• ८ मंसिर २०८३, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
कविताको शीर्षक : विप्लवी क्रान्ति




लेखक – सीता सम्झना

तिमी भन्छौ
बाँझो खेत किन खन्दैछौ
के खेत खन्दा बिस्फोट हुन्छ?
तिमी भन्छौ
आलु किन रोप्दै छौ
के आलु लगाउँदा बम फल्छ ?
तिमी भन्छौ
भेडा बाख्रा कुखुरा किन पाल्छौ
के ती मुक्तीसेना बन्छन् ?

भन्छौ कुटो कोदालो किन समाएको
कुटो कोदालो के बन्दुक हुन्छ?
सोध्छौ उद्योगहरु किन खोल्छौ,कम्युन किन चलाउँछौ
तिमी किन तर्सिन्छौ ?
किन अवरोध गर्छौ ?
म भन्छु,बरु तिमी पनि हिँड
किनकि,योत एउटा अभियान हो
नयाँ सभ्यताको बाटो हो ।

ओ साथी,
तिमी पनि बुझाऊ
क्रान्ति कसरी हुन्छ ?
कि उनीहरू जस्तैः
नक्कली कागजात बनाएर
ओल्लो घरको बाख्रा पल्लो घर सार्दै
वनावटी फार्म देखाउदै अनुदान पचाएर ?
कि कसैलाइ सिफारिस गरेबापत
सानो रोजगारी लाएबापत
खासखुस कमिशन खाएर ?
कि ,आफ्ना मनपरेकालाई
माथिदेखि तलसम्म
सेटिङ गर्दै
राज्य दोहन गरेर ?
कि विदेशीका सामु
भीख माग्दै लम्पसार परेर?
कि देशका सबै युवालाई
पासपोर्ट बोकाउँदै परदेश पठाएर?
कि नयाँ-नयाँ बिचौलिया खडा गर्दै
सत्ताको अतृप्त रस चुसेर?

अँहँ!यी सबै हुँदैन भन्छ ऊ
बरु उसले जुम्लामा स्याउ रोप्छ
उसले स्याउमात्रै रोप्दैन
उर्वर माटोमा
श्रम संस्कृती रोपिरहेछ
ऊ बाँझो बारी मात्र जोत्दैन
स्वाभिमान र आत्मसम्मान पोखिरहेछ
उसले पसिनासँग
गरीखाने संस्कारको सुगन्ध छोडिरहेछ ।

भन्दैन उसले ,अरुलाई मात्र काम गर!
तपतप पसिना चुहाउँदै
आफैँ अघिअघि सरिरहेछ
ऊ त आजको समयको संवाहक हो
सत्यको मियो बनेर अढिएकोछ
लोभलालच छोडेर
बन्जर जमिन फोड्दै
देशको भबिस्य खोजिरहेछ
उ मेरो देशमा
एउटा जिउँदो मान्छे छ
खेतमा धान रोप्दै
समाजवादको बीज छरिरहेछ
आफ्नो देश आफै बनाउने
चेतनाको सलाई कोरिरहेछ
हो उसले ,
फरुवा र ट्याक्टरले
भ्रस्टचारको जरा उखेल्दै
विप्लवी क्रान्ति,आफ्नै लयमा गरिरहेछ ।

Facebook Comments