शयामकुमार बुढा मगर ‘चिन्तन’
हर रात सपनाले पुकारिरहन्छ
र, आधा रातमै ब्युझाइदिन्छ
किनकि हामी आज
यस्तो भिरानमा पाखामा छौं
जहा, सिरानकाहरुको भोजमा
सपना पोलेको परिकार बिशेष छ
र, गोड्यानकाहरुको साथमा
सपना लुटिएको अबशेष छ
त्यसैगरी, बिस्कुन सुकाए झैं
दायाँतिर सपनाबाटै ढलेको हस्ती छ
बायाँतिर सपना देख्दै रुम्टेको गल्ली छ
वारितिर सपनासंगै डुबेको सपुत छ
पारितिर सपनासंगै सुकेको कंकाल छ
र, बीचमा सपना बोक्दै रेटिएको वस्ती छ
माथितिर सपना जलेको अस्थि छ
तलतिर सपना बगेको खोला बगर छ
र, निवर्तमान प्रभू महाराजको हातमा
सपनाको गुठी लिलामको बोलपत्र छ
हो, नियतिको लीला पनि अनौठै छ
अस्ति त्यो पखेरो हरियो थियो
हिजो त्यो पखेरो रातो भयो
आज त्यो पखेरो पहेंलिएको छ
र, भालिी त्यो पखेरो खैरो हुन बेर छैन
यसो हुनुको कारण हो
कुनै दिन एक साधुले सपनाको छेउ
शक्तिको भिख माग्यो
र, त्यो सपना वस्तीमा फैलियो
अनि, उस्को शक्ति हुर्कियो
र, त्यसले हुनु हुनामी ग¥यो
आज पखेरोको वस्तीमा जे हाल छ
त्यही साधुले छरेको सपना
र, उस्ले आर्जेको शक्तिको देन हो
तर अचेल,
त्यो साधु आफै फेरिएको छ
किनकि उ अचेल
पबित्र मठमन्दिरमा छैन
न कठोर साधनाको यात्रामा छ
बरु उसले सधैको लागि
तिथौटनको पबित्र यात्रा त्यागेको छ
अनि,
उ त अचेल विटुलिएर
पथविचलित र पथभ्रष्ट भएको छ
आलिसान दरबारमा छ
र, पराश्रयी घरबारमा छ
साधु ताजको मूल्य र धर्ममा हैन
महाराजको गद्दिमा छ
अनि, विलास र सयलको रद्दिमा छ
पूजा र भक्तिमा हैन
मस्ती र शक्तिमा छ
र, उ काटिकुटी भनौ या दुरुस्तै
आस्तिकहरुले भने जस्तै
कुनै भक्तले शक्ति पाएर असुर बने झैं
साधुबाट सिकारी भएको छ
त्यो पनि अरुको हो र ?
सपनाकै सिकारी
अचेल उसले
कहिले बासमै घेरेर
कहिले बाटोमा एम्बुस गरेर
कहिले चरनमा लिसिपासो थापेर
कहिले चारोमा फलिंका र ओद्रा थापेर
कहिले चाहारे बथाने लगी बनै छापेर
लखेटी लखेटी सपनाको शिकार गर्दछ
र, उस्को चरित्र अचेल
कहिले क्रुर जल्लाद जस्तो
कहिले कैफती ब्याधा जस्तो
कहिले कपटी सकुनी जस्तो
कहिले भातृघाती बिभिषण जस्तो
कहिले पराभक्त हनुमान जस्तो
र, फोटोकपी गरिएको लेण्डुप जस्तो
रंगमा बिचरित भैरहेछ
त्यसैले,
सपनाको पाश्र्व भागमा
हाहाकार छ, कोलाहल छ
र, यसबाट जन्मेको
पीर र चिन्ता छ
खेद र घृणा छ
अनि, त्यसैको आहतले उठेको
दावानल आक्रोश छ
यसर्थ,
सपनाको अन्तस्करणमा
नयाँ अवतारको हरदम पुकार छ
जसले, फेरि सपनाको बीज रोप्दै
मलजल गरेर उकेरा लगाओस
र, शिखर गमनको गन्तब्य चुमोस्
अनि, सहिदको अधुरो सपना साकार पारोस्
हरपल सपनाको यही पुकार छ
प्राबिधिक शब्दार्थ
एम्बुस– घात लगाउनु
लिसीपासा– पशु पंक्षीलाई घाटीमा फसाएर सिकार गर्न प्रयोग गरिने धागोको र तारबाट बनाइने पासो
फलिंका– टुप्पोमा चारो राखी चरा मार्न प्रयोग गरिने धनुषाकारको पासो
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।