सर्जन गौतम
२००६ सालमा स्थापना भएको नेपाल कम्युनिष्ट पार्टीले नेपालमा सामन्तवाद र साम्राज्यवाद बिरोधी क्रान्ति सम्पन्न गर्ने र नयाँ जनवाद स्थापना गर्ने लक्ष्य राखेको थियो । २००७ सालदेखि २०७८ सालसम्म आइपुग्दा नेकपाले केकस्ता संघर्षहरुमा अग्रसरता लियो, के कस्ता सफलता प्राप्त गर्यो भन्ने जगजाहेर नै छ । यस कार्यपत्रको बिषय त्यो नभएकाले त्यससम्बन्धमा विस्तारमा जानुपर्ने आवश्यकता छैन । तर पछिल्लो समयमा २०५२ सालदेखि नेकपा माओवादीको नेतृत्वमा सञ्चालित जनयुद्ध र त्यसको जगमा खडा भएको २०६२/०६३ को जनआन्दोलनले एक स्तरको सफलता प्राप्त गरेको छ । संविधानसभाबाट गणतान्त्रिक र संभवतः इतिहासकै सबभन्दा समावेशी चरित्रको संविधान लेखिएको छ ।
संविधानले नै नेपाललाई ‘समाजवादउन्मुख’ राज्यका रुपमा परिभाषित गरेको छ । दस्तावेजका तहमा हेर्दा नेकपा माओवादी केन्द्र, नेकपा एमाले, एकीकृत समाजवादीजस्ता राजनीतिक दलहरुले जनवादी क्रान्ति आधारभूतरुपले सम्पन्न भएको निष्कर्ष निकाल्दै समाजवादतर्फ अगाडि बढ्ने बताएका छन् । नेपाली कांग्रेस प्रारम्भदेखि नै प्रजातान्त्रिक समाजवादलाई नाराको रुपमा अघि सार्दै आएको पार्टी हो । बाबुराम भट्टराई÷मधेशवादी दलसमेतले आफूलाई समाजवादी नै भन्दै आएका छन् । कतिपयले नाममै समाजवादी फुर्को झुण्ड्याएका छन् । निसन्देह, केही साना कम्युनिष्टहरुले अझै जनवादी क्रान्ति सम्पन्न नभएको बताइरहेका छन् तर उनीहरुको आवाजको खासै सुनुवाई भएको छैन ।
उपर्युक्त पृष्ठभूमिमा ओठेभक्तिका रुपमा संविधानमा समाजवादउन्मुख लेख्नु खासै समस्या भएन परन्तु संविधानमा समाजवादी लेख्दैमा कुनै पनि देश स्वतः समाजवादी हुँदैन । भारतको संविधानमा पनि समाजवाद लेखिएको छ । भारतीय कांग्रेस नेहरुकै पालादेखिको ‘सोसल डेमोक्रेट्स’ हो । समाजवादी नाम झुण्ड्याएका दर्जनबढी दलहरु छन् परन्तु भारतको शासन व्यवस्थालाई समाजवादी भन्न सकिन्न । नेपालको सन्दर्भमा पनि यही कुरा सत्य हो । त्यसकारण समाजवाद भनेको के हो ? समाजवादको के कस्तो स्वरुपहरुको बारेमा वकालत भएको छ ? कति रुपहरु आंशिकरुपमा प्रयोग भएका छन् ? कम्युनिष्टहरुले ‘वैज्ञानिक’ करार गरेका २० औं शताब्दीका ‘समाजवादी राज्यसत्ता’ का पराजयका कारण के के हुन् ? समाजवादी क्रान्ति सम्पन्न गर्दा साथ दिने आधारभूत वर्गहरु को हुन् ? कुन वर्ग वा शक्तिविरुद्ध आधारभूत संघर्ष केन्द्रित हुनुपर्दछ ? समाजवादी क्रान्तिको नेतृत्व गर्ने कम्युनिष्ट पार्टीको आधारभूत संरचना, नैतिकता र सांस्कृतिक चरित्र कस्तो हुनुपर्छ ? आदि बिषयमा उत्तर खोज्नुपर्छ । अन्यथा २० औं शताब्दीमा भोगिएका ‘क्रान्ति र प्रतिक्रान्ति’का अन्त्यहीन चक्र दोहोरिने खतरा हुन्छ ।
सामान्यतः समाजवाद भन्नाले समाजमा रहेको आर्थिक बिषमता हटाएर समता ल्याउनुपर्छ भन्ने र देशको सम्पूर्ण सम्पत्तिमा कसैको एकलौटी अधिकार हुन नदिने तथा उत्पादन र उपभोगका साधनमा समाजको साझा अधिकार हुनुपर्छ भन्ने सिद्धान्त बुझिन्छ । तर, ब्याख्या र अभ्यासका रुपमा यसका अनेक प्रकारहरु छन् ।
समाजवादको ऐतिहासिक उत्पत्ति र विकासक्रम
समाजवाद मानव समाज विकासको एउटा निश्चित अवस्था हो, जसको आधारका रुपमा निश्चित प्रकारको अर्थव्यवस्था र उपरिसंरचनाको रुपमा निश्चित प्रकारको राजनीतिक, सामाजिक परिपाटी हुन्छ । समाज विकासको एउटा निश्चित प्रक्रिया हुन्छ । खास किसिमको आर्थिक प्रणाली, उत्पादन सम्बन्ध र प्रकृतिसँगको सम्बन्धका कारणले कुनै व्यवस्था टिकेको हुन्छ । तर, सो व्यवस्थाभित्र विभन्नि प्रकारका अन्तर्विरोधहरु हुन्छन् । जब त्यो अन्तर्विरोध बढ्दै जान्छ, त्यसैको जगमा पैदा भएको द्वन्द्वले पुरानो व्यवस्था ध्वंश हुन्छ र नयाँ व्यवस्थाको उदय हुन्छ । यसप्रकारको दृृष्टिकोणको आधारमा समाज विकासको अध्ययन गर्नु द्वन्द्वात्मक भौतिकवादी विश्व दृष्टिकोण हो । जब द्वन्द्वात्मक भौतिकवादी विश्व दृष्टिकोणका आधारमा इतिहासको मूल्यांकन गरिन्छ, त्यसलाई ऐतिहासिक भौतिकवाद भनिन्छ ।
ऐतिहासिक भौतिकवादी दृष्टिले हेर्दा कार्ल माक्र्सले आदिम साम्यवादी युग, दास युग, सामन्ती युग र पूँजीवादी युग कसरी कुन कुन ठोस कारणले उत्पत्ति भए, कसरी तिनीहरुको उत्थान र पतन भयो भन्ने कुराको बारेमा विस्तृतरुपमा ब्याख्या गरेका छन् । माक्र्सले कम्युनिष्ट घोषणापत्र लेख्दा पूँजीवाद विकासको उच्चतर अवस्थातिर जाँदै थियो । साथसाथै त्यसभित्र पूँजी र श्रमका अन्तर्विरोध बढ्दै गएका थिए । माक्र्सले त्यसभित्रका अन्तर्विरोध केलाउँदै पूँजीवाद ह्रासोन्मुख छ र नयाँ प्रकारको समाज व्यवस्थाको रुपमा समाजवाद/साम्यवाद आउनेछ भन्ने भविष्यवाणी गरेका थिए । पँजीवादसम्मको माक्र्सको विश्लेषण तथ्यमा आधारित र अकाट्य छन् । तर, पूँजीवादको विकासक्रममा पैदा हुने अन्तर्विरोध, संघर्ष र नयाँ समाज व्यवस्थाको रुपमा समाजवादको आगमन ऐतिहासिक तथ्यमाथि आधारित रहेर गरिएको कल्पना हो ।
ठीक माक्र्सले परिकल्पना गरेअनुसार न पूँजीवादको विकास भयो, न त पूँजीवाद सबैभन्दा विकसित भएको बेलायतमा नै ‘समाजवादी क्रान्ति’ सम्पन्न भयो । बरु समाजवादी क्रान्ति त पिछडिएको अर्थव्यवस्था भएका रुस, चीन, भियतनाम, क्यूबाजस्ता देशमा पो भयो । रुसमा समाजवाद निर्माणको बाटो अगाडि बढ्यो । जुनबेलासम्म रुसमा कम्युनिष्ट पार्टीको शासन थियो, त्यसलाई { Actually existing socialism भनिन्थ्यो । लेनिनले पुरानो राज्य प्रणाली भत्काएका हुन् र नयाँ राज्य स्थापना गरेका पनि हुन् तर त्यो त विकसित राष्ट्र थिएन । पूँजीवादकै पनि समुचित विकास भएको थिएन । किसानको समेत उल्लेख्य सहयोग लिएर, सेनाले समेत जारविरुद्ध बिद्रोह गरेको हुनाले प्रथम विश्वयुद्धले अनुकूलता सिर्जना गरेको हुनाले क्रान्ति सम्पन्न भएको थियो । अनि उनीहरुले समाजवाद भनेर जुन चिजको विकास गरे, त्यो त राज्य पूँजीवाद (State capitalism)को विकास भयो । समाजवाद त आएकै रहेनछ । निसन्देह, कम्युनिष्ट पार्टीले झण्डै ७० बर्ष शासन भने गरेको हो । चीनमा जुन कम्युनिष्ट पार्टीको शासन छ, त्यो कर्पोरेट पूँजीवाद हो । चीनमा जुनप्रकारले धनि र गरिबको बीचमा खाडल गहिरिएको छ, त्यो त तत्कालीन सोभियत संघभन्दा निकै बढी छ ।
माथिको चर्चा किन गरिएको हो भने हालसम्म समाजवाद प्रयोगमा आएको शासन व्यवस्था होइन । समाजवाद निर्माणका २० औं शताब्दीका प्रयत्न पूँजीवादमै गएर अन्त्य भएका छन् । त्यसकारण हालसम्म समाजवाद सिद्धान्तको बिषय बनेको छ । पूँजीवादसम्मका समाज व्यवस्थाहरु सिद्धान्त बनाएर आएका होइनन् । ती त उत्पादन संघर्षको क्रममा विकास भएका हुन् । पूँजीवादको भ्रुण घरेलु सिल्पकारहरुले बनाएका सामानहरुको विनमयको क्रममा पैदा भएको हो । जब मेसिनहरु विकास भयो, उद्योगहरुको विकास भयो, विनिमयको तीब्र विस्तार भयो, खासगरी कमोडिटीको । पूँजीवाद फष्टाएर गयो, त्यहीनिरबाट मजदूरको श्रम शोषणको कुरा आयो ।
अतिरिक्त मूल्यको शोषण गरेर, पूँजीको उत्पादन र पुनरुत्पादन गरेर पूँजीपति नाफा कमाउँदै गयो । श्रमिक वर्ग दिनहीन जीवन विताउन बाध्य भयो । यसरी पूँजीवादको एक चरणसम्म विकास भएपछि सामन्तवादको जस्तो आत्मनिर्भरतालाई ध्यान दिएर होइन, बजारलाई हेरेर नाफा कमाउने उद्देश्यका साथ सामानको उत्पादन गर्न थालेपछि पूँजीवादको विकास भयो । पछि त्यसको प्रवृत्ति हेरेर आडम स्मिथले अनेकन व्याख्या गरेका छन् । त्यसको सार के हो भने तिमीसँग भएको पूँजी, जमीन, सीप, कौशल, प्रयोग गर, वस्तुको उत्पादन गर र नाफा आर्जन गर । यसलाई रिकार्डोले principles of political economy and taxation पुस्तकमा लगान सिद्धान्तको रुपमा विस्तृत व्याख्या गरेका छन् ।
पूँजीवादको विकासको क्रममा अनिवार्य र स्वभाविकरुपले वर्जुवा वर्ग र सामन्ती वर्गको बीचमा टकराव पैदा भयो । यही टकरावले सन् १७८९ मा फ्रान्सको राज्यक्रान्ति भयो । राज्यक्रान्तिको कर्णप्रिय नारा थियो– स्वतन्त्रता, समानता र भातृत्व । त्यसकै आसपासमा यूरोपका धेरै देश र अमेरिकामा पनि स्वतन्त्रता आयो । तर, वास्तविकता के देखियो भने त्यो स्वतन्त्रता, समानता र भातृत्व केवल वुर्जुवा वर्गले मात्रै उपभोग ग¥यो । त्यो देखेर त्यहाँका चिन्तक र प्रसिद्ध नाटककार भोल्टेयरले मजदूरमाथिको शोषण बन्द गरेर समानताको आधारमा व्यवहार गर्नुपर्ने बताएका थिए ।
बेलायतमा पूँजीवादको तीब्र विकास भएको थियो । पूँजीपति वर्गले मालको विपुल उत्पादन गरेर चरम नाफा कुम्ल्याएका थियो तर मजदूरको अवस्था दयनीय थियो । उनीहरुलाई न्यून ज्यालामा १८ घण्टासम्म काममा लगाइन्थ्यो । त्यो देखेर बेलायतका उद्योगपति रोवर्ट ओवेन व्यथित भए । उनको कपासको धागो बुन्ने र कपडा बनाउने कारखाना थियो । उनले मजदूरको कार्यघण्टा १८ बाट १० घण्टामा झारे । बालश्रमिकको कार्यावधि कम गरे ।
उनीहरुलाई शिक्षा र मनोरञ्जनको व्यवस्था गरे । महिला श्रमिकका लागि अलग विश्रामघर र प्रसुति केन्द्रको विकास गरे । उनको प्रयासले मजदूरको अवस्थामा सुधार ल्यायो । उनले केवल आफ्नो कारखानामा मात्रै यसप्रकारको गतिबिधि गरेका थिएनन्, यो सिद्धान्तको प्रचारप्रसार र क्लाससमेत लिने गरेका थिए । माक्र्सका परम मित्र एंगेल्सले पनि उनको कक्षा लिएका थिए । तर, अन्य पूजीपतिले उनको त्यो कार्यशैली अपनाएनन् । मजदूरहरुको अवस्था उस्तै रह्यो । ओवेन पछि अमेरिका गए र त्यहाँ पनि यो सिद्धान्तको प्रयोग गर्ने कोशिस गरे ।
धेरैले ओवनलाई परोपकारी व्यक्ति भने । ओवेन नै काल्पनिक समाजवादी सिद्धान्तका संस्थापक मानिन्छन् । सन् १८१३–१६ उनले New view of society or essays on the principle of the formation of Human character and the application of the principle to practice -1813-16_शीर्षकमा धाराबाहिक लेखहरु प्रकाशित गरे । उनले मजदूर खासगरी बालश्रमिकहरुको वैधानिक अवस्था सुधार गर्न कोशिस अगाडि बढाएका थिए ।
तर, अनुदारवादी उद्योगपतिहरुको बिरोधका कारण उनको अभियान सफल हुन सकेन । रोवर्ट ओवेनको अभियानलाई पछि कार्ल माक्र्सले यूटोपियन समाजवादको नाम दिएका छन् । मजदूरको अवस्थामा परिवर्तन गर्न मजदूरलाई संगठित गरेर प्रयत्न गर्नुपथ्र्यो तर रोवर्ट ओवेनले पूँजीपतिको दयामा आधारित भएर मजदूरको अवस्थामा सुधार ल्याउन खोजे । यो प्रष्ट छ, सबै पूँजीपतिहरु दयालु हुँदैनन् किनकि पूँजीपतिको मुख्य उद्देश्य समाजसेवा होइन, नाफा हो ।
रोवर्ट ओवेनको तरिका Right based नभएर Welfare based थियो । उनको विचारको फेडरिक ऐंगेल्सले Socialism: Utopian and scientific शीर्षकको लेखमा पर्याप्त खण्डन गरेका छन् । उनले भनेका छन्– विकास र मजदूर कल्याणका नाममा ओवेनले आजसम्म जे जस्ता कदम उठाएका छन्, ती सबै मानवीय गरिमाभन्दा बाहिर र देखावटी छन् । मजदूरहरु मेरो दयामा निर्भर छन् र मेरा दास समान छन् भन्ने नै ओवेनको कार्यक्रमको सार हो । फ्रान्सेली विद्धान सेन्ट साइमन, चाल्र्स फुरिए, एडबर्ड बेलामीजस्ता यूटोपियन सोसलिष्टहरु पनि रोवर्ट ओवेनजस्तै अन्य काल्पनिक समाजवादी हुन् । जसले आ–आफ्नो तरिकाले समाजवादका आदर्श कल्पना गरेका छन् ।
पच्चीस सय बर्ष अगाडिका प्लेटोको आफ्नो सम्पत्ति तथा परिवार नभएका दार्शनिकले शासन गर्नुपर्छ भन्ने दृष्टिकोण, थोमस मुरले यूटोपिया नामक पुस्तकमा कल्पना गरेजस्तो कुनै पनि व्यक्तिसँग निजी सम्पत्ति नभएको समाज, १९ औं शताब्दीको विलियम मोकिसले अगाडि सारेको श्रमिकहरुको समाजवाद, समाजवाद र अराजकतावादलाई मिसाएर उद्योगमा स्वयंसवेी सरकारको अवधारणाका साथ अगाडि आएको गिल्ड समाजवाद (संस्थापक जिडी एच कोल), उच्चतम नैतिक संभावनाहरुको आधारमा समाजको पुनर्गठन गर्ने उद्देश्यले अगाडि बढेको फेवियन समाजवादी विचारलाई काल्पनिक समाजवादको कोटीमा राखेर हेर्न सकिन्छ । समाज विकासका ऐतिहासिक नियमहरुमा आधारित नभई आदर्श कल्पना मात्र भएकाले यसप्रकारका समाजवादलाई व्यवहारमा ल्याउनु भने असंभव छ ।
माक्र्सवाद र वैज्ञानिक समाजवादको जन्म
यूरोपमा प्रचलित विभिन्न दर्शनहरु मुख्यतः हेगेलको द्वन्द्ववाद, फायरबाखको भौतिकवाद, मोर्गानको मानवशास्त्र र रिकार्डोको लगान सिद्धान्त तथा यूरोपमा प्रचलित विभिन्न काल्पनिक समाजवादी सिद्धान्तसमेतको ब्यापक अध्ययन भएका कार्ल माक्र्स र उनका सहयोगी एंगेल्सले कम्युनिष्ट घोषणापत्र लेखे । सन् १८४८ मा प्रकाशमा आएको घोषणापत्रमा लेखिएको छ– ‘धेरै कारणले पूँजीवाद एउटा प्रगतिशील प्रणाली हो । यसले उत्पादनलाई क्रान्तिकारीकरण गरेको छ । यसले मानव सभ्यतालाई नयाँ नयाँ प्रविधिको विकाससहित उच्च तहमा पु¥याएको छ । यसले लाखौं श्रमिकलाई साझा उत्पादन प्रक्रियामा संगठित गरेको छ ।’
पूँजीवादी प्रक्रियामा देखापर्ने अन्तर्विरोधका कारण पूँजीवादको विनास हुने र समाजवादको स्थापना आधार पहिल्याउँदै घोषणापत्रमा भनिएको छ– ‘तर, पूँजीवादले आफ्ना सबै क्रान्तिकारी शक्ति एउटै उद्देश्यमा मात्र खर्चेको छ– अल्पसंख्यामा रहेका मुटठीभर पूँजीपतिले अकुत नाफा कुम्ल्याउने । त्यसैले पूँजीवादको नाता प्रबिधिको विकास र ठूलो संख्यामा मानव समुदायको पीडा मिसिएको प्रगति र उत्पीडनसँग जोडिएको हुन्छ । पूँजीवादभित्रको अन्तर्विरोध भनेकै यही हो ।’ यस्तो अन्तर्विरोधलाई माक्र्सको भाषामा उत्पादनका सामाजिक शक्तिहरु र शोषणमूलक उत्पादन सम्बन्धबीचको अन्तर्विरोध मानिन्छ । वैज्ञानिक समाजवादले पूँजीवादका उपलब्धि खासगरेर उत्पादनका साधन र उत्पादनलाई सामाजिकीकरण गरेर मात्र यस समस्याको समाधान हुनसक्छ भन्ने दृष्टिकोण राख्दछ ।
यो घोषणापत्र यूरोपका स–साना समूह मिलेर बनेको कम्युनिष्ट लिगका लागि लेखिएको थियो । घोषणापत्रले औद्योगिक सर्वहारा वर्गलाई क्रान्तिको मुख्य शक्ति माने पनि कम्यूनिष्ट लिगमा भने क्रान्तिकारी बौद्धिक समूहको प्रधानता थियो । यिनीहरुको प्रभावस्वरुप सन् १८७१ मा पेरिस कम्यूनको स्थापना भयो, जो केवल तीन महिनासम्म टिक्न सक्यो । पेरिस कम्यूनको अन्त्यसँगै कम्युनिष्ट लिगको पनि अन्त्य भयो । तर, यसले राजनीतिक मागसहितका ट्रेड युनियन आन्दोलन गर्ने आधार तयार पारिसकेको थियो । बेलायत, जर्मनी, फ्रान्स र बेल्जियममा ट्रेड यूनियन आन्दोलनको फलस्वरुप विभिन्न प्रकारका सामाजिक जनवादी पार्टीहरुको जन्म भयो । जसमा सबैभन्दा बढी प्रभाव माक्र्सको विचारको थियो । यद्यपि अराजकतावादी विचारहरुको पनि कम प्रभाव थिएन । सेकेण्ड इन्टरनेशनलमा भने प्रष्टरुपमले माक्र्सेली विचारको बहुमत थियो । २० लाख सदस्य संख्या भएको जर्मन समाजवादी पार्टी, बेलायतको लेवर पार्टीजस्ता क्रान्तिकारी पार्टीहरुको जन्म भएको थियो ।
त्यसै समयमा पूँजीवादले जन्माएको अन्तर्विरोधका कारण पहिलो विश्वयुद्ध शुरु भयो । लेनिनको नेतृत्वमा बामपन्थी खेमाले जर्मनी, फ्रान्स र इटलीजस्ता साम्राज्यवादी बीचको युद्धमा एउटा देशका मजदूरहरु अर्को देशका मजदूरविरुद्ध परिचालित हुनुहुन्न भन्ने दृष्टिकोण अगाडि सार्दै आफ्नै देशको पूँजीपति विरुद्ध क्रान्तिकारी बिद्रोहको शरुवात ग¥यो । अर्कोतिर दंक्षिणपन्थी खेमाले आफ्नो देशको पूँजीपतिलाई समर्थन गर्दै ट्रेड यूनियन अधिकार जोगाउने प्रयत्न गर्यो । यसरी अन्तर्राष्ट्रिय समाजवादी आन्दोलनमा फूट आयो । प्रजातान्त्रिक समाजवादी र कम्युनिष्ट गरी दुई धार देखा पर्यो ।
सोसल डेमोक्रेट्सहरुको समाजवादप्रतिको प्रतिबद्धता ओठेभक्तिका रुपमा मात्र कायम भएको हुन्छ । उनीहरु मुख्यरुपमा ट्रेड यूनियन आन्दोलनमा जोड दिन्छन् र संसदमा गएर कानूनी उपायको प्रबर्धनद्वारा समाजवाद लागु गर्ने कुरामा जोड दिन्छन् । विद्यमान प्रणालीअन्तर्गत नै सत्तामा पुगेर सुधार गर्ने भनेको वर्तमान प्रणालीलाई नै जोगाउने भनेको होइन र ? तसर्थ, प्रजातान्त्रिक समाजवादी समाजवादी होइनन्, बरु प्रकारान्तरले पूँजीवादी नै हुन् । उनीहरुको सिद्धान्तले पूँजीवादलाई जोगाउँछ । कतिपय अवस्थामा कम्युनिष्टहरुको संघर्षलाई भ्रम पैदा गरेर पूँजीवादको आयु लामो गराउन मद्दत गर्छ ।
रुसमा लेनिनले क्रान्ति गरेर सम्पत्ति राष्ट्रियकरण गरेपछि बेलायतको आफूलाई सोसल डेमोक्रेटिक भन्ने दल लेवर पार्टीले सन् १९२४ को सम्मेलनमा पारित विधानको दफा ४ मा संसदमा बहुमत ल्याएर निजी सम्पत्ति राष्ट्रियकरण गर्ने बताएको थियो । तर, हालसम्म पनि सो पार्टीले सो दफाको कार्यान्वयन नगर्नुले पनि प्रजातान्त्रिक समाजवाद प्रकारन्तरले पूँजीवाद नै हो भन्ने प्रष्ट पार्दछ । प्रजातान्त्रिक समाजवादजस्तै तर आफू फरक देखाउन खोज्ने यूरो कम्युनिष्टहरु समेत यूरोपमा क्रियाशील छन् । स्पेनका शान्तियागो कारिल्लो र इटलीका एनरिको बलिंगर यसका सिद्धान्तकार हुन् । प्रजातान्त्रिक प्रक्रियामार्फत संसदमा पुगेर समाजवाद ल्याउँछौं भन्ने यी समूहहरुले समाजवाद ल्याउन कुनै भूमिका निर्वाह गर्न सकिरहेका छैनन् । यूरो कम्युनिज्मको दार्शनिक सिद्धान्त नै बहुदलवाद भएको हुँदा नेपालका बहुदलीय जनवादीसँग यिनको चिन्तन प्रणाली मिल्छ । यिनीहरुलाई नियो माक्सिस्ष्ट वा नियो सोसललिष्ट पनि भन्न सकिन्छ ।
रुसमा समाजवाद निर्माण प्रयत्नको समीक्षा
रुसको क्रान्ति अपेक्षा गरिएभन्दा फरकढंगले सम्पन्न भयो । माक्र्सले पूँजीवादको चरम विकास भएको देश बेलायतबाट समाजवादी क्रान्ति होला भन्ने अपेक्षा गरेका थिए । पूँजीवादको चरम विकास भएपछि स्वतः आफै विकास हुँदै समाजवाद आउँछ भनेर प्रकारान्तरले ‘स्वस्फूर्ततावाद’को वकालत गर्ने समूहमा थोमस पिकेटीदेखि नेपालका डा. चैतन्य मिश्रसम्मका विद्धान देखापरेका छन् । तर, लेनिनले स्पष्ट के भनेका थिए भने सेना, पुलिस, अदालत, निजी सम्पत्ति पुरानै हुने हो भने कम्युनिष्ट पार्टीमा सत्तामा गएर मात्रै समाजवाद आउँछ त ? उनले के भनेका छन् भने कम्युनिष्ट र सोसल डेमोक्रेट्सको अन्तर के हो भने उनीहरु राज्य कब्जा गर्न चाहन्छन्, हामी पुरानो राज्य नष्ट गर्न चाहन्छौं । उनले साँच्चै नै पुरानो राज्य नष्ट गरेर नयाँ बनाए । जुनबेला दोस्रो विश्वयुद्ध भयो, रुस सेना बनाइरहेको थियो ।
जब तपाइँ सत्तामा जानुभयो भने तपाइँ त विद्यमान प्रणालीको एउटा सदस्य नै बन्नुभयो । बिडम्बना हामी नेपाली कम्युनिष्ट पूँजीवादी सरकारको रक्षा कवच बनेर समाजवादी क्रान्ति गर्ने सपना देखिरहेका छौं । तपाइँ कम्युनिष्ट पार्टीको सदस्यका रुपमा प्रधानमन्त्री, मन्त्री, सांसद, बन्नुभयो तर जनता कतै छुट्यो । तपाइँ दलाल, नोकरशाहबाट घेरिनुभयो । कमिसन, भ्रष्टाचार, अवैध धन आर्जन सबै शुरु भयो । अब क्रान्ति कसरी ? यो सब ध्वंश नगरी क्रान्ति कसरी ? लेनिनको यो आधारभूत सवाल हो, यसलाई हामीले कसरी हल गर्ने ? हलसमक्ष मैले खुलारुपमा छाडेको सवाल हो यो, यसमा ब्यापक बहस होस् भन्ने अपेक्षा राखेको छु ।
लेनिनले सबैभन्दा सामना गर्नुपरेको प्रश्न थियो– ‘औद्योगिकीकरण नभएको देशमा मजदूरको अधिनायकत्व कसरी कायम गर्छौ ?’ लेनिनले ‘साम्राज्यवाद पूँजीवादको उच्चतम अवस्था’ नामक पुस्तकमा यसको जवाफ दिएका छन्– ‘साम्राज्यवादले उद्योग स्थापना हुन नै दिंदैन, क्रान्तिका लागि अवस्था परिपक्व छ भने क्रान्ति गरिहाल्नुपर्छ ।’ लेनिनको भनाइमा सत्यता छ– साम्राज्यवादले आफ्ना उत्पादन बेच्न दुईवटा महायुद्ध गराएको हो । अहिले पनि अवस्था त्यही छ । नेपालमा शीतयुद्धको पृष्ठभूमिमा विभिन्न राष्ट्रको सहयोगले स्थापना भएका मुस्किलले एक दुई दर्जन उद्योग थिए पञ्चायतकालमा । बहुदल आउँदासम्म विश्व बैंक, एडिबी, आइएमएफले बन्द गराइदिए । नेपालको कृषि उत्पादन धराशायी भयो । अहिले हामी अर्बौको खाद्यान्न आयात गर्छौं । हामीले अहिले दुईवटा कर्णप्रिय नारा अघि सारेका छौं– संविधानमा ‘समाजवादउन्मुख व्यवस्था’ र योजनाको नारामा ‘सुखी नेपाली, समृद्ध नेपाल’ ।
नेपालमा समृद्धि कसरी आउँछ, अहिले चलेको त दलाल पूँजीवाद हो । सय रुपैयाँ कमाइ गरे ९० रुपैयाँ साम्राज्यवादले लैजान्छ । अनि कसरी आउँछ समृद्धि ? कोकाकोला बेचेर समृद्धि आउँछ ? स्मार्ट मोबाइल, आइफोन चलाएर, सामाजिक सञ्जाल चलाएर, बिदेशी गाडी, फर्निचर किनेर समृद्धि आउँछ ? हाम्रोमा त पूँजीको अभूतपूर्वरुपमा पलायनको दौड सिर्जना भएको छ । विद्यमान व्यवस्थाअन्तर्गत अरु जेसुकै आए पनि औद्योगिक पूँजीवाद स्थापना हुनैसक्दैन । तेस्रो विश्वमा उत्पादन नभए के वितरण गर्ने ? वितरणविना के को समाजवाद ?
त्यसकारण यो प्रणाली भत्काउनैपर्छ । ध्वंश गर्नैपर्छ । तर, त्यसका लागि संघर्ष गर्ने मजदूर वर्ग माक्र्सको पालामा जस्तो उपलब्ध छैनन् । पूँजीवादले प्रबिधिको उल्लेख्य विकास गरेको छ । आज ठूला औद्योगिक प्रतिष्ठानमा समेत जनशक्ति सीमित छ । त्यसकारण अबको संघर्ष लेनिनले बताएजस्तै साम्राज्यवादी राष्ट्र र उत्पीडित राष्ट्रहरुको बीचमा हुनुपर्दछ । जसबसम्म विश्व साम्राज्यवादले फैलाएका उपभोक्तावादी संस्कृति, पश्चिमा आदर्श मान्ने शिक्षा, संस्कृतिविरुद्ध एशिया र अफ्रिकन जनताको संस्कृति, मितव्ययिता र मेशिनको सट्टामा मानव श्रमलाई जोड दिन सकिन्न भने समाजवादको निर्माण हुन सक्दैन ।
अझै पनि पश्चिमाको तागत मेशिन हो, हाम्रो तागत मानव शक्ति हो । जनसांख्यिक दृष्टिकोणले पनि यस्तै देखिन्छ । नेपालमा समाजवादको कस्तो मोडल उपयुक्त हुन्छ, एक व्यक्तिले कार्यपत्रमा दिने कुरा होइन, त्यो त उत्पादन संघर्ष, प्रकृतिसँगको संघर्ष र वर्ग संघर्षको दौरानमा विकसित हुने कुरा हो ।
फेरि एकपटक रुसकै सन्दर्भमा कुरा गरौं । लेनिनको त क्रान्तिको केही समयपछि नै मृत्यु भइहाल्यो । स्टालिनको हातमा सत्ता पुग्यो । तुरुन्तै द्धितीय विश्वयुद्ध शुरु भयो । समाजवादी सत्ता निर्माणका लागि योजना बनाउने समय पुगेन । क्रान्ति हुँदा रुस पूँजीवादी राष्ट्र थिएन, यो त करिब तेस्रो विश्वझैं पिछडिएको राष्ट्र थियो । रुसले योजनाबद्धढंगले कम्युनिष्ट पार्टीको नेतृत्वमा औद्योगिकीकरणको अभियान प्रारम्भ गर्यो । विकासको योजनाबद्ध शैली अपनाएकाले रुसमा छिटो औद्यागिकीकरण भयो । भनिन्छ अमेरिकाले तीन सय बर्षमा हासिल गरेको प्रगति रुसले ७० बर्षमै प्राप्त गरेको थियो ।
यसरी विकास गरिएका उद्योगधन्दाबाट रकम थुप्रिनुका कारणले रुसमा ‘राज्य पूँजीवाद’को विकास भयो । शक्तिशाली र अधिकार केन्द्रिकरण भएको कम्युनिष्ट पार्टी नोकरशाही पूर्जामा बदलियो । War communism नाममा जनवादलाई कमजोर पारिएकाले जनसमुदायको सत्तामा निगरानी, हस्तक्षेप र नियन्त्रण रहने परिपाटीको विकास भएन । जनवादी अभ्यास नहुनुको कारणले ‘अधिनायकत्व’ समाजवादमा वर्ग संघर्षको अभिव्यक्तिको रुपमा होइन, विरोधी समाप्त पार्ने औजारका रुपमा प्रयोग भयो । त्यही विन्दुमा ‘सामाजिक साम्राज्यवाद’को रुपमा विकास हुँदै रुसको ‘समाजवाद’ भनिएको शासन व्यवस्था चकनाचुर भएर ढल्यो ।
चीनमा त समाजवादी अभ्यास नै लामो समयसम्म हुन सकेन । माओको जीवनकालमै प्रतिक्रान्ति भइसकेको थियो, जसलाई सांस्कृतिक क्रान्तिद्वारा सच्याउने प्रयत्न विफल भयो । देङको पालादेखि त चीन पूर्णतः पूँजीवादी आर्थिक प्रणालीतर्फ अगाडि बढ्यो । आजको चीनको शासन व्यवस्था निसन्देह राज्य नियन्त्रित कर्पोरेट पूँजीवाद नै हो ।
तसर्थ हालसम्म हामीसँग समाजवादको सार्थक अभ्यास भएको मोडल छैन, केवल सिद्धान्तहरु छन् भन्ने पुष्टि हुन्छ । जेसुकै भए पनि अभ्यास गर्न खोजिएको मोडल सोभियत मोडल नै हो । कम्युनिष्ट पार्टी स्थायी संरचना होइन । माक्र्सवादअनुसार ‘कम्युनिज्म’मा जानुभन्दा अगाडि संक्रमणकालीन अवस्थामा कम्युनिष्ट पार्टी चाहिएको हो । ‘कम्युनिज्म’ मा जानुभन्दा अगाडिको संक्रमणकालीन अल्पकालीन व्यवस्था समाजवाद हो । यस कालमा समुदायलाई पूर्णतः कम्यनिष्ट पार्टीको नियन्त्रणमा राख्ने हो भने कम्युनिष्ट पार्टी नोकरशाही संयन्त्रमा बदलिन्छ । तसर्थ, प्रभावकारी सोभियत बनाउने र त्यसमा कम्युनिष्ट पार्टीको नियन्त्रण हटाउँदै जाने अभ्यास शुरुदेखि नै गर्नुपर्छ ।
दोस्रो, समाजवादको लक्ष्य पूँजीवादले जस्तो मानिसलाई मेशिन बनाउने होइन, कला, साहित्य, संस्कृति र बौद्धिकतायुक्त पूर्ण मानव बनाउने भएकाले उसलाई स्वतन्त्रताको अनुभूति हुन दिनुपर्छ । तेस्रो, एकदलीय व्यवस्थामा वर्ग संघर्ष पर्याप्त मात्रामा हुन नसक्ने भएकाले राजनीतिक स्वतन्त्रताको व्यवस्था गरिनुपर्छ । रोजा लक्जमवर्गले राजनीतिक स्वतन्त्रतालाई दिएको जोड यस सम्बन्धमा स्मरणीय छ । पूँजीवादमा माक्र्सले बताएजस्तै संकट अन्तविरोध दोहोरिरहेको हुनाले पूँजीवादको विनाश अनिवार्य छ । पूँजीवादको विनाशसँगै त्योभन्दा क्रान्तिकारी अर्को व्यवस्था उत्पादन हुनु पनि अनिवार्य नै छ । तर, त्यसका लागि माक्र्सले बताएजस्तो सचेत प्रयत्न गर्नुका साथै भारतीय समाजवादी चिन्तक जयप्रकाश नारायणले भनेजस्तै कम्युनिष्ट क्रान्तिकारीहरुले समाजवादलाई केवल सिद्धान्तको होइन, आचरणको बिषय बनाउनु अनिवार्य छ ।
(नेपाल बुद्धिजीवी संगठन दाङले २०७८ कार्तिक १७ गते सहिदस्मृति आमावि वनकट्टीमा आयोजना गरेको कार्यशालापत्रमा प्रस्तुत कार्यपत्र)
यो पनि पढ्नुहोस्ः
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।