लुम्बिनी प्रदेशका एमालेतर्फका प्रदेश सभा सदस्य अमरबहादुर डाँगी क्षेत्रीले पदबाट राजीनामा दिनुभएको छ । उहाँ दाङको निर्वाचन क्षेत्र नम्बर २ (२) बाट निर्वाचित हुनुभएको हो ।
डाँगीले बुधबार प्रदेश सभा सचिवालयमा राजीनामा पत्र दर्ता गराएको प्रदेशसभाका सचिव दुर्लभकुमार पुन मगरले बताउनुभयो । उहाँले हालको राजनीतिक अवस्था देखेर राजीनामा दिएको पत्रमा उल्लेख गर्नुभएको छ ।
डाँगीलाई आफ्नो पार्टीमा स्वागत गरिने माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्तीमगरले बताउनुभयो । यसअघि एमालेका प्रदेश सभा सदस्य कपिलवस्तुका दृगनारायण पाण्डेले राजीनामा दिएर कांग्रेसमा प्रवेश गर्नुभएको थियो भने नेकपाबाट उपचुनाव लडेकी सांसद विमला कुमारी खत्रीले माओवादी केन्द्र रोजिसक्नुभएको छ ।

योसँगै एमालेका तीन प्रदेश सांसद घटेका छन् भने मुख्यमन्त्री शंकर पोख्रेलकै जिल्लाबाट एमालेका दुई सांसद घटेका छन् । अब एमालेका प्रदेश सभा सदस्य घटेर ३८ जना मात्रै भएका छन् । मुख्यमनत्री पोख्रेल स्पष्ट अल्पमतमा परेपछि अब प्रदेश सरकारमा फेरि संकट आउने देखिएको छ । सत्ता पक्ष नै अल्पमतमा परेपछि नीति तथा कार्यक्रमदेखि बजेट पारित गर्नेसम्मका काममा समस्या आउने छ ।
अब ८७ सदस्यीय प्रदेशसभा ७९ मा झरेको छ । जसमा २ जनाको स्वेच्छिक राजीनामा भएको छ भने माओवादी केन्द्रका २ र जसपाका ४ सदस्य निष्कासनमा परेका छन् ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।
