मदन भण्डारी मार्गअन्तर्गत दाङको घोराहीदेखि सिमेन्ट उद्योगको चुनढुंगा खानी रहेको बंगलाचुलीको तापा पुग्ने टिप्परहरु दिउँसो छ घण्टा चल्न नपाउने औपचारिक निर्णय भएको छ ।
जिल्ला प्रशासन कार्यालय दाङले बोलाएको सर्वपक्षीय बैठकले सो निर्णय गरेको हो । जसअनुसार विहान ८ देखि ११ बजेसम्म र दिउँसो ३ देखि साँझ ६ बजेसम्म टिप्पर चल्न पाउने छैनन् । टिप्परका कारण सडक क्षतविक्षेत हुनुका साथै आवागमन असुरक्षित भएपछि सडक क्षेत्रका बासिन्दाले सरोकार समिति बनाएर आन्दोलन गरेका थिए ।
उनीहरुले दिउँसो कुनै पनि समय टिप्पर चलाउन नदिने अडान राखेका थिए भने टिप्पर चालकले दिउँसोमा चल्न पाउनुपर्ने माग गरेर निवेदन दिएका थिए । जिल्ला प्रशासनको आग्रहमा बीचको सहमति गरिएको हो ।
सहमतिअनुसार टिप्परहरु जोर बिजोर नम्बरमा चलाउनुपर्ने छ भने राति १० बजेदेखि विहान ६ बजेसम्म पनि टिप्पर चलाउन पाइने छैन, यद्यपि यो निर्णय टिप्पर समितिले गर्ने सहमति भएको छ । त्यस्तै नेपाल सरकारले तोकेको भारवहन क्षमताको मापदण्डअनुसार मदन भण्डारी मार्गमा टिप्परलगायत सवारीका साधन चले नचलेको छड्के अनुगमन गरेर मापदण्ड उल्लंघन गर्नेलाई कानूनबमोजिम कारवाही निर्णय भएको छ ।
प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङको अध्यक्षतामा बसेको बैठकले टिप्पर सञ्चालन, नियमित सडक मर्मतलगायतका बिषयमा विभिन्न मितिमा भएका निर्णय कार्यान्वायनका लागि संयन्त्र गठन गरिएको छ । जसको संयोजकमा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत अम्मरराज शर्मा रहनुभएको छ भने सदस्यमा सडक डिभिजनका इञ्जिनियर अमिर सुवेदी, नागरिक सरोकार समितिका संयोजक नारदमणि पोख्रेल र टिप्पर व्यवसायी समितिका प्रतिनिधि भरतनाथ योगी रहनुभएको छ ।
वैकल्पिक मार्गको आवश्यक स्रोत सुनिश्चितताका लागि बैठकले लुम्बिनी प्रदेश सरकार र संघीय सरकारसँग माग गर्ने निर्णय पनि गरेको छ ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।