दाङ। नेपाली सांगीतिक क्षेत्रमा फरक पहिचान बनाउँदै आएका गीतकार तथा संगीतकार नरेश खातीको सिर्जनामा तयार भएको तिहार विशेष गीत ‘आइपुग्यो तिहार’ले सामाजिक सञ्जाल टिकटकमा तहल्का मच्चाएको छ।
एलिना चौहान र प्रताप दासको स्वर रहेको उक्त गीत सार्वजनिक भएको पहिलो २४ घण्टामै ८ लाखभन्दा बढी टिकटक भिडियोमा प्रयोग भएको छ हालसम्म गीतको अडियो प्रयोग गरी १३ लाखभन्दा बढी टिकटक भिडियो बनिसकेको बताइएको छ।
उक्त गीत नेपाली टिकटक ट्रेन्डिङमा पहिलो स्थानमा रहँदा ग्लोबल ट्रेन्डिङमा समेत तेस्रो स्थानमा पुगेको छ। सार्वजनिक भएको छोटो समयमै यति ठूलो संख्यामा टिकटक भिडियो निर्माण हुनुले गीतप्रति दर्शक तथा श्रोताको आकर्षण बढेको देखिन्छ।
संगीतकार नरेश खातीका सिर्जनामा यसअघि पनि थुप्रै फरक स्वादका गीतहरू लोकप्रिय भइसकेका छन्। ‘मेरो बाबा सुपरम्यान’, ‘मेरी छोरी’, ‘ए आमा संसार देखायौ’, ‘मेरो छोरा’, ‘मेरो प्यारो बच्चा’, ‘पुकुलीमाया’ र ‘जन्मदिनको शुभकामना’ लगायतका गीतले उनलाई श्रोतामाझ परिचित बनाएका छन्।
विशेषगरी पारिवारिक भावना, सम्बन्ध, माया र नेपाली समाजका विभिन्न पक्षलाई गीतमार्फत प्रस्तुत गर्न खाती सफल हुँदै आएका छन्।
यसपटक तिहारको सांस्कृतिक माहोललाई समेटेर तयार गरिएको ‘आइपुग्यो तिहार’ गीतले टिकटकमा पाएको लोकप्रियताले नेपाली मौलिक सांगीतिक सिर्जनाको डिजिटल प्रभावलाई समेत उजागर गरेको छ।
गीतको शब्द तथा संगीतमा नरेश खाती र स्वरमा एलिना चौहान तथा प्रताप दासको सहकार्य रहेको छ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
