क्षितिज मगर
पे्रमिकाले छाडेपछि पागल बनेका
कुनै युवकको लट्टा परेका कपाल जस्तो
अथवा कुनै ब्यभिचारीले चिथोरिदिएको
घायल युवतीका निर्दोष अनुहार जस्तो
क्लेष र शुष्क, अथवा नीरिह र बेसहारा
निर्जनझैँ लाग्ने सुनसान सुनसान
आफन्तबाट छाडिएको एक्लो एक्लो
बसाई सर्नेबाट भुलिएको बिरानो बिरानो
पुरानो बजार, प्रिय कोइलाबास बजार ।
जर्जर भिताहरु भिडवीहिन गल्लीसित बात मारेझैँ लाग्छ
सुनसान बाटाहरु चोकसँग रुइरहेझैँ लाग्छ
भक्तजनवीहिन मन्दिर एक्लै घण्ट बजाएझैँ लाग्छ
पुराना घरका भग्वनाशेष कसैलाई पर्खेझैँ लाग्छ
तबला बिनाको हार्मोनियमको सरगमझैँ
छेउँको खोली एक्लै एक्लै विरह सुसाईरहेछ
सहयात्रीले छाडेका कुनै एक्लो यात्रीले चौपारीमा कसैलाई पर्खे जसरी
पिपल बिनाको एक्लो बर भाववीहिन टोलाईरहेछ
कसैको शब्द नपाएको बतास पातहरुमा शब्दवीहिन संगीत सुशेलिरहेछ
कसैको मन जोड्न नपाएको पुल दुई किनारा जोडेर एक्लै झुण्डिरहेछ
मुस्लिम बन्धुका मस्जिद पनि एक्लै नमाज पढ्छ
‘जंगेपिल्लर ६००’ पनि एक्लै देशको रक्षामा खत्छ
प्रिय कोइलाबास !
छेउँमै उभिएको यो गेटले खै कसको स्वागत गर्छ ?
प्रिय कोइलाबास ! ठीक अहिले
भिडवीहिन तिम्रा गल्लीभित्र खोजिरहेछु म
हटारु बनी नुन लिन आएका मेरा ज्युज्युका पदचापहरु
सुनसान बाटाका चोकहरुमा टोलाएर पर्खिरहेछु म
‘धाकरे’ बनी एक सरो कपडा लिन आएका मेरा बराजुको अनुहार
निरस मन्दिर र पुराना घरका भग्वनाशेषहरुमा
मेरा पुर्खाका दुःखी अनुहार खोजिरहेछु
यतै कतै अथवा यही कुनै घरभित्र नै
मेरा पुर्खाले टिमुरका दानासित नाना चाचा सातेका होलान्
थाकेको ज्यानमा यही खोलीको पानीले प्यास मेटेका होलान्
हो, यही पिपलमुनि सुस्ताएर टोपीले पुछे होलान् पसिना
अथवा, यतै कतैको जमिनमा एक रात देखे होलान् सपना
प्रिय कोइलाबास !
यो शब्दवीहिन बतासका मन्द सुस्केरामा
खोजिरहेछु पूर्वजका दुःखजिलो उच्छवास
हत्केलामा एक मुट्ठी माटो सुँघेर
खोजिरहेछु भरिया बंशका पसिनाका सुगन्ध
ठीक यहीँनेरबाट उकालो लागे होलान्
आहारा बोकेका कमिलाका ताँती जसरी हटारु पूर्खाहरु
यसै माथिका खोली किनाराका बिसौनीमा
कसरी बिसाए होलान् आफूभन्दा दोब्बर भारी ?
पैताला मुनिका स– साना ढुङ्गा पिस्दै उक्लिए कसरी ?
किशोर बुवाहरु ‘उछट्टे’ भएर आउँदा
गुरुलबेरीको भञ्ज्याङमा कसरी नचाइए ?
नक्कली हलो जुवामा कसरी नारिए ?
प्रिय कोइलाबास !
यी सबै प्रश्नका उतर खोज्न आज
उनै हटारुका एक सन्तति म तिम्रो सामु उभिएको छु
प्रिय कोइलाबास !
कुनै निःसन्तान दम्पतिले भगवान सामु सन्तान मागेजसरी
आज तिम्रो सामु विभोर बनेर मागिरहेछु म
मेरा हटारु पूर्खाका सजीव दुःखकहानी ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।