• ९ माघ २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
उद्योग प्रभावित क्षेत्रका नागरिक भन्छन्– टिप्पर राति चलाऊ, दिउँसो हामीलाई हिड्न देऊ




दाङमा विभिन्न सिमेन्ट उद्योगका लागि कच्चा पदार्थ ओसारपसार गर्ने टिप्परका कारण सडक ध्वस्त हुनुका साथै आवागमन अवबरुद्ध भएपछि प्रभावित क्षेत्रका नागरिकले टिप्पर राति चलाउने निर्णय निरन्तरता दिन माग गरेका छन् ।

उनीहरुले सबै सिमेन्ट उद्योगमा कच्चा पदार्थ ओसारपसार गर्न वैकल्पिक मार्ग निर्माणको तत्काल पहल गर्न माग गर्दै वैकल्पिक मार्ग नबन्दासम्म टिप्परहरु रातिको समयमा चलाउन माग गरेका हुन् । घोराही–मुर्कुटी सडक तथा उद्योग प्रभावित सरोकार समितिले आयोजना गरेको सर्वपक्षीय सर्वदीय बैठकका सहभागीहरुले एकमतका साथ यो माग अघि सारेका हुन् ।

घोराही–मुर्कुटी सडकसँगै सहिद मार्ग र घोराही–लमही सडकको अवस्था पनि दयनीय भएकाले यी सबै सडकको सुधारलाई प्राथमिकता दिनुपर्ने उनीहरुले बताए । मानव स्वास्थ्यविनाको विकासको अर्थ नहुने भन्दै उनीहरुले केही लाख राजश्वका लागि जनताको जीवन बर्बाद नपार्न स्थानीय सरकारहरुलाई आग्रह गरे । उद्योग प्रभावित क्षेत्रमा पटकपटक आन्दोलन हुने तर सम्झौतामा टुंगिने गरेको भन्दै यसपटक अब जनस्तरको आन्दोलन निरन्तर अघि बढ्नुपर्ने पनि उनीहरुले बताए ।

सरोकार समितिका अध्यक्ष नारदमणि पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले जनताको आवाजमा साथ दिन आफू तयार रहेको बताउँदै वैकल्पिक मार्ग र तत्कालका लागि सडक सुधारको नीति सही भएको बताउनुभयो । टिप्पर कुन समयमा चलाउने भन्ने थप छलफल गरेर अघि बढ्ने पनि उहाँले बताउनुभयो । बंगलाचुलीमा रहेका खानीका कारण घोराहीबासीले दुःख पाएको भन्दै उहाँले खानी बन्द गर्न बंगलाचुलीलाई आग्रह गर्नुभएको थियो ।

सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले पालिकाहरुले गरेको निर्णय कार्यान्वायनमा प्रशासनले समन्वय गर्ने बताउँदै घोराही र बंगलाचुलीलाई टिप्पर व्यवस्थापनसम्बन्धी सही निर्णय गर्न आग्रह गर्नुभयो । बंगलाचुली गाउँपालिका अध्यक्ष भक्तबहादुर ओलीले यो सडकको अधिकांश खण्ड घोराहीमा पर्ने भएकाले आफ्ना नागरिकको सुरक्षाका लागि घोराहीले पनि पहल गर्नुपर्ने बताउनुभयो ।

सडक डिभिजन कार्यालयका प्रतिनिधिले छक्के गाडीले दिनमा साढे १० टन सामग्री बोक्ने गरी दैनिक ७० वटासम्म गाडी चल्ने प्रबिधिबाट सडक कालोपत्रे भएकाले क्षमताभन्दा बढीका गाडी चलाउँदा कालोपत्रे काम नलाग्ने गरी बिग्रिएको बताउनुभयो । अब वैकल्पिक सडक र तत्कालका लागि टिप्परको समय, संख्या, गति र क्षमतामा ध्यान दिनुपर्ने उहाँले बताउनुभयो ।

कार्यक्रममा नेकपा माओवादी केन्द्र दाङका इञ्चार्ज जीवन गौतम, राजमोका अध्यक्ष गणेश आचार्य, नेकपाका प्रतिनिधि मोतीराम गौतम, जिल्ला समन्य समितिका उपप्रमुख श्रीधर पौडेल, नागरिक समाजका संयोजक केवी मसाल, उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष नरेश कार्की र चेम्बर अफ कमर्शका अध्यक्ष बलदेव योगीले वैकल्पिक सडक निर्माणमा जोड दिनुभएको थियो ।

कार्यक्रममा मधुसूदन भट्टराई, गुरुप्रसाद कँडेल, दिलिप पन्थी, शंकर गिरी, डोमाकान्त शर्मा, गायत्री थापा, जीवराज लम्साल, डण्डीराम पोख्रेल, बिष्णुप्रसाद पाण्डे, एपपी बुढा, शोभाराज बिकलगायतले सडक र नागरिकको सुरक्षाका लागि सबैसँग आग्रह गरेका थिए । कार्यक्रम सञ्चालन सरोकार समिति सचिव नरबहादुर अधिकारीले गर्नुभएको थियो ।

Facebook Comments