रुकुम पश्चिम । रुकुम पश्चिममा निर्माण सम्पन्न भएको स्यार्पु हाइड्रोपावर आयोजनाले व्यावसायिक विद्युत् उत्पादनको स्वीकृति पाएको छ । नेपाल विद्युत् प्राधिकरणले आयोजनालाई व्यावसायिक उत्पादनको स्वीकृति प्रदान गरेसँगै अब यसबाट नियमित आम्दानी हुने बाटो खुलेको छ ।

प्रतिनिधि सभा सदस्य गोपाल शर्माले स्यार्पु हाइड्रोपावरको व्यावसायिक उत्पादन स्वीकृतिलाई रुकुम पश्चिमका स्थानीय सरकार र जनसमुदायका लागि ऐतिहासिक सफलता भएको बताउनुभएको छ । उहाँका अनुसार आयोजनाबाट वार्षिक ८ देखि १२ करोड रुपैयाँसम्म आम्दानी हुने अनुमान गरिएको छ । उक्त आम्दानी शेयर लगानीका आधारमा स्थानीय सरकारहरूको आयस्रोतमा समावेश हुनेछ ।
माओवादी नेतृत्वका स्थानीय सरकारहरूको संयुक्त पहलकदमीमा स्यार्पु पावर कम्पनी लिमिटेडमार्फत अघि बढाइएको यो आयोजना स्थानीय तहको सहकार्यमा निर्माण गरिएको देशकै नमुना आयोजना भएको शर्माको भनाइ छ ।

स्थानीय तहको पहिलो निर्वाचनपछि रुकुम पश्चिमका सबै स्थानीय तहमा माओवादी जनप्रतिनिधिहरू निर्वाचित भएको अवस्थामा स्थानीय सरकारहरूको संयुक्त पहल, सहभागिता र निर्णयका आधारमा आयोजना अघि बढाइएको थियो । नेपाल सरकार मन्त्रिपरिषद्को २०७५ वैशाख २७ गतेको निर्णयअनुसार २०७५ भदौ ५ गते स्यार्पु पावर कम्पनी लिमिटेड दर्ता गरी आयोजनाको कार्यान्वयन सुरु गरिएको थियो ।

स्थानीय सरकारलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउने तथा रुकुम पश्चिमका नागरिकको आम्दानी र रोजगारी अभिवृद्धि गर्ने उद्देश्यले सुरु गरिएको आयोजनाले व्यावसायिक उत्पादनको स्वीकृति पाएसँगै आफ्नो लक्ष्यतर्फ महत्त्वपूर्ण उपलब्धि हासिल गरेको शर्माले उल्लेख गर्नुभएको छ ।

आयोजनामा रुकुम पश्चिमका स्थानीय तह, जिल्ला समन्वय समिति र नेपाल सरकारको समेत शेयर लगानी रहेको छ । हालसम्म चौरजहारी नगरपालिकाको ६ करोड २९ लाख, सानीभेरी गाउँपालिकाको ४ करोड ९६ लाख, बाँफिकोट गाउँपालिकाको २ करोड ७९ लाख, आठबिसकोट नगरपालिकाको २ करोड ५ लाख, त्रिवेणी गाउँपालिकाको १ करोड ८२ लाख र मुसिकोट नगरपालिकाको ५० लाख रुपैयाँ लगानी रहेको छ ।
त्यस्तै, जिल्ला समन्वय समिति रुकुम पश्चिमको ६१ लाख ७२ हजार र नेपाल सरकार अर्थ मन्त्रालयको २२ लाख रुपैयाँ शेयर लगानी रहेको छ ।
आयोजना सुरु गर्न तत्कालीन नेता जनार्दन शर्मा (प्रभाकर), स्थानीय सरकारका पूर्व तथा वर्तमान प्रमुखहरू, कार्यपालिका र नगर तथा गाउँसभाका सदस्यहरू, कर्णाली प्रदेश सरकारका पूर्व तथा वर्तमान मन्त्रीहरू एवं प्रदेशसभा सदस्यहरूको महत्त्वपूर्ण भूमिका रहेको शर्माले बताउनुभएको छ ।
त्यसैगरी, सञ्चालक समितिका अध्यक्ष धनवीर ओली, समितिका सदस्यहरू, कम्पनीका प्रमुख कार्यकारी अधिकृत इन्जिनियर प्रदीप ओली तथा कर्मचारीहरूको योगदान पनि महत्त्वपूर्ण रहेको उहाँले उल्लेख गर्नुभएको छ ।
आयोजनाको व्यावसायिक उत्पादन स्वीकृतिसँगै रुकुम पश्चिमका स्थानीय सरकारका लागि नियमित आम्दानीको नयाँ स्रोत थपिने अपेक्षा गरिएको छ । शर्माले आयोजनालाई सफल बनाउन योगदान गर्ने सबैप्रति आभार व्यक्त गर्दै स्थानीय सरकारहरू र रुकुमेली जनसमुदायलाई बधाई दिनुभएको छ ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।
