भुवन के सी
दशै, तिहार जस्ता महान चाडपर्वहरु नजिकिदै गर्दा केही मान्छेहरु भने रोजगारीको खोजीमा धमाधम भारत जान थालेका छन् । गएको बर्षहरुमा यो समयमा रोजगारी गरेर घरगाउँ भित्रिने ती मान्छेहरु यो बर्ष भने कोरोना महामारीका कारण निकै अप्ठ्यारो परेको भन्दै रोजगारको खोजीमा भारत जान लागेका छन् । कोरोना महामारीले ज्याला मजदूरी गरिखाने वर्गलाई निकै अप्ठ्यारो पारेको छ । संक्रमण दिन प्रतिदिन बढदै गइरहेको छ ।
यस्तो अवस्थामा पनि रोजगारीको लागि भारत जानुपर्ने बाध्य भएको छ । भारतमा झन् संक्रमणको दर उच्च रहेको छ तर नेपालीहरु भारत नगए घरमा चुलो बल्दैन । भारत नजाँदा छाक टार्न निकै गार्हो छ । अनि उनीहरु लाम लागेर भारत पसिरहेका छन् नेपालीहरु ।
यो बर्ष झन बारीमा लगाएको बालिनाली पनि प्राकृति प्रकोपको मारमा परेको छ । पहाडतिर कतै पहिरोले फालेको छ त कतै हावा हुरीले ढालेको छ । कतै जंगली जनावरले सखाप पारेका छन्, बाँकी पनि राम्ररी फलन । बालीनाली चौपट भएपछि गाउँघरमा कुनै रोजगारका अवसर छैनन् । कोरोना संक्रमण घट्छ कि भनेर घरगाउमै बसेको पनि अब सात आठ महिना भयो । संक्रमण घटेन बरु भएको जति आम्दानी सकियो । अब महामारी रोगको होइन, यसरी घरगाउँमै बसिरहने हो भने भोकको हुने खतरा बढेको छ ।
्त्यसैले गाउँमा दशै हैन दशा आएको छ। समयमै कामको खोजीमा बाहिरिनु उत्तम हुन्छ। बालबच्चा र बुढा बा आमालाई घरमा एक छाक टार्न कठिन छ । न स्थानीय सरकारले कुनै उत्पादन बढाउने र रोजगारी दिने कार्यक्रम ल्याउँछ, न प्रदेश र संघीय सरकारको चासो । गाउँघरमा ज्याला, मजदूरी गर्ने पनि कुनै कामकाज पाइदैन । भएको अलिअलि विकास निर्माणको बजेट पहुँचवालाका डोजर नाँचेरै सकिन्छ, गाउँका जनता हेरेको हेर्यै ।
यसरी मान्छेहरु कामको खोजीमा बाहिरिंदा फेरि गाउँहरु सुनसान हुन थालेका छन् । खान नपुग्ने भए पनि, बिग्रेकै भए पनि बालीनाली स्याहार्नैपर्यो । त्यो सिजन फेरि शुरु भएको छ। जोत्ने खन्ने यो समय युवाहरुको घरगाउमा नै खाचो हुन्छ तर केही कोरोनाकै कारण भारतमै रहेको र केही फेरि भारत फर्केकाले हलोकिलो काम बुढा बाआमाकै काँधमा थपिएको छ ।
राज्यलाई गाली गरेर मात्र के गर्नु, हाम्रै पनि सिर्जनशील सोंचको फिटिक्कै विकास हुन सकेन । कतिपयलाई त यहाँ उमेर नपुगी बिहे गर्ने बालबिवाह, पढाइलेखाइतिर कम चासो, परम्परागत कृषि प्रणाली, धार्मिक अन्धविश्वास, सीपपमूलक तालिम तथा रोजगारी विकासको अभाव , तीब्र जनसंख्या बद्धि, राजनीतिक अस्थिरता आदिले पनि बिगारेकै छ ।
अब हामीले यो बुझ्न र बुझाउन जरुरी छ कि सरकारलाई जनपक्षीय बनाऔं र हामी जनता पनि सिर्जनशील बनौं । कृषिप्रधान देश नेपालमा कृषिमा आधुनिकीकरण गर्नुछ । भ्रष्टाचारीहरुको जरा उखेल्नु पर्छ । बालबिवाह रोक्नुपर्छ । धार्मिक अन्धविश्व तोड्नुपर्छ । सीपमूलक तालिमको विकास गर्नुपर्छ । युवा नेतृत्वमा पुग्नुपर्छ । नेपालमै रोजगारीका अवसरहरुको खोजी गर्नसक्ने खालका दक्ष जनशक्ति उत्पादन गर्नुपर्छ । गाउँघरमा बसेका पढाइलेखाईको महत्व नबुझेका बुढापाका बुवा आमालाई महत्त्व बुझाउनु छ ।
सरकारी तथा संघसंस्थामा कर्मचारी भर्ना छनोट गर्दा हुने नातावाद, कृपावादको सार्थक बिरोध गर्नुपर्छ । जनशक्ति र प्रबिधि विकासमा जोड दिनुपर्छ । त्यसपछि बिस्तारै बिस्तारै बिरोजगारी कम हुँदै जाने छ र गाउँका मुहार फेर्दै लैजान सकिने छ । मैले कति पढें वा मैले के जागीर पाएँ भनेर होइन, म बसेको समुदायका मानिसहरुले कति पढे र उनीहरुले उत्पादन र अवसरमा कत्तिको प्रगति गरे भनेर हेर्नुपर्छ अब । एउटा व्यक्ति वा परिवारको भोटो फेरेर मात्र केही हुनेवाला छैन । यहाँ भोटो होइन खोट नै बदल्नुपर्ने भएको छ । गरीब हुनु, भारत जानु, अर्को गुलाम बन्नु हाम्रो नियति होइन, यो त सयौं बर्षसम्म राज्यले अबलम्बन गरेको नियतको परिणाम हो ।
ब्यवस्था बदलिएको छ, गणतन्त्र आएको छ, गाउँगाउँमा सिंहदरवार आएका छन् तर ती सिंहदरवारमा पुरानै सोंच भएका नातागोतालाई विश्वास गर्ने प्रतिनिधि र भ्रष्ट कर्मचारीबाट मात्रै परिवर्तनको अनुभूति हुने देखिएन । अब कम्तीमा सचेत युवाहरु भोटर मात्र होइन, राज्यका हिस्सेदार बन्नुपर्छ । राज्यले चलाउँदा चल्ने मात्र होइन, राज्य चलाउने क्षमतामा पुग्नुपर्छ । त्यसका लागि निरन्तर आफूलाई इमान्दार र नैतिक बनाउँदै ज्ञान, सीप र दक्षता हासिल गर्दै जाँदा निश्चय नै हाम्रा गाउँहरुमाथि मडारिएको कालो बादल फाट्ने छ । ब्यवस्था बदलिएर मात्र नहुँदो रहेछ, अब अवस्था बदल्न लागौं ।
गंगादेब गाउँपालिका ६ राँक रोल्पा
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।