कास्कीमा सत्तारूढ पाँच दलीय गठबन्धनले आगामी स्थानीय चुनावमा वडासम्मै मिलेर जाने समझदारी गरेका छन्।
गठबन्धनमा रहेका दलका कास्की प्रमुखहरूको मंगलबार बसेको बैठकले चुनावमा वडासम्मै मिलेर जाने समझदारी गरेका हुन्।
स्थानीय तहको २०७४ सालमा भएको निर्वाचनमा कास्कीका अधिकांश ठाउँमा एमाले उम्मेदवारले जितेका थिए। पोखरा महानगरसहित कास्कीमा रहेका पाँच वटा स्थानीय तहमध्ये अन्नपूर्ण गाउँपालिका अध्यक्षमा कांग्रेस उम्मेदवार युवराज कुँवरले जितेका थिए भने बाँकी चार वटै तहमा एमाले उम्मेदवार निर्वाचित भएका थिए।
संसदीय निर्वाचनमा पनि प्रदेश सभाको एउटा क्षेत्रबाट मात्र कांग्रेस उम्मेदवार निर्वाचित भएका थिए। कास्कीमा रहेका प्रतिनिधि सभाका ३ वटा निर्वाचन क्षेत्रमै एमाले उम्मेदवार विजयी भएका थिए भने प्रदेश सभाका ६ वटा निर्वाचन क्षेत्रमध्ये कास्की-२ ‘ख’मा मात्र कांग्रेस उम्मेदवार विन्दुकुमार थापा निर्वाचित भएका थिए।
एमालेको बाहुल्यता रहेको कास्कीमा यसअघि पनि सत्ता गठबन्धनको बैठक बस्दै आएको थियो। सरकारले सोमबार स्थानीय चुनावको मिति घोषणा गरेपछि जिल्ला जिल्लामा गठबन्धन बैठक बस्न पार्टीका शीर्ष नेताहरूबाटै निर्देशन आएको थियो। सोही निर्देशनअनुसार मंगरबार कास्कीमा गठबन्धनका नेताहरूबीच बैठक बसेको नेकपा एकिकृत समाजवादीका जिल्ला अध्यक्ष धनराज आचार्यले बताए।
७७ वटै जिल्लामा गठबन्धन बैठक बस्न केन्द्रले सर्कुलर गरेको उनले बताए।
नेपाली कांग्रेस कास्कीको कार्यालयमा बसेको गठबन्धन बैठकले तीन वटा निर्णय गरेको छ। पहिलो, गठबन्धनले हालसम्म गरेका गतिविधिको समीक्षा गर्दै गठबन्धनलाई थप प्रभावकारी बनाउने निर्णय गरेको छ। दोस्रो, स्थानीय तहका गतिविधि अनुगमन गर्ने र सुशासन स्थापना गर्न पहल गर्ने। तेस्रो, वैशाख ३० का लागि घोषणा गरिएको स्थानीय निर्वाचनको स्वागत गर्ने र निर्वाचनमय वातावरण बनाउने निर्णय गरेको कास्की कांग्रेसका सचिव भानु ढकालले बताए।
कास्की कांग्रेसका सभापति किशोरदत्त बरालको अध्यक्षतामा बसेको बैठकमा माओवादी केन्द्र कास्कीका अध्यक्ष बखानसिँह गुरूङ, नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष धनराज आचार्य, जनता समाजवादी पाटीका अध्यक्ष गिरिप्रसाद गुरूङ र राष्ट्रिय जनमोर्चा कास्की अध्यक्ष रविमोहन ढकाल सहभागी थिए।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।