दाङ । दाङको घोराहीमा रहेको ‘झोर्ले दोहोरी साँझ एण्ड रेस्टुरेन्ट’ले आफ्नो दोस्रो वार्षिक उत्सवको अवसरमा विशेष सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ।
आगामी २०८३ मंसिर ३ गतेदेखि ५ गतेसम्म तीन दिनसम्म सञ्चालन हुने विशेष कार्यक्रममा चर्चित लोकदोहोरी कलाकार तथा स्थानीय कलाकारहरूको विशेष सांगीतिक प्रस्तुति रहने भएको छ।
झोर्ले दोहोरी साँझमा नियमित रूपमा हरेक दिन सांस्कृतिक तथा सांगीतिक कार्यक्रम हुँदै आएको छ। सोही कार्यक्रमलाई निरन्तरता दिँदै दोस्रो वार्षिक उत्सवको अवसरमा थप विशेष सांस्कृतिक कार्यक्रम आयोजना गर्न लागिएको सञ्चालिका विष्णु सुनारले जानकारी दिइन्।
कार्यक्रममा चर्चित लोकदोहोरी गायिका टिका सानु, गायक सन्दीप सेन्चुरी, सिद्धार्थ आले मगर, रमिला बुढा मगरलगायतका कलाकारहरूको विशेष प्रस्तुति रहनेछ। साथै अन्य विभिन्न गायक तथा गायिकाहरूको समेत सांगीतिक प्रस्तुति रहने सञ्चालिका सुशीला थापा मगरले बताइन्।
दोहोरी तथा लोकसंगीतलाई माया गर्ने दर्शक र संगीतप्रेमीहरूलाई लक्षित गरी आयोजना गर्न लागिएको उक्त कार्यक्रममा नेपाली मौलिक लोकसंस्कृति, कला र संगीतको झल्को दिने प्रस्तुतिहरू रहने अपेक्षा गरिएको छ।
नियमित सांस्कृतिक कार्यक्रममार्फत दर्शकलाई मनोरञ्जन प्रदान गर्दै आएको झोर्ले दोहोरी साँझले आफ्नो दोस्रो वार्षिक उत्सवलाई थप उत्साहपूर्ण र विशेष बनाउन तीनदिने सांगीतिक कार्यक्रम आयोजना गर्न लागेको हो।
कार्यक्रम घोराही उपमहानगरपालिका–१५, उमेश मार्गस्थित नबिल बैंकको माथिल्लो तलामा रहेको झोर्ले दोहोरी साँझ एण्ड रेस्टुरेन्टमा सञ्चालन हुनेछ। आयोजकले सम्पूर्ण संगीतप्रेमी, लोकदोहोरी पारखी तथा शुभेच्छुकहरूलाई कार्यक्रममा सहभागी भई उत्सव सफल बनाउन आग्रह गरेको छ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
