मुगुमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ३२ पुगेको छ। २४ जनाको घटनास्थलमै, ४ जनाको उद्धार गरी ताल्चा विमानस्थल पुर्याउने क्रममा र नेपालगञ्ज पुर्याएका थप ४ जनाको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक जीवन लामिछानेले जानकारी दिए ।
उनका अनुसार दुर्घटना गम्भीर घाइते भएका चारजना उपचारका क्रममा बाँकेको नेपालगन्ज मृत्यु भएपछि मृतकको संख्या ३२ पुगेको हो । उपचारको लागि पठाइएका १६ जना घाइते मध्येबाट चार जनाको मृत्यु भएको उनले बताए।
‘२४ जना घटनास्थलमा र अरू थप चार जनालाई एयरपोर्ट पुर्याउँदै मृत्यु भयो। बाँकी घाइते १६ जनालाई हामीले नेपालगञ्ज र कोहलपुर पठाएका थियौं । थप चार जनाको उपचारको क्रममा मृत्यु भएको खबर आएको छ,’ उनले भने ।
घटनास्थलमा मृत्यु भएकामध्ये १६ जना पुरूष, ७ जना महिला र १ जना बालक छन् । नेपालगञ्जमा अहिले १२ जनाको उपचार भइरहेको प्रहिले जनाएको छ ।
३ जना गाडीबाट हाम फालेको र २ जना दुर्घटना हुनुभन्दा केही समय अघि ओर्लिएको प्रहरीले बताएको छ । नेपालबाट सुर्खेत हुँदै मुगुका लागि गएको भे १ ख ३१६७ नम्बरको बस मंगलबार दिउँसो पौने २ बजेतिर दुर्घटनामा परेको थियो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार गाडीमा ३९ यात्रु सवार थिए । दसैं मनाउन घर जान लागेका यात्रुहरु दुर्घटनामा परेका हुन् ।
कठिन र भिरालो भूगोल भएकाले मृतकको संख्या बढी भएको उनको भनाइ छ । ‘एकदमै अप्ठ्यारो ठाउँमा गाडी दुर्घटना भएको छ,’ उनले भने, ‘त्यसैले मानवीय क्षति धेरै देखियो’, उनले भने । घाइतेहरुमध्ये १४ जनालाई नेपाली सेनाको हेलिकोप्टर र जहाजमार्फत उद्धार गरी सुर्खेत र नेपालगन्ज पुर्याइएको छ ।
प्रमुख जिल्ला अधिकारीका अनुसार बस सडकबाट झण्डै ३ सय मिटर तल खसेको छ । ‘ब्रेक फेल भएर गाडी दुर्घटना भएको प्रारम्भिक अनुसन्धानका क्रममा देखिएको छ,’ उनले भने, ‘अहिले पनि उद्दारको काम जारी छ ।’ प्रहरीका अनुसार गाडीमा भारतबाट मजदुरी गरेर आएका र विद्यार्थीहरु बढी थिए । मुगु सडक सञ्जालमा जोडिएपछि यो सबैभन्दा ठूलो दुर्घटना हो ।
मुगु सदरमुकाम गमगढी २०६९ सालमा सडक सञ्जालमा जोडिएको थियो । तर अहिलेसम्म सडक साघुँरो र कच्ची हुँदा दुर्घटनाको जोखिम बढी छ ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।