राष्ट्रिय दलको मान्यता नपाएका साना दलहरूले आगामी चुनावमा आफ्नो दलको चिह्न पाउने भएका छन् । आज बसेको निर्वाचन आयोगको बैठकले दलको मान्यता नपाएका दलहरूलाई उनीहरूको दलको चुनाव चिह्नलाई मान्यता दिने निर्णय गरेको हो ।
त्यसका लागि ती दलहरूको कुन-कुन जिल्लाका संगठनको अवस्था कस्तो छ ? त्यसको विवरण माग्ने सोही आधारमा चुनाव चिन्ह प्रदान गर्ने निर्णय गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । त्यसको विवरण पेश गर्नका लागि स्थानीय तह निर्वाचनमा भाग लिन दर्ता भएका ७३ दलहरूलाई आगामी चैत ६ गतेभित्र विवरण पेश गर्ने समयसीमा तोकेको छ ।
स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा २६ मा यसअघि भएको चुनावमा बाहेक आगामी चुनावहरूमा राष्ट्रिय मान्यता नपाएको दलले आफ्नो दलको चिह्न नपाउने व्यवस्था थियो । राष्ट्रिय मान्यता पाएका ६ दलले मात्र चुनावमा जाँदा आफ्नो दलको चिह्न पाउने र अन्य दलले स्वतन्त्रको हैसियतले चिह्न पाउने भएपछि ती दलहरूले विरोध गर्दै आएका थिए ।
उक्त अवधिमा विवरण पेश नगर्ने दलका उम्मेदवारलाई स्वतन्त्र उम्मेदवारलाई प्रदान गरिने निर्वाचन चिन्ह प्रदान गरिने आयोगले प्रस्ट पारेको छ । जिल्लाबाट प्राप्त भएको विवरण भिडेको खण्डमा आयोगले निर्णय गरी मतपत्रमा सो दलको निर्वाचन चिह्न उल्लेख गर्नेछ ।
त्यसबाहेक भने अन्य जिल्लाका मतपत्रमा उक्त दलको निर्वाचन चिह्न नभएमा उक्त जिल्लाका स्थानीय तह निर्वाचनमा दलको तर्फबाट उम्मेदवारी दिएमा पनि स्वतन्त्र समूहको निम्ति छुट्याइएको निर्वाचन चिह्न लिई निर्वाचनमा भाग लिने प्रतिबद्धता समेत दलले व्यक्त गर्नुपर्नेछ ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।