कमिरेचौर । दाङको बंगलाचुली गाउँपालिका–३ स्थित आधारभूत विद्यालय दाङवाङले आफ्नो ४७औँ वार्षिकोत्सव विभिन्न शैक्षिक तथा सांस्कृतिक कार्यक्रम गरी मनाएको छ । विद्यालयले आज विद्यालय परिसरमा विशेष समारोह आयोजना गरी वार्षिकोत्सव मनाएको हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लोकबहादुर खत्रीको अध्यक्षता तथा बंगलाचुली गाउँपालिकाका प्रवक्ता शोभाराज विश्वकर्माको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वक्ताहरूले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्दै शिक्षालाई व्यावहारिक र जीवनोपयोगी बनाउनुपर्नेमा जोड दिएका छन् ।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि विश्वकर्माले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि स्थानीय सरकारले निरन्तर लगानी र प्रयास गर्दै आएको बताउनुभयो । उहाँले विद्यालयको समग्र विकास र शैक्षिक उन्नयनका लागि शिक्षक, अभिभावक, विद्यालय व्यवस्थापन समिति र स्थानीय सरकारबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो ।पछिल्लो समय विद्यालय क्षेत्रमा समेत राजनीतिक प्रभाव बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै उहाँले शिक्षा प्रदान गर्ने पवित्र संस्थालाई राजनीतिकरणबाट मुक्त राख्नुपर्ने बताउनुभयो । विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्रका रूपमा विकास गर्न सबै पक्ष जिम्मेवार भएर लाग्नुपर्ने उहाँको भनाइ थियो ।

त्यस्तै, विशिष्ट अतिथि ‘बंगलाचुली बनाऔँ अभियान’का संयोजक सुशील परियारले शिक्षालाई प्रविधि र उत्पादनसँग जोडेर अघि बढाउनुपर्ने बताउनुभयो । विद्यार्थीलाई पाठ्यपुस्तकको ज्ञानमा मात्र सीमित नराखी सीप, प्रविधि र उत्पादनमूलक गतिविधिसँग जोड्न सके शिक्षा थप व्यावहारिक र जीवनोपयोगी बन्ने उहाँले उल्लेख गर्नुभएको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लोकबहादुर खत्रीले विद्यालयको वर्तमान शैक्षिक अवस्थाबारे जानकारी गराउँदै बदलिँदो समय र परिस्थितिअनुसार शिक्षण सिकाइलाई गुणस्तरीय बनाउँदै लगिएको बताउनुभयो । विद्यालयको थप शैक्षिक सुधारका लागि अल्पकालीन तथा दीर्घकालीन योजनाका साथ अघि बढ्ने उहाँको भनाइ थियो ।

विद्यालयका शिक्षक हेमन्त जिसीको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रममा पूर्व वडा सदस्य मेदबहादुर जिसी, पूर्व शिक्षक जागेश्वर अधिकारीलगायत विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
वार्षिकोत्सवका अवसरमा विद्यार्थीहरूले खेलकुद तथा शैक्षिक गतिविधिसँग सम्बन्धित प्रस्तुति राख्नुका साथै एकल तथा सामूहिक गीत, गजल, कविता र नृत्य प्रस्तुत गरेका थिए । विद्यार्थीका सिर्जनात्मक तथा सांस्कृतिक प्रस्तुतिले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो । कार्यक्रमको सञ्चालन विद्यालयका प्रधानाध्यापक खिमबहादुर बुढामगरले गर्नुभएको थियो ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
