दै दाहालले क्रान्तिकारीका निम्ति चुनाव पनि ठूलो मोर्चा भएको बताए । ‘हामीले जित्दा संविधानले जित्छ, जनताले जित्छन् । हामीले हार्दा संविधानले हारेको हुन्छ, जनयुद्धले हारेको हुन्छ । त्यसकारण हाम्रो लागि यो व्याटल हो । यो व्याटल हामीले जित्नैपर्छ ।’ दाहालले भने ।
देशभरमा माओवादीले जितेको ठाउँ अब्बल
प्रचण्डले माओवादीले जितेका वडा तथा स्थानीय तह विकास र समृद्धिमा अब्बल रहेको दावी गरे । अरुले जितेको क्षेत्रमा भ्रष्टाचार र बेइमानी हुने र माओवादीले जितेको क्षेत्रमा अब्बल काम हुने गरेको सरकारको वैधानिक निकायको प्रतिवेदनले देखाएको बताए । दशवर्षे जनयुद्धले एउटा ऐतिहासिक विरासत निर्माण गरेको चर्चा गर्दै दाहालले भने, ‘अब शान्ति, विकास र समाजवाद निर्माणमा पनि अर्को इतिहास रचना गर्नुछ ।’ रोल्पाले आफूलाई एकतावद्ध गरेर प्रतिक्रियावादीलाई असफल बनाउनुपर्ने बताए ।
लडाई अहिले पनि उस्तै
प्रचण्डले प्रतिक्रियावादीहरुसँगको लडाई अहिले पनि उस्तै भएको बताए । ‘अहिले पनि लडाई उस्तै छ । प्रतिक्रियावादीले हामीलाई घेरा हालेर सिध्याउन चाहन्छन्, हामी घेरा तोडेर विजयी हुन चाहन्छौं’ उनले भने, ‘यो कुरा रोल्पा लगायत देशभरका जनताले पक्कै पनि बुझ्नुभएको छ ।’ अहिले पनि हामीले संविधानसभाबाट बनाएको संविधानका राम्रा कुरा उल्ट्याउनको निम्ति षड्यन्त्र भइरहेको भन्दै उनले त्यसका विरुद्ध अन्तिमसम्म लडिरहने बताए ।
रोल्पा प्रतिक्रियावादीका लागि आतंक हो
दशवर्षे जनयुद्धका क्रममा रोल्पामा लामो समय विताएका दाहालले रोल्पा प्रतिक्रियावादी, जाली फटाहको निम्ति आतंक भएको र जनताको निम्ति भरोसाको केन्द्र भएको दावी गरे । उनले रोल्पा सिंगै दह्रो उभिएको छ भन्ने सुनेपछि देशभरका प्रतिक्रियावादीहरुको मुटुमा ढ्यांग्रो ठोक्ने बताए । उनले आफू जाइनलाग्ने र आइलाग्ने माथि इँटका जवाफ पत्थरले दिने गरी रोल्पाले तयारी गर्नुपर्ने बताए । रोल्पामा आउँदा आफूलाई गर्वको अनुभूति भएको समेत दाहालले बताए ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।