मदन वि.सी/रुकुम पूर्व
रुकुपपूर्वको चर्चितस्थल चुनबाङ जिल्ला सदरमुकाम रुकुमकोटसँग जोडिएको छ ।
चुन्वाङ देखि रुकुमकोटसम्मको झण्डै २५ किलोमिटरको दुरिमा ट्रयाक खोल्ने काम सम्पन्न भएपछि चुन्वाङ सदरमुकामसंग जोडिएको लुम्बिनी प्रदेशका सभामुख एवम रुकुम पूर्व क्षेत्र नम्बर ख का प्रदेश सासंद पुर्ण घर्तिले बताउनुभयो । मैले रुकुमकोट चुन्वाङ सडक खण्डको काम के कति भयो भनेर बुझन ठेकेदारलाई फोन गरेको थिए घर्तिले भन्नुभयो मंगलबार ट्रयाक खोल्ने काम सम्पन्न भएछ ।
लामो समयको प्रतिक्षा पछि चुन्वाङ सडक सञ्जाल मार्फत सदरमुकामसंग जोडिएकोमा घर्तिले खुसि व्यक्त गर्नुभएको छ । बारम्बारको ताकेता र प्रयासबाट ट्रयाकको काम सकिएको छ उहाँले सुनाउनुभयो बाकि रहेका काम पनि समयमै सक्न भनेको छु । सभामुख घर्तिले चुनावको समयमा आफनो कार्यकाल भित्र चुन्वाङलाई रुकुमकोटसंग जोड्ने प्रतिवद्धता जनाउनु भएको थियो ।
२०७५÷०७६ भित्र शहिद मार्गको बाटो रुकुमकोट पुर्याउने गरि २०७४ मा बज्र गुरु खड्का कृष्ण जेभीलाई सडक निर्माण गर्न संघीय सरकारले जिम्मा दिइएको थियो । उसले भ्याटसहित ७ करोडमा ठेक्का पाएको हो । त्यतिखेर उक्त सडक खण्ड डिभिजन कार्यालय चौरजहारीले हेर्दै आएको थियो ।
तर संघीय संरचनाले रुकुम दुई भागमा विभाजन भएपछि यो सडक कसले हेर्ने भन्ने अन्योल भयो । केहि कानुनी जटिलता, भौगोलिक विकटता र कोरोना नियन्त्रण गर्न जारि गरिएको लगडाउनका कारण काममा केहि ढिलाई भएको ठेकेदार सुरतजंग मल्लले बताउनुभएको छ । विभिन्न चुनौतिका बाबजुत पनि चुन्वाङ देखि होदिङसम्मको १६ किलोमिटर ट्रयाकको काम सकिएको छ मल्लले भन्नुभयो बेस र वाल निर्माणको काम पनि छिट्टै सक्ने छौ ।
चुन्वाङ खण्डबाट काममा ढिला भएपछि गत आर्थिक वर्ष २०७७÷०७८ मा रुकुमकोटबाट पनि सडक खन्न सुरु गरिएको थियो । रुकुमकोटदेखि होर्दिङसम्मको ९ किलोमिटर सडक खन्न प्रदेशले भ्याट बाहेक ७ करोड ४१ लाखमा रौताहा पिके जे।भी निर्माण सेवा प्रालीलाई जिम्मा दिएको थियो । उसले एक वर्षमै रुकुमकोट स्थित नमस्तेको टावर देखि होर्दिङसम्मको सवै काम सम्पन्न गरि सकेको छ ।
जिरो पोइन्टमा विवाद सडकको जिरो पोइन्ट सिस्ने ५ मैदान स्थित पुरानो खानेपानी टयाङकीमा थोरै विवाद छ । अन्य ठाउँमा ट्रयाकको काम सकिए पनि जिरो पोइन्टको झण्डै दुई सय मिटरमा भने ट्रयाक नै खोलिएको छैन । मैदान स्थित पुरानो खानेपानी टयाङकी नजिक सडक कताबाट खन्ने भने विषयमा स्थानियविच कुरा नमिल्दा विवाद कायमै रहेको छ । मैदान देखि नमस्तेको टावरसम्म पुग्न बैकल्पिक बाटो छ ।
तर त्यो बाटो घुमाउरो र जोखिमपुर्ण भएको हुदाँ तत्काल उक्त विवाद मिलाई शहिद मार्गलाई पुर्णता दिन जरुरि छ । संघ र प्रदेश सरकारको लगानीमा निर्माण भइरहेको प्रदेशकैै महत्वपुर्ण निर्माणाधीन शहिद मार्गको ट्रयाक खुलेसंगै भुमे ९ को चुन्वाङ सदरमुकाम रुकुमकोटसंग सजिलै जोडिएको छ ।
चुन्वाङका नागरिकलाई रुकुमकोट पुग्न रोल्पाको परिर्वतन र थवाङ गाउँपालिका भएर लामो यात्रा गर्नुपर्ने बाध्यता पनि अव हटेको छ । यतिमात्र नभइ रुकुम पूर्वका नागरिकलाई सदरमुकाम भएर प्रदेश राजधानी दाङ लगायत तराईका जिल्ला पुग्ने दुरि पनि छोटिएको छ ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।