नेपालबाट मनसुन बाहिरिएको छ । जल तथा मौसम विज्ञान विभागले यस्तो जानकारी दिएको हो ।
नेपालमा सामान्यतया जेठ अन्त्यमा सुरु हुने मनसुन असोज दोस्रो सातासम्म सक्रिय हुने गरे पनि केही वर्षयता मनसुन पछि धकेलिएको छ ।
यस्तै यस वर्षको मनसुनमा सरदरभन्दा १५ प्रतिशत बढी वर्षा भएको छ । यस वर्ष मनसुन सुरु भएलगत्तै असार पहिलो साता सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका क्षेत्रमा आरीघोप्टे वर्षा भयो र त्यसपछि आएको लेदोसहितको बाढीले मेलम्ची बजारमसम्मै ठूलो मात्रामा धनजनको क्षति गराएको थियो ।
वरिष्ठ मौसमविद् इन्दिरा कँडेलका अनुसार मुलुकका ८६ वटा मापन केन्द्रको रेकर्डअनुसार मनसुन सिजनमा सरदरभन्दा १५ प्रतिशत बढी वर्षा भएको छ । विभागका अनुसार यस वर्ष पनि गत वर्षहरुमा जस्तै धेरै स्थानमा थोरै क्षेत्र ढाकेर क्लाउड बर्स्ट भएको छ ।
नेपालसहित दक्षिण एसियाली मुलुकहरूका मौसमविद्हरुले यो वर्षको मनसुनमा सरदर वर्षा हुने आकलन गत वैशाखमा गरेका थिए । त्यतिबेला नेपालमा सरदर वर्षा आकलन गरिए पनि पूर्वी नेपाल र पश्चिम नेपालको उत्तरी भागमा सरदर भन्दा बढी वर्षा हुने अनुमान गरिएको थियो । मनसुनी प्रक्रिया करिब १ सय ५ दिन चल्छ । मनसुन अवधिमा वार्षिक वर्षाको ८० प्रतिशत वर्षा हुन्छ ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।