प्यूठान । प्यूठानको झिमरुक गाउँपालिका–६, दहखोलास्थित ऐतिहासिक तथा धार्मिक महत्व बोकेको श्री सिद्ध मन्दिर पुनर्निर्माणपछि एक विशेष समारोहबीच उद्घाटन गरिएको छ । मन्दिरको उद्घाटन झिमरुक गाउँपालिकाका अध्यक्ष पितबहादुर महतरा क्षेत्रीले गर्नुभएको हो । साथै, उहाँले मन्दिर निर्माण, भण्डार कक्ष तथा सभाहल निर्माणको लागि सहयोग पु¥याउने दाताहरूको नाम समेटिएको शिलालेखसमेत अनावरण गर्नुभएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष महतरा क्षेत्रीले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षणले सामाजिक एकता, आपसी सद्भाव र सामुदायिक सहकार्यलाई सुदृढ बनाउने बताउनुभयो । उहाँले दशनामी समुदायले आफ्नो मौलिक परम्परा र सांस्कृतिक पहिचानलाई निरन्तरता दिँदै देखाएको सामूहिक एकता प्रशंसनीय रहेको उल्लेख गर्नुभयो । सो अवसरमा मन्दिर पुनःनिर्माणमा आर्थिक सहयोग पु¥याउने सबैलाई गाउँपालिकाको तर्फबाट धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
कार्यक्रमका अतिथि एवं पूर्वशिक्षक कृष्ण गिरीले सिद्ध मन्दिरको ऐतिहासिक पृष्ठभूमि, धार्मिक महत्व र सांस्कृतिक पहिचानबारे प्रकाश पार्नुभयो । उहाँका अनुसार गोविन्द चन्द्र ठकुरी नेपाल प्रवेश गरेपछि दहखोलालाई आफ्नो आश्रयस्थल बनाई जीवनयापन गर्नुभएको थियो । पछि संन्यासी जीवन अपनाएर गोविन्द गिरीका रूपमा परिचित उहाँले सोही स्थानमा समाधि लिएपछि उहाँका शिष्य तथा अनुयायीहरूले समाधिस्थललाई श्रद्धा र पूजाको केन्द्रका रूपमा विकास गर्दै सिद्ध मन्दिरको स्थापना गरेको ऐतिहासिक जनविश्वास रहेको छ। उहाँका अनुयायी तथा वंशजहरू कालान्तरमा दशनामी महन्त गिरीका रूपमा परिचित हुँदै दहखोलालगायत नेपालका विभिन्न स्थानमा बसोबास गर्दै आएको गिरीले बताउनुभयो । उहाँले सिद्ध मन्दिर केवल धार्मिक आस्थाको केन्द्र मात्र नभई दशनामी महन्त गिरी समुदायको ऐतिहासिक उत्पत्ति, वंशपरम्परा, आध्यात्मिक विरासत र सांस्कृतिक पहिचानसँग जोडिएको महत्त्वपूर्ण सम्पदा भएको उल्लेख गर्दै यसको इतिहासको थप खोज, अनुसन्धान र अभिलेखीकरण आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।
त्यसैगरी कार्यक्रमका विशिष्ट अतिथि डा. शैलेन्द्र गिरीले सिद्ध मन्दिरको इतिहास करिब दुई सयदेखि अढाई सय वर्ष पुरानो रहेको ऐतिहासिक विवरण प्रस्तुत गर्नुभयो । उहाँका अनुसार करिब एक शताब्दीअघि प्युठान जिल्लाको चर्चित धार्मिक स्थलका रूपमा परिचित यो मन्दिर विभिन्न कालखण्डमा आएका भूकम्प तथा भौतिक क्षतिका कारण जीर्ण बन्दै गएको थियो । समयमै पुनर्निर्माण हुन नसक्दा मन्दिर क्रमशः सामान्य धार्मिक थानमा सीमित हुन पुगेको र यसको ऐतिहासिक पहिचानसमेत ओझेलमा पर्दै गएको उहाँले बताउनुभयो ।
हाल पुनस्र्निर्माणसँगै मन्दिरले आफ्नो पुरानो स्वरूप र धार्मिक गरिमा पुनः प्राप्त गर्ने अवसर पाएको उल्लेख गर्दै उहाँले यसको ऐतिहासिक अस्तित्व, मौलिक पहिचान र सांस्कृतिक महत्त्वलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउनुपर्नेमा जोड दिनुभयो। मन्दिरको खोज तथा अध्ययनका क्रममा जोर्डन र संयुक्त अरब इमिरेट्ससँग सम्बन्धित भनिएका तीनवटा विदेशी सिक्का, करिब ११० वर्षअघि चढाइएका सिक्का, विभिन्न धातुका सामग्री, गहना तथा शिलालगायतका पुरातात्त्विक महत्व हुन सक्ने वस्तुहरू फेला परेको जानकारीसमेत उहाँले दिनुभयो । यी सामग्रीको उत्पत्ति, प्राचीनता र ऐतिहासिक महत्त्वलाई वैज्ञानिक तथा पुरातात्त्विक अध्ययनबाट थप प्रमाणित गर्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले मन्दिरको इतिहास र सम्पदाको व्यवस्थित दस्तावेजीकरण गर्न आग्रह गर्नुभयो। साथै मन्दिर पुनर्निर्माण तथा व्यवस्थापनमा आर्थिक, भौतिक र श्रमदानमार्फत योगदान पुर्याउने सम्पूर्ण दाता, सहयोगी तथा सेवाभावी महानुभावहरू प्रति हार्दिक आभार व्यक्त गर्नुभयो ।
उक्त कार्यक्रममा ८४ वर्ष पूरा गर्नुभएका ज्येष्ठ नागरिक ओमादेवी गिरी, टंकु गिरी र नन्दलाल गिरीलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
सोही अवसरमा मन्दिर निर्माण, भण्डार कक्ष तथा सभाहल निर्माण तथा व्यवस्थापनमा रु ५ लाख ५ हजार ५ सय ५५ आर्थिक सहयोग गर्ने पदम गिरी, दोवन्तीदेवी गिरी, डा. शैलेन्द्र गिरी, डा. भीमसेन गिरी, रेशम गिरीलाई सम्मान गरिएको थियो । त्यसैगरी, १ लाख १५ हजार ५ सय ५५ सहयोग गर्ने भुपाल गिरी, १ लाख १५ हजार १ सय ११ सहयोग गर्ने पिताम्बर गिरी, १ लाख ११ हजार १ सय ११ सहयोग गर्ने बासुदेव गिरी, १ लाख ११ हजार १ सय ५ सहयोग गर्ने लक्ष्मण गिरी, १ लाख ५ सय सहयोग गर्ने बालाराम गिरी र १ लाख १ सय ११ सहयोग गर्ने हिमा गिरीलाई सम्मान गरिएको थियो ।
मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पदम गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा झिमरुक गाउँपालिका–५ का वडा अध्यक्ष दधिराम पोख्रेल, वडा नं. ६ का वडा अध्यक्ष धनबहादुर पुन, वडा सदस्य हेमराज भट्टाराई, मित्रु गिरी, समाजसेवी श्रीकृष्ण रिजाल, युवा नेता मिलन एमसी, ज्योतिष चन्द्रकन्ता पोख्रेल, बुद्धिजिवी भुपाल गिरी, रेशम गिरी, कमल गिरी लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा एलिसन गिरी र सुप्रिया गिरीले स्वागत नृत्य प्रस्तुत गर्नुभएको थियो । कार्यसमिति सदस्य विष्णु गिरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन डा. भीमसेन गिरीले गर्नुभएको थियो ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
