शुरामणि बेल्बासे
पुष्पलालको सामान्य जीवनी
नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिब कमरेड पुष्पलालको जन्म हालको रामेछाप जिल्ला भंगेरीमा १९८१ असार १५ गते माता तुल्सीमायां श्रेष्ठ र पिता भक्तलाल श्रेष्ठका माईला सन्ंतानका रुपमा भएको थियो । कमरेड पुष्पलाल नेपाली प्रजातान्त्रिक आन्दोलनका संस्थापक नेता एवं शहिद गंगालालका भाइ हुनुहुन्थ्यो । गंगालालको अगुवाईमा काठमाडौंमा महाविर पाठशालाको स्थापना भएको थियो ।
त्यसै पाठशालाबाट पुष्पलालले प्रारम्भिक शिक्षा प्राप्त गर्नुभएको थियो । पछि पाटन हाइ स्कूलबाट प्रवेशिका उत्तीर्ण गर्नुभएको थियो । पुष्पलालले उच्च शिक्षा भारतको बनारसबाट अध्ययन गर्नुभएको थियो । पुष्पलालले आइएसम्मको औपचारिक शिक्षा हासिल गर्न पाउनुभएको थियो । पुष्पलालको विवाह २०१० मा कमरेड साहना प्रधानसँग भएको थियो । कमरेड साहना पनि नेकपाको नेता हुनुहुन्थ्यो । पुष्पलालका एक छोरा र एक छोरी हुनुहुन्छ ।
पुष्पलालको राजनीतिक यात्रा
कमरेड पुष्पलालका ठूला दाई गंगालाललाई बि.स. १९९७ मा तत्कालीन राणा सरकारले काठमाडौंमा फाँसीको सजाय दिएर हत्या गरेको थियो । गंगालाल, धर्मभक्त माथेमा, शुक्रराज शास्त्री र दशरथ चन्द दुई जनालाई गोली हानेर र दुई जनालाई झुण्डाएर क्रुर तरिकाले हत्या गरिएको थियो । चारजना सपुतहरुको हत्याले नेपालमा राणा शासनका बिरुद्धमा अकल्पनीय रुपमा जनआक्रोश बढ्दै गयो । आफ्नो प्यारो दाईलाई झुण्डाएर मारेको देखेका पुष्पलालमा राणा शासनका बिरुद्धमा आफ्नो जीवनको अन्तिम साहस रहदासम्म पनि संघर्ष गर्ने अठोट उत्पन्न भयो ।
भनिन्छ, पुष्पलालले दाजुको चिताको अगाडि उभिएर राणा शासनको समासप्तका लागी कसम खानुभएको थियो । जसरी सोभियत समाजवादका पर्वतक कमरेड लेनिनका दाजु अलेकसान्द्रोभलाई सन् १८९७ मा जार शाहीले क्रूरतापूर्वक फाँसी दिएर हत्या गरेपछि जार शासनको समाप्तिको प्रण गरेर कमरेड लेनिन राजनीतिमा आउनुभएको थियो । ठीक त्यसैगरी कमरेड पुष्पलाल जीवनपर्यन्त संघर्षमा होमिनुभयो । कमरेड पुष्पलाललाई दाजुको हत्या गरिएपछि केही समय राणा सरकारले जेल हालेको थियो । जेलबाट निस्केपछि बिसं २००२ सालमा कमरेड पुष्पलाल घरबाट पनि भागेर पाल्पा–भैरहवातिर आई राणा शासनका बिरुद्धमा प्रचारको काममा लाग्नुभयो ।
भैरहवामा रहेका बेला मलेरिया लागेर बिरामी हुनुभयो । विरामी परेर सुतेको समयमा कोठामा खडकशमशेरको फोटा देख्ना साथ उठेर लात्ताले हानी फोर्नुभएको थियो । मलेरिया निको भएपछि कमरेड पुष्पलाल काठमाण्डौ फर्कनुभयो । त्यसैवर्ष कामरेड पुष्पलाल डिल्लीराज रेग्मीले नेतृत्व गरेको नेपाली राष्ट्रिय कांग्रेसमा लागि सकृय राजनीति गर्न लाग्नुभयो । पुष्पलाल नेपाली राष्ट्रिय कांग्रेसको बनारसस्थित कार्यलयमा सचिव भएर काम गर्न लाग्नुभयो ।
भारतमा स्वतन्त्रता संग्राम चलिरहेको थियो । उक्त संग्राममा नेपाली राष्ट्रिय कांग्रसले पनि सहभागिता जनाएको थियो । भारतीय नेताहरुसँग पनि पुष्पलाललगायतका नेपाली नेताहरुको सम्पर्क सम्बन्ध बनिरहेको थियो । खासगरी भारतीय समाजवादी दलका नेता जयप्रकाश नारायणन नेपाली राष्ट्रिय कांग्रसेका नेताहरुसँग नजिक थिए । नेपाली राष्ट्रिय कांग्रेसका प्राय सबै कार्यक्रममा उनी आउँथे । जयप्रकाश अली सामन्ती स्वभावका थिए । उनको व्यबहार कमरेड पुष्पलाललाई मन पर्दैन्थ्यो । केही समय नेपाली राष्ट्रिय कांग्रेसमा काम गर्दै जाँदा नेता डिल्लीरमण रेग्मीसँग पुष्पलालको बिवाद हुन लाग्यो ।
उता डिल्लीरमण रेग्मी र वी.पी कोइरालाका बीचमा पनि चरम बिवाद भइरहेको थियो । पुष्पलालले दुई नेताका बीचको बिबाद मिलाउन दबाब दिन केन्द्रिय कार्यालयमा अनसनसमेत बस्नु भएको थियो तर उनीरुका बिचको बिवाद झन चर्कदै गयो । कमरेड पुष्पलाल निराश भएर बनारसबाट कलकत्तातिर लाग्नुभयो । कमरेड पुष्पलाललाई नेताहरुको ब्यवहार, नेपाली राष्ट्रिय कांग्रेसको श्रमजीवी जनता प्रतिको उदासिनता र अर्कातिर अन्तराष्ट्रिय कम्युनिष्ट आन्दोलनको प्रभावले बिस्तारै कम्युनिष्ट आन्दोलनप्रति आकर्षित गरिरहेको थियो ।
कमरेड पुष्पलालबाट नेपाल कम्युनिष्ट पार्टीको स्थापना
बिसं २००४ सालमा कमरेड पुष्पलाल कलकत्ता जानुभयो । कलकत्तामा माक्र्सवादी साहित्यको अध्ययन गर्न लाग्नुभयो । बिसं २००५ मा कमरेड पुष्पलालले माक्र्स–एंगेल्सद्धारा प्रतिपादित कम्युष्निट घोषणापत्रलाई नेपालीमा उल्था गर्नुभयो । यी दिनहरुमा भारत प्रवासमा रहेका नेपाली युवा बिद्यार्थीहरुका बीच माक्र्सवादी अध्ययन मण्डलको स्थापना गरी कम्युनिष्ट आन्दोलन, नीति, सिद्धान्तका बारेमा समहगत अध्ययन शुरु गरिएको थियो । कमरेड पुष्पलाल, मनमोहन अधिकारी, डी.पी अधिकारी, केशरजंग रायमाझी, नरबहादुर कर्मचार्य, निरन्जन गोबिन्द बैद्य, नारायाण बिलाश जोशी लगायतका युवाहरु माक्र्सवादी सिद्धान्तको अध्ययनमा लागेका थिए ।
कमरेड पुष्पलालले विश्व कम्युनिष्ट घोषणापत्र नेपालीमा अनुबाद गरेपछि नेपाल कम्युनिष्ट पार्टीको स्थापना गर्नका लागी आवश्यक सल्लाह गरिरहनुभएको थियो । भारतीय कम्युनिष्ट पार्टीका नेता नृपेन्द्र चक्रवर्तीसँगको अन्तिम सल्लाहपछि उहाँकै प्रेरणामा नेपाल कम्युनिष्ट पार्टीको स्थापना बिसं २००६ बैशाख १० अर्थात २२ अप्रेल १९४९ का दिन लेनिन जयन्तिको अबसरमा गरिएको थियो । नेपाल कम्युनिष्ट पार्टीको स्थापना गर्दा पर्चा छाप्नका लागि भारतीय कम्युनिष्ट पार्टीका नेता नृपेन्द्र चक्रवर्तीसँग आर्थिक सहयोग माग्दा उनले भनेका थिए looks here Puspa the few thausand of rupess is nothing for us if we give you we do not take it back, one think remember if the nepales people can not mantain your party that is unless to communist party in Nepal.
कमरेड पुष्पलालको मुख्य अगुवाईमा अन्य चारजना नरबहादुर कर्मचार्य, निरन्जन गोबिन्द बैद्य, नारायण बिलाश जोशी र मोतिदेबीको सहभगीतामा कलकत्तााको नविन सरकारलेन स्थित एक जना बंगालीको घरमा नेकपाको स्थापना गरियो ।
कमरेड पुष्पलालको वैचारिक योगदान
कमरेड पुष्पलाल नेपाली कम्युनिष्ट आन्दोलनका एक जना सिद्धान्तकार हुनुहुन्थ्यो । कमरेड पुष्पलालले नै विश्व प्रसिद्ध कम्युनिष्ट घोषणापत्रको पहिलोपटक नेपालीमा अनुबाद गर्नुभएको थियो । त्यसैको आधरमा नेपाल कम्युनिष्ट पार्टीको पहिलो घोषणापत्र पनि स्ने १९४९ सेप्टेम्बर १५ मा कमरेड पुष्पलालले नै लेख्नुभएको थियो । पहिलो घोषण पत्र नेपाली कम्यनिष्ट आनदोलनको महत्वपूर्ण आधार पत्रका रुपमा लिइन्छ । जसमा किसान मजदुर र श्रमजीवी वर्गका जनतामाथि भइरहेका सबै खालका शोषमूलक भेदभावको अन्त्य गरी साँचो अर्थमा लोकतन्त्रको स्थापना गर्ने उद्देश्य किटान गरी त्यसको प्राप्तिका लागी जनसमुदायमा आव्हान गरिएको छ ।
घोषणा पत्रको शुरुमा भनिएको छ– ‘पहाड पर्वत खोला नाला जग्गा जमिन सबका, मालिक हामी दास बनौ किन हिस्सा सबमा सबका ।’ यो घोषणापत्र नेपाली कम्युनिष्ट आन्दोलनको पहिलो आधारपत्र हो । यसमा स्पष्टरुपमा नेपाल कम्युनिष्ट पार्टीको लक्ष्य किटान गरिएको छ । साथै नेपाली समाजको पहिलोपटक सामाजिक चरित्र– अर्ध सामन्ती, अर्ध औपनिवेशिक भएको स्पष्ट गर्दै भनिएको छ– ‘ वर्तमान सामन्तवादी प्रथा र नेपालमा फैलिएको साम्राज्यवादी तथा पूँजीवादी शोषणको जुवालाई सफाचट गर्ने बाटो, हामीले विश्व प्रजातन्त्रीय गुटहरुसँग काँधमा काँध मिलाएर अगाडि बढ्नुपर्छ । अनि मात्र हामी मजदुर वर्गको नेनृत्वमा पसिना चुहाउने जनताको प्रजातन्त्रीय राष्ट्र खडा गर्न सक्नेछौं । राष्ट्रको शासन ब्यबस्थामा देशको धन जनको मालिक जनता हुनेछन् ।
जनताकै हितको निम्ति सरकारले यस्ता धनजनको उपयोग गर्ने छ । अतः नेपाली जनताले आखिरी साहससम्म जनताको जनतन्त्र र समाजबादको निम्ति लडनुपर्छ । विजयी समाजवादको जमिन समाजवादी सोभियत प्रजातन्त्र संघ, पुर्वी यूरोपका नव प्रजातन्त्रहरु, नयाँ चीन, उत्तर कोरीया र उपनिवेशहरुका दिन प्रतिदिन बिकसित आन्दोलनहरुका अनुभवहरुले विश्वका जहाँतहाँका शोसितपीडित जनतालाई उनीहरुको आन्दोलनमा जसरी दिन दिनै उत्साहित गराएको छ, उसरी नै नेपाली जनतालाई पनि आफ्नो महान आन्दोलनको उत्साहित गराएको छ ।’
कमरेड पुष्पलालले नेपालको कम्युनिष्ट आन्दोलनमा बिचार निर्माणमा सबैभन्दा महत्वपूर्ण योगदान दिनुभएको छ । कमरेड पुष्पलालले नै नेपालमा कम्युनिष्ट आन्दोलनको प्रारम्भ गर्नुभयो । बिसं २००६ सालदेखि २०३५ साउन ७ सम्म नेपाल कम्युनिष्ट पार्टीको आन्दोलनको अगुवाइ गरिरहनु भयो । करीव २९ वर्षको लामो राजनीतिक जीवन यात्रामा अत्यन्तै दूरदर्शी बिचारहरु अगाडी सार्नुभयो । खासगरी कम्युनिष्ट पार्टीको रणनीतिअनुसारको कार्यनीति निर्माणमा कमरेड पुष्पलालको अद्धितीय योेगदान छ । नेपालमा सामन्ती शासन अन्त्य गरी जनवाद, समाजवादहुंदै साम्यवादमा पुग्ने स्पष्ट सिद्धान्त कमरेड पुष्पलालले अघि सार्नुभएको हो ।
मुख्य शत्रुका बिरुद्धमा गौण शत्रुहरुलाई पनि साथमा लिएर अगाडि बढ्नुपर्ने सिद्धान्त अगाडि सार्दा तत्कालीन परिस्थतिमा उग्रबामपन्थी कोणबाट निकै धेरै प्रहार भएको थियो । तत्कालिन नेकपा चौमका तर्फबाट गद्धार पुष्पलाल भनेर घोषणा गरिएको थियो । यद्यपि पछि त्यो निर्णय गलत थियो भनेर गद्धार घोषणा गर्ने पार्टी र नेताले आत्माालोचना गरिसकेका छन् । कमरेड पुष्पलाललाई दक्षिणपन्थी कोणबाट पनि जीवनभर आक्रमण भइरह्यो । भारत प्रवासमा बसेर पार्टी काम गर्दा नेपालको सामन्ती शासनले त पूरै वारेन्टेड गरेकै थियो । भारतीय सासकहरुले पनि वारेन्टेड गरेका थिए ।
कमरेड पुष्पलाल सधैभरि लेनिवादी संगठन पद्धतीलाई कडाईका साथ पालन गर्नुपर्नेमा जोड दिनुहुन्थ्यो । हरेक निर्णयहरु गर्दा जनबादी केन्द्रियताका आधारमा गर्ने अर्थात घुँडा धसेर छलफल गर्ने तर निर्णय भएपछि त्यसलाई कडाइका साथ आत्मसाथ गर्नेमा जोड दिनुहुुन्थ्यो । नेपालको कम्युनिष्ट आन्दोलनको स्थापना गरेपछि त्यसलाई बिकाश गर्न र लक्षमा पुग्नका लागी कमरेड पुष्पलालले ‘३ स’ नीति सार्नुभएको थियो । सिद्धान्त, संगठन र संघर्ष यी तीन महत्वपूर्ण नीतिका आधारमा कम्युनिष्ट आन्दोलनलाई अगाडि बडाउनुपर्नेमा कमरेड पुष्पलालको जोड थियो ।
कमरेड पुष्पलालले कम्युनिष्ट पार्टीमा नेता प्रदान नभई नीति प्रदान हुनुपर्नेमा जोड दिनुभएको थियो । कम्युनिष्ट पार्टीलाई साँचो अर्थमा द्धन्द्धात्मक भौतिकवादी रुपमा अगाडि बडाउन र कार्लमाक्सले प्रतिपादन गरेको सिद्धान्तका आधारमा अगाडि बडाउन दत्तचित्त भई जीवन पर्यन्त अगाडि बढिरहनुभएको थियो । नेपालको कम्युनिष्ट आन्दोलनलाई लोकतान्त्रिकरण गर्दै साँचो अर्थमा जनताको जीवनसँग गाँसेर लक्ष्यउन्मुख बनाउनमा कमरेड पुष्पलालको महत्वपूर्ण योगदान छ । कमरेड पुष्पलाललाई नेपाली कम्युष्निट आन्दोलनको इतिहांसबाट अलग राख्दा कम्युष्निट आन्दोलनको परिकल्पना नै गर्न सकिंदैन ।
कमरेड पुष्पलालः कम्युनिष्ट आन्दोलनमा त्याग र समर्पणको प्रयाय
जसरी कमरेड पुष्पलालले निकै ठूलो कष्ट भोगी कम्युनिष्ट आन्दोलनको स्थापना गर्नुभयो, त्यसको बिकास गरी जनता र राष्ट्रको मुक्तिका निम्ति नेपालको बिशिष्ठतामा आधारितसहि नीती, विचार र सिद्धान्तको प्रतिपादन गर्नुभयो, त्यसैगरी आफ्नो जीवनमा जतिसुकै आँधीहुरी आए पनि कहिल्यै शत्रुसँग आत्मसमर्पण गर्नु भएन । राष्ट्र र जनताका शत्रुसँग सधैभरि संघर्ष गर्नुभयो ।
जसरी कार्ल माक्सले आफ्नो जीवनमा जनताको मुक्ति सिवाय अरु सोच्नु भएन, आफ्ना प्यारा नानीबाबुले खान र आषधि नपाई मृत्यु हुँदा, कात्रो किन्ने पैसा नहुने स्थिति आउँदासमेत पनि आफ्नो पारिबारिक एवं व्यक्तिगत जीवनभन्दा जनताको मुक्ति र समृद्धिलाई प्यारो ठानी जीवनभर सिद्धान्त निर्माण र कम्युनिष्ट आन्दोलनको बिकासमा लाग्नुभयो । त्यसैगरी कमरेड पुष्पलालले पनि आफ्नो जीवनमा भोकैप्यासै र बिरामी पर्दासमेत पनि जनताको मुक्ति सिवाय अरु सोंच्नु भएन ।
भनिन्छ, कमरेड पुष्पलालले धेरैजसो समय मीठो र पेटभरि खान पाउनुभएन । गम्भीर बिरामी परेर जीवन र मृत्युको दोसाँधमा हुँदा २०३५ साल असारको अन्तिमतिर भारतका तत्कालीनशासक चन्द्रशेखर (जो पछि प्रधानमन्त्री पनि भएका थिए)ले पुष्पलालको उपचारमा सहयोग गर्छु, सबै खर्च मैले दिन्छु भन्दा पुष्पलालले उक्त सहयोगलाई अस्वीकार गर्नुभयो । उनको सहयोगमा बाँच्नुभन्दा मृत्युबरण नै प्यारो मान्नु भयो ।
अन्त्यमा, कमरेड पुष्पलाल नेपालको कम्युनिष्ट आन्दोलनका मुख्य संस्थापक, सिद्धान्तकार, त्याग र समर्पणका प्रतिमूर्ति हुनुहुन्थ्यो । जीवनमा कम्जोरी नहुने मानव नै हुंदैन, त्यसकारण कमरेड पुष्पलालमा कुनै कमजोरी नै थिएनन् भनेर देवत्वकरण गर्नु स्वयं कमरेड पुष्पलालको जीवनको अवमूल्यंकन हुन्छ । सामान्य कमजोरी थिए । कम्युनिष्ट पार्टी स्थापना गर्नुभयो । सिद्धान्त निर्माण गर्नुभयो । जीवनभर पार्टीका निम्ति त्याग र समर्पण गरिरहनुभयो । नेतृत्व दिने र नयाँ नेतृत्वको बिकास गर्ने काममा सामान्य कमजोरी भएका देखिन्छन् । कमरेड मदन भण्डारी, जीवराज आश्रित, मोदनाथ प्रश्रितजस्ता युवा नेताहरु समेत पुष्पलालको नेतृत्वमा अन्तिमसम्म संगै रहने स्थिति हुन नसक्नु सायद केही कमजोरीका कारण हुनसक्छ ।
जेहोस हामी कम्युनिष्ट द्धन्द्धात्मक भौतिकवादी हौं । त्यसकारण हरेक मानिस, वस्तु, समाजलाई सापेक्षतामा बुझ्नुपर्छ । कमरेड पुष्पलाल नेपाली कम्युनिष्ट आन्दोलनका मुख्य आधार हो, जसको अभावमा कम्युनिष्ट आन्दोलनको कल्पना गर्न सकिंदैन । ३८ औं पुष्पलाल स्मृति दिवसका सन्दर्भमा कमरेड पुष्पलालबाट सिद्धान्त निष्ठताको प्रेरणा प्राप्त गर्न सकौं । हार्दिक श्रदान्जली !
(लेखक कम्युनिष्ट आन्दोलनका अध्येता एवं नेकपा एमाले दाङका उपसचिव हुनुहुुन्छ)
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।