कमल खड्का
होलेरी । रोल्पाको रुन्टीगढी गाउँपालिकामा खोरेत रोग मुक्त जिल्ला अभियान अन्तर्गत खोरेत रोगसम्बन्धी पूर्णखोप कार्यक्रम सञ्चालन हुने भएको छ। जसका लागि खोप लगाउन फिल्डमा खटिने भ्याक्सिनेटरहरूलाई अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको हो।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र लिबाङ रोल्पाको आयोजना तथा रुन्टीगढी गाउँपालिका पशु सेवा शाखा होलेरीको समन्वयमा खोप कार्यक्रम सञ्चालन हुँदैछ। “पशुहरूलाई नियमित खोरेत रोग विरुद्धको खोप लगाउ, समयमै रोग नियन्त्रण गरी पशुधनको आर्थिक क्षति हुनबाट जोगाउँ भन्ने मूल नाराका साथ यो खोप अभियान सञ्चालन गर्न लागिएको हो। खोरेत रोग खुर फाट्ने जनावरहरू जस्तै गाईभैंसी भेडा, बाख्रा बङ्गुर लाई लाग्ने हुँदा भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रोल्पा द्वारा खटाइएका खोपकर्ताहरूबाट किसानकै घरदैलोमा पुगेर निःशुल्क रुपमा खोप अभियान सञ्चालन गरिने भएको छ।
खोप अभियान सञ्चालन हुनु अगाबै खोप कार्यकर्ताहरूलाई खोप कसरी लगाउने कस्तो खालको पशुलाई लगाउने र कस्तो खालको पशुलाई नलगाउने भन्ने बारेमा रुन्टीगढी गाउँपालिकाको कार्यालयमा आएर पशु प्राविधिकहरू तथा अन्य खोप कार्यकर्ताहरूलाई भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रोल्पाका कार्यालय प्रमुख एवं डा शंकर न्यौपाने द्वारा सचेतना मूलक जानकारी गराइएको छ। रुन्टीगढी गाउँपालिका रोल्पा मा खोप आई सकेको हुनाले अब छिटै खोप सञ्चालन हुने डा. शंकर न्यौपानेले जानकारी दिनुभयो । खोरेत रोग जनावरलाई लागे पछि निको नहुने भएकोले यो रोग लाग्नु अगाबै खोप लगाउनु पर्ने आवश्यक रहेको डा. न्यौपानेले बताउनुभयो।
त्यस्तै कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष जनक पुनले खोप रुन्टीगढी गाउँपालिकाका कुनै पनि किसानको पशुहरुलाई नछुटाई लगाईदिन सुझाव सहित निर्देशन दिनुभएको छ ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
