नेत्रबिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी जुम्ला जिल्लाका इन्चार्जसहित ३१ जना नेता कार्यकर्ता नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड निवास खुमलटारमा आज बिहान आयोजित एक कार्यक्रमका बीच जिल्ला इन्चार्ज चन्द्रवीर तिरुवा ‘रवीकिरण’ सहित जिल्ला सेक्रेटर, सह–सेक्रेटरी लगायत ३१ जना माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।
अध्यक्ष प्रचण्डले ढिलोछिटो माओवादी क्रान्तिका सहयात्रीहरु एकठाउँमा हुनुको कुनै विकल्प नरहेको बताउनुभयो । परिवर्तनबाट प्राप्त उपलब्धीलाई बचाउन र नेपाली जनताको भाग्य भविष्यका लागि अझै लड्दै जान पनि माओवादी शक्तिहरु एकजुट हुन आवश्यक भएको उहाँको भनाई थियो ।
‘माओवादीलाई देशभित्रका र देशबाहिरका प्रतिक्रियावादीहरु कसरी घेरा हालेर सखाप पार्न सकिन्छ भनेर लागिरहको छन्, उहाँले भन्नुभयो, हामी यति ठूलो परिवर्तनका बहाकहरु विघटन वा विभाजन तिर जाँदा प्रतिक्रियावादीलाई धेरै ठूलो फाइदा हुन्छ र जनतालाई धेरै ठूलो घाटा हुन्छ ।’ उहाँले अहिले विस्तारै विभाजनका घाउहरु बिर्सिदै र देशको वस्तुगत अवस्थालाई मनन गर्दै माओवादीहरु एकठाउँमा केन्द्रित हुँदै गएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘जनतासँग जोडिएर र माओवादी आन्दोलनलाई केन्द्रित गरेर हामी विजयी हुन्छौं । हामीलाई कसैले परास्त गर्न सक्दैन ।’ अध्यक्षले नवप्रवेशी नेता तथा कार्यकर्ताहरुलाई पार्टीमा उचित जिम्मेवारी दिइने पनि बताउनुभयो ।
प्रवेश गर्नेहरुका तर्फबाट रवीकिरणले नेपाली कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउन अध्यक्ष प्रचण्ड नै सक्षम रहेको बताउँदै अन्य कोहीले रहर गरेर नहुने बताउनुभयो । अबको समाजवादी क्रान्तिका लागि अध्यक्ष नेतृत्वको पार्टीमा आफूहरु घर फर्किएको उहाँको भनाई थियो ।
प्रवेश गर्नेहरु कारवाही परेका व्यक्ति हुन्ः नेकपा
यसैबीच नेकपा जुम्लाले विज्ञप्तिमार्फत प्रवेश गरेका इञ्जार्च, सेक्रेटरी र सहसेक्रेटरी भनिएका व्यक्तिहरु पार्टीबाट कारवाही भएका व्यक्ति भएको जनाएको छ । जिल्ला इञ्चार्ज विराट र सेक्रेटरी विभाजितले विज्ञप्ति जारी गरी यस्तो दाबी गर्नुभएको हो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।