ओखरपाटा, ४ चैत । रोल्पाको रुन्टीगढी गाउँपालिका ६ मा रहेको फूलबारी सामुदायिक वन उपभोक्ता समूहको तेस्रो परिमार्जित कार्य योजना पारित भएको छ । समूहका अध्यक्ष जंगबहादुर रेउलेको अध्यक्षतामा आज शुक्रबार जनजागृति प्रावि छापमा बसेको दोस्रो आमभेलाले सो योजना पारित गरेको हो ।
भेलाले वनको दोस्रो परिमार्जित कार्य योजनाको समयावधि सकिएको हुनाले सब- डिभिजन वन कार्यालय होलेरी रोल्पाको प्राविधिक सहयोगमा तयार पारिएको तेस्रो पटक परिमार्जित कार्य योजनालाई अनुमोदन गर्दै २०७८/०७९ को वार्षिक वनको कार्यक्रम अनुसार जीविकोपार्जनका लागि लक्षित १० जना उपभोक्ताहरुलाई १/१ वटा बाख्रा वितरण गर्ने र वन विकासको कार्यक्रम अनुसार जनजागृति प्राविका जरिब तथा जेहेन्दार छात्रा/ छात्रलाई शैक्षिक सामग्री वितरण गर्ने निर्णय समेत गरेको छ ।
सामुदायिक वनले बिगतदेखि नै वनको संरक्षण, विकास तथा व्यवस्थापन गर्दै आफ्ना उपभोक्ताहरुको अनुकूलताका कार्यक्रमहरु गर्दै आइरहेको समूहका कोषाध्यक्ष कमल बोहराले जानकारी दिए ।
भेलामा ग्रीन फाउन्डेसन नेपाल रुन्टीगढीका सहजकर्ता केशरबहादुर रावत तथा वनका उपभोक्ताहरुको बाक्लो उपस्थिति रहेको थियो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।