गोविन्द खड्का
नमस्कार लोकराज आचार्य सर, यहाँलाई म यसैमार्फत हृदयदेखि सम्मान एवं प्रणाम गर्छु । आशिर्वाद एवं सल्लाह सुझावको लागि म सही पात्र बनुँ भन्ने आशा गर्छु । यहाँहरुका खारिएका विचार एवं व्यवहारले पुष्टि गरेका सिद्धान्त जरुरत छ ।
यहाँले मलाई निकै लामो पत्र लेख्नुभएको छ । कहाँबाट र केबाट शुरु गरु भन्नुभएको छ, म झनै अलमल छु । सुस्वास्थ्य एवं दिर्घायूको कामना गर्दछु । यो खबर बेडसम्मै पुगोस भन्न चाहन्छु । भौतिक रुपमा चिनाजान छ तर हजुरको पत्र पाएपछि आन्तरिक रुपमा केही बुझ्ने मौका पाएँ । यहाँलाई जनयोद्धाको परिवार भनेर बुझ्थे । अब क्रान्तिको योद्धा भनेर चिन्ने छु ।
पञ्चायत शुरु हुनुपुर्व जन्मिनुभयो । त्यसबेला तमसुक राजिनामा लेख्दा थुम भितृकोट मौजा, खैरा र गाउँ तिग्राा प्युठान भनेर लेखिदो रहेछ । मैले अध्ययन गरेका पुस्तकको सहाराले भन्नुपर्दा त्यसबखत पढेलेखेका मानिस निकै कम थिए । पञ्चायतपछि रम्दि गाविस भयो । अहिले गणतन्त्र आएपछि मान्डवी गाउँपालिका बन्यो । सायद नामसँगै अरु क्षेत्रमा प्रगति भएको छ । परिवर्तन गरेको छ । त्यसको जगहाल्ने यहाँ र यहाँ जस्तै शिक्षक हुनुहुन्छ ।
गत ११ वर्षदेखि घोराही उपमहानगरपालिका १५ भरतपुर वस्दै आउनुभएको रहेछ । जन्ममिति २००३ माघ १६ गते हो । त्यस हिसावले अहिले ७५ वर्षको उमेर पार गर्दैहुनुहुन्छ । त्यसैगरीे २०२३ मा माबि रातामाटा प्यूठानबाट एसएलसि पास गर्नुभयो । त्यो समय भनेको म जन्मिनु भन्दा १३ बर्ष अघि हो । त्यसैवखत यहाँ यो देशको बौद्धिक वर्ग हुनुहुन्थ्यो ।
त्यसभन्दा अघि जाँदा २०१५ सालको आम चुनावमा बाल कम्युनिष्टमा कमिटेड भएर कम्युनिष्टलाई मत दिनुभयो । त्यसबेला ‘हँसिया हाम्रो हतियार हो, मकै हाम्रो आहार’ हो भन्ने मान्यता रहेछ । चुनाव चिन्ह त्यही थियो । यहाँकै जीवनकालमा दुइतिहाइ नजिकको कम्युनिष्ट सरकार भोग्न पाउनुभयो । त्यसबेलाको कम्युनिष्ट आदर्श र अहिलेको विकसित परिस्थिति मिहिन ढंगले हेर्नुभएको होला । यहाँ जस्ता बौद्धिक वर्गसँग बसेर भलाकुसारी गर्न नसक्ने हाम्रो ठूलो कमजोरी हो । इतिहासबाट सिक्नु जरुरी छ । यसतिर ध्यान दिन नसकेकोप्रति यहाँ समक्ष क्षमा चाहन्छु ।
त्यसवेलाको चुनाव प्रचार र अहिलेकोमा अन्तर खोज्न यहाँहरुमै पुग्नुपर्छ । हामी त्यति चासो दिएर गहिरो ढंगले बुझ्दैनौँ । लगतै २०१७ सालमा राजा महेन्द्रले कु गरेर सत्ता उल्ट्याए । नेपाली कांग्रेस नेतृत्वको निर्वाचित सरकार अपदस्थ भयो । पञ्चायती व्यवस्था लादियो । सबै राजनीतिक दलहरु भूमिगत भए । यहाँले भूमिगत शैलीमा पार्टीको काम गर्नुभएको रहेछ । त्यसवेला बिद्यार्थी सङ्गठनमा रहेर काम गर्नुभयो । एसएलसी सकिएको भोलिपल्ट शिक्षण पेशा अंगाल्नुभयो ।
łदश चार समय स्कूल जाने बाँकी समय संगठन । पर्चा पम्प्लेट भन्या छ हिड्या छ । रात भन्नु छैन । झरी भन्या छैन । यसरी नै जिन्दगि चल्थ्यो’– कति सरल र ऐतिहासिक छन् यहाँका शब्द । वाह् कति लगानी रहेछ, यो देशमा राजनीतक परिवर्तन ल्याउन ? यसरी ल्याएको अहिलेको कम्युनिष्ट व्यवस्थाले कतिको सन्तुष्टि दिएको छ खै ? त्यसबेलाका सपना कति पूरा भए ? कति अधुरा छन् ? यो सवाल यहाँले नै बुझ्नुभएको होला ।
अब भने यहाँकै पत्र उल्लेख गर्न चाहन्छु– ‘एक दुइ वर्ष पढायो, अर्को ठाउँ स¥यो गरेर निमावि शिक्षकको जागिरे जीवन २०२६ सालतिर विताउनुभयो । नोकरी अवधि धेरै होला, पेन्सन जोडिएला भन्ने थिएन । यसको मतलव गुरुहरु अपमानित हुनुहुन्थ्यो । बल्ल २०३२ सालमा नयाँ शिक्षा लागु भयो । त्यसले प्राविमा शतप्रतिशत, निमाविमा ७५ प्रतिशत र माविमा ५० प्रतिशत सरकारको दायित्व हुने व्यवस्था भयो । अलिक राहत मिल्यो । शिक्षकाका समस्या सम्वोधन गर्न भने सकिन । तपाईका अनुसार २०३६÷२०३७ सालमा ५२ दिने शिक्षक आन्दोलन भयो । त्यसले केहि राहत दियो तर अरु कर्मचारी सरह सुविधा दिएन । फेरी पनि शिक्षकलाई तल्लो दर्जामै राख्योे ।’
माओवादीले २०५२ सालमा जनयुद्ध शुरु ग¥यो । छोराहरु कोही जेल, त कोही भूमिगत हुनुभयो । यहाँले छोराको नाम र कुन भुमिगत कुन जेल भनेर लेख्नुभएको रहेनछ । जनयुद्धकालदेखि अहिलेसम्म दाङ जिल्लाको नेतृत्वमा रहनुभएका निर्मल आचार्य र विश्वराज आचार्य दुबैले जेल र भूमिगत जीवन बिताउनुभएको छ । जनयुद्धले परिवार पनि छिन्नभिन्न भयो । घरमा असहज वातावरण सिर्जना गरायो । यहाँले २०५७ साल मंसिर १ गतेदेखि लागुहुनेगरी शिक्षकबाट राजीनामा दिएर घर बस्नुभयो । जनयुद्धअघि बढिरह्यो । भूमिगत छोराहरुका रिसले २०५८ साल पुष २७ गते यहाँमाथि बुट र लाठी वर्षिए । मंसिर ८ गते घोराही आक्रमणका रिस पोख्दै कुट्दाकुट्दा मर्यो भनेर छोडेका थिए । ब्यूझदा ढाडमा बढि चोट परेको रहेछ । कहिल्यै निको नहुने गरी भाँचिएको ढाड अहिलेसम्म दुखिरहन्छ ।
सरकारमा नजाँदासम्म मास्टरको खुब गुणगान गाइन्छ, उक्साइन्छ । मानिसहरुलाई विचारमा सहमत गराउन प्रशिक्षक बनाइन्छ । त्यसभन्दा अझ बढी तलवबाट मासिक लेबि तिर्ने मास्टर, सङ्गठन बिस्तार गर्ने मास्टर । किसान मजदूरबाट त्यति रकम उठाउन सम्भव हुँदैन । तिनै कम्युनिष्टहरु जब सत्तामा पुगे मस्टरलाइ हेर्ने दृष्टिकोण सँझै विभेदकारी रह्यो । हाम्रो राजनीति फलाउने फुलाउने र जनतामा विकास गराउने यिनै हुन् भन्ने बिर्सिए ।
तपाईले अझै असन्तुष्टि पोख्दै भन्नुभएको रहेछ, łखै के भन्ने र हामी नै उस्तै । बिग्रेको अन्डाबाट चल्ला निस्किन्छ कि भनेर कुरेर बस्ने महामूर्ख ।’ तपाईले कम्युनिष्ट विचार र दर्शको कुरा व्यवहारमा यसरी जोड्नुभयो । łपशुपतिमा एक सय पाँच क्विन्टल सुन लगानी गर्ने तर माक्र्सवादले धर्मलाई अफिम भन्छ भनेर प्रशिक्षण दिने । सत्ता टिकिरहोस् भनेर कालो बोकाको बलि पनि चढाउने ।’ तपाईले पत्रमा भन्नुभएको छ– ‘यस्तालाई कम्युनिष्ट काम्रेड मान्ने हामी जनतालई धिक्कार छ ।’
यहाँको यो विचार सम्वन्धित व्यक्तिको कानमा पुगोस् आशा गर्दछु । यहाँले आफूलाई पनि खाँटी कम्युनिष्ट र निश्वार्र्थी होइन भन्नुभएको छ । असाध्यै चित्त बुझ्ने समिक्षा गर्नुभयो । निस्वार्थी मानिस पाउनु दुर्लभ छ । łमैले पनि केही पाउछु कि भनेर तपाइसङ्ग यी गुनासाहरू ब्यक्त गरिराख्या छु । त्यो के भने म लगायत मेरा वरिपरि सेवानिवृत्त शिक्षकहरु छौ । निवृत्त भएको २० बर्ष भयो पेन्शन पट्टा सकिएका छन । सम्बन्धित कार्यालयमा बुझ्दा तपाइँ शिक्षकहुनु हुँदोरहेछ । तपाइहरूले यहाँबाट पाउनुहुन्न । काठमाडौ शिक्षक किताब खानामा मात्रै पाउनुहुन्छ भन्ने जवाफ पाइन्छ ।’
यसरी विभेद अझै रहेछ । असाध्यै चित्त दुःख्यो, शिक्षकलाई यो देशका राष्ट्रसेवक कर्मचारी सरह कहिले बनाउने र कसले बनाउने ? आफैलाई सोधें । शिक्षक बनेरै मन्त्री प्रधानमन्त्री भएका छन् । गाउँमा कम्यूनिष्ट फैलाउने र राजनीतिक चेत दिलाउने पनि शिक्षक हुन् । ती कर्मचारी उबाज्ने पनि शिक्षक हुन् । सबैका गुरु शिक्षकहरु नै हुन् । यदि शिक्षकहरु हुन्नथे भने राजनीति, आन्दोलन र युद्ध सफल हुँदैन्थ्यो भन्ने सबैलाई थाहा छ ।
यतिवेला अरु मानिस सरह निवृत्त शिक्षकहरु कोही सुगरबाट पीडित छन । कोही पिसाब रोगबाट पीडित छन । कोहि ढाड दुख्ने समस्याबाट पीडित छन । पानी नपिउदा अर्कै समस्या हुन्छ भने पानी पिउँदा आधाआधा घण्टामा पिसाब लाग्छ । यात्रा गर्दा चालकलाई रोक्न भन्यो उल्टो गाली गर्छ । पेसेन्जरले कतिपटक रोक्न पठाएको ढिलो भयो भनेर झर्किन्छन् । यही पट्टा बन्ने भए त्यति टाढा यत्रो कष्ट सहेर जानुपर्ने थिएन । असमानता छ । शिक्षकलाई अन्याय गरिन्छ । र, शिक्षक भएकैले अरु कर्मचारीभन्दा बढी विभेद सहनुपर्छ । यो दुःखबाट मुक्तिपाउन यहाँलाई जिल्लाबाट अथवा प्रदेशबाट दिने व्यवस्था होस् भन्ने आशा छ । म पनि यसै लेखमार्फत स्थानीय तह र प्रदेश सरकारलाई समस्या बुझिदिन खवरदारी गर्दछु ।
यहाँले भन्नुभएको छ– ‘म युगबोध को नियमित पाठक हुँ । कहिलेकाही गोबिन्दलाइ पढन पाइन भने बिहिबार नारायण गुरूलाइ पढन पाएन भने शुक्रबार जीतबहादुर शाहलाइ पढ्न पाएन भने र बुधबार नारायण पौडेललाइ पढ्नपाइन भने अलिनो लाग्छ । म साहित्यकार पनि होइन, लेखक पनि होइन । नेता त झन हुदै होइन । त्यसैले तपाइसँग गुनासो पोखेको मात्र हुँ ।’
यो आलेख प्राप्त गर्नुभएपश्चात बाँकि सवालहरु पठाउन अनुरोध गर्छु । अरु निवृत्त शिक्षक कर्मचारी एवं अनुभवी मानव श्रोतलाई पनि आफ्ना अनुभूति व्यक्त गर्न आग्रह गर्दछु । यहाँहरुलाई उचित सम्मान गर्न सँधै पर्यत्नरत रहनेछु ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।