• १ मंसिर २०८३, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
कांग्रेसभित्र एकता र रूपान्तरण आजको आवश्यकता हो : योगेन्द्र चौधरी




दाङ । नेपाली कांग्रेसका केन्द्रीय सहमहामन्त्री योगेन्द्र चौधरीले पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउनुपर्ने बताउनुभएको छ। उहाँले पार्टीभित्र देखिएका असमझदारी र मतभेदलाई संवाद तथा सहमतिमार्फत समाधान गर्दै संगठनलाई बलियो बनाउनुपर्नेमा जोड दिनुभएको हो।

नेपाली कांग्रेस दाङको आयोजनामा आयोजित वर्तमान राजनीतिक विषयक छलफल, भेटघाट तथा धन्यवाद कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै सहमहामन्त्री चौधरीले पार्टीको विधानअनुसार भएका गतिविधि र महाधिवेशनका प्रक्रियालाई सबैले स्वीकार गर्नुपर्ने बताउनुभयो। व्यक्तिगत स्वार्थ र पदका लागि पार्टीलाई कमजोर बनाउने गतिविधि गर्न नहुने उहाँको भनाइ थियो।

उहाँले पार्टीका बाँकी संरचनाहरूमा समेत अधिकतम सहमतिको वातावरण निर्माण गर्न आफूहरूले हरसम्भव प्रयास गर्ने बताउँदै त्यसका लागि नेतृत्व तहमा रहेका सबै नेता तथा कार्यकर्ताको भूमिका महत्त्वपूर्ण हुने उल्लेख गर्नुभयो।

पार्टीभित्रको एकतामा जोड दिँदै चौधरीले भन्नुभयो, “हामी कोसँग लड्दैछौँ भन्ने कुरा बुझ्न आवश्यक छ। संविधान, लोकतन्त्र र समावेशिताको रक्षाका लागि कांग्रेस एक ठाउँमा उभिनुपर्छ। हामी एकताबद्ध नभएसम्म राजनीतिक शक्ति निर्माण गर्न सक्दैनौँ।”

उहाँले नेपाली कांग्रेसले विगत ३५ वर्षमा मुलुकको विकास र परिवर्तनका लागि महत्त्वपूर्ण योगदान गरेको दाबी गर्नुभयो। विद्युत् उत्पादन, सडक पूर्वाधार, स्वास्थ्य, शिक्षा तथा नागरिकको औसत आयुमा भएको सुधारलाई उहाँले त्यसका उदाहरणका रूपमा प्रस्तुत गर्नुभयो।

सन् १९९० मा नेपालमा २७४ मेगावाट विद्युत् उत्पादन हुने गरेको उल्लेख गर्दै अहिले उत्पादन क्षमता चार हजार मेगावाटभन्दा माथि पुगेको उहाँले बताउनुभयो। त्यस्तै, सडक पूर्वाधार, बैंक तथा वित्तीय संस्थाको विस्तार, स्वास्थ्य सेवाको पहुँच र मातृ तथा बाल मृत्युदरमा आएको सुधार पनि विगतको विकासका सूचक भएको उहाँको भनाइ थियो।

यद्यपि भौतिक विकासले मात्रै नागरिकलाई सन्तुष्टि दिन नसक्ने उल्लेख गर्दै चौधरीले कांग्रेसले सुशासन, रोजगारी सिर्जना र नागरिकको जीवनस्तर सुधारका विषयमा थप काम गर्नुपर्ने स्वीकार गर्नुभयो। “हामी कहाँ चुक्यौँ भन्ने कुरा पनि आत्मसमीक्षा गर्नुपर्छ। सडक, बिजुली र स्वास्थ्य सुविधा विस्तार भए पनि नागरिकलाई रोजगारी र आर्थिक अवसर दिन सकेनौँ। सुशासनमा हामी चुकेका छौँ,” उहाँले भन्नुभयो।

उहाँले नयाँ पुस्ताको भावना र अपेक्षालाई बुझेर पार्टी रूपान्तरण गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो। पुरानो इतिहास र योगदानको चर्चा गरेर मात्रै अब नागरिकको विश्वास जित्न नसकिने भन्दै युवालाई पार्टीको वर्तमान सहयात्रीका रूपमा अघि बढाउनुपर्ने बताउनुभयो।

चौधरीले वर्तमान सरकारका कामकारबाहीप्रति पनि प्रश्न उठाउनुभयो। सरकारले संविधान र कानुनको परिधिभित्र रहेर शासन सञ्चालन गर्नुपर्ने भन्दै विधिको शासन, प्रेस स्वतन्त्रता र नागरिक अधिकारको सम्मान हुनुपर्ने बताउनुभयो।

मिडिया हाउस तथा राजनीतिक नेतृत्वका निवासअगाडि प्रहरी परिचालन गरी त्रास सिर्जना गरिएको भनिएका घटनाको निष्पक्ष छानबिन हुनुपर्ने उहाँको माग थियो। त्यस्तै, अख्तियार दुरुपयोग अनुसन्धान आयोगजस्ता संवैधानिक निकायलाई कार्यपालिकाको दबाबमा राख्न नहुने उहाँले बताउनुभयो।

सरकारले गरेका निर्णय र गतिविधिबारे संसद्मा छलफल हुनुपर्ने उल्लेख गर्दै उहाँले संसद्लाई छल्दै शासन सञ्चालन गर्ने प्रवृत्ति लोकतान्त्रिक मूल्य र मान्यताअनुकूल नहुने धारणा राख्नुभयो।

चौधरीले सरकारका राम्रा काममा प्रतिपक्षले सहयोग गर्ने तर संविधान, कानुन र नागरिकको हितविपरीत हुने काममा खबरदारी गर्ने स्पष्ट पार्नुभयो। मुलुकमा जातीय तथा सामाजिक सद्भाव कायम राख्न सबै राजनीतिक दल जिम्मेवार हुनुपर्ने उहाँको भनाइ थियो।

उहाँले भदौ २३ र २४ गते भएका घटनाको निष्पक्ष छानबिन गरी दोषी देखिएकालाई कानुनअनुसार कारबाही गर्नुपर्ने धारणा पनि राख्नुभयो। भदौ २३ गते बालबालिकामाथि भएको गोली प्रहार र २४ गते भएका हिंसात्मक घटनाको सत्यतथ्य सार्वजनिक हुनुपर्ने उहाँले बताउनुभयो।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, लुम्बिनी प्रदेश कार्यसमितिका पदाधिकारी तथा सदस्य, जिल्ला, क्षेत्र, प्रदेशसभा, पालिका तथा वडा कार्यसमितिका प्रतिनिधि, क्षेत्रीय प्रतिनिधि र पार्टीका नेता–कार्यकर्ताहरूको सहभागिता रहेको थियो।

नेपाली कांग्रेस दाङका जिल्ला सभापति शंकरप्रसाद डाँगीको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन जिल्ला सचिव अर्जुन योगीले गर्नुभएको थियो।

Facebook Comments