• ११ मंसिर २०८३, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
राप्तीमा १७औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु




तुलबहादुर कवँर मगर
भालुबाङ। दाङको राप्ती गाउँपालिकामा बिहीबारदेखि १७औँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ।

गाउँपालिका–२ लालमटियास्थित आदर्श नमुना माध्यमिक विद्यालयको आयोजना तथा राप्ती गाउँपालिकाको सहयोगमा प्रतियोगिता सुरु भएको हो।

गाउँपालिकाका प्रवक्ता तथा वडा नं. २ का वडाध्यक्ष पहलवान चौधरीको अध्यक्षतामा भएको प्रतियोगिताको उद्घाटन लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रजित थारूले गर्नुभएको थियो।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री थारूले खेलकुदलाई शारीरिक व्यायाम र मनोरञ्जनका रूपमा मात्र नभई विद्यार्थीको प्रतिभा पहिचान, क्षमता विकास र राष्ट्रियस्तरमा पहिचान स्थापित गर्ने महत्वपूर्ण माध्यमका रूपमा लिनुपर्ने बताउनुभयो।

उहाँले खेलकुदले विद्यार्थीको शारीरिक तथा मानसिक विकाससँगै अनुशासन, आत्मविश्वास र नेतृत्व क्षमता अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्नुभयो।

राप्ती गाउँपालिकाले विभिन्न खेलकुद प्रतियोगिता आयोजना गरी खेल क्षेत्रको विकासमा गरिरहेको प्रयास प्रशंसनीय रहेको बताउँदै उहाँले बजेट र स्रोतसाधनको सीमितताका बाबजुद विद्यालय तहदेखि नै खेलकुदलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो।

खेलाडी उत्पादनका लागि नियमित अभ्यास, आवश्यक खेल सामग्री, खेलकुद समय व्यवस्थापन र उचित प्रशिक्षणको व्यवस्था गर्नुपर्ने उहाँको भनाइ थियो।

लुम्बिनी प्रदेशमा खेलकुदको विकास र संस्थागत व्यवस्थापनका लागि प्रदेश खेलकुद परिषद् गठन गरिएको जानकारी दिँदै उहाँले स्थानीयस्तरमा पहिचान भएका खेलाडीलाई जिल्ला, प्रदेश हुँदै राष्ट्रियस्तरसम्म पुग्ने अवसर सिर्जना गर्न प्रदेश सरकारले आवश्यक नीति निर्माण र सहजीकरण गरिरहेको बताउनुभयो।

कार्यक्रममा गाउँपालिकाका प्रवक्ता तथा वडा नं. २ का वडाध्यक्ष पहलवान चौधरीले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले विद्यार्थीमा लुकेर रहेको खेल प्रतिभा पहिचान गर्न महत्वपूर्ण सहयोग पुग्ने बताउनुभयो। उहाँले खेलकुदले विद्यार्थीमा अनुशासन, आपसी सद्भाव र प्रतिस्पर्धात्मक भावनाको विकास गर्ने भएकाले विद्यालय तहबाटै खेलकुद गतिविधिलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिनुभयो।

त्यस्तै, गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख देवी मल्लाले प्रतियोगिताले विद्यार्थीको खेल क्षमता पहिचान र विकाससँगै भविष्यमा जिल्ला, प्रदेश तथा राष्ट्रियस्तरका प्रतियोगितामा सहभागी हुन आधार तयार गर्ने बताउनुभयो।

उहाँले विद्यालयस्तरमा खेलकुद गतिविधिलाई नियमित र व्यवस्थित बनाउँदै विद्यार्थीलाई खेल क्षेत्रमा आकर्षित गर्न प्रतियोगिता महत्वपूर्ण हुने उल्लेख गर्नुभयो।

प्रतियोगितामा राप्ती गाउँपालिकाभित्रका सामुदायिक तथा संस्थागत गरी ३२ विद्यालयका ८२७ विद्यार्थी सहभागी भएका छन्।

प्रतियोगितामा छात्र तथा छात्रा भलिबल, कबड्डी, एथलेटिक्स, मार्सल आर्ट, हाइजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिन थ्रो, सटपुट र कराँतेलगायतका खेल समावेश गरिएका छन्।

उद्घाटनअघि सहभागी विद्यालयका विद्यार्थीहरूले मार्चपास समेत गरेका थिए।

कार्यक्रममा जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधि, स्थानीय बुद्धिजीवी, सुरक्षाकर्मी, सञ्चारकर्मी, शिक्षक तथा विद्यार्थीहरूको सहभागिता थियो।

विद्यालयको शिक्षक अभिभावक संघका संयोजक बसन्त नेपालीको स्वागत मन्तव्य तथा सहायक प्रधानाध्यापक विष्णु पाेख्रेलको स्वागत कविताबाट सुरु भएको कार्यक्रमको सहजीकरण विद्यालयका प्रधानाध्यापक खेतुलाल पौडेलले गर्नुभएको थियो।

तीन दिनसम्म सञ्चालन हुने प्रतियोगिता मंसिर १२ गतेसम्म आदर्श नमुना माध्यमिक विद्यालयको प्रांगणमा सञ्चालन हुनेछ।

Facebook Comments