काठमाडौं। कात्तिक कृष्ण त्रयोदशीका दिन आज यमराजको दूतका रूपमा कागलाई खानेकुरा खान दिएर काग तिहार मनाइँदैछ। यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रूपमा मान्ने शास्त्रीय मान्यता छ।
कागले यमराज समक्ष राम्रो खबर लगिदियोस् भनेर आजका दिन कागलाई पूजा आराधनासहित मीठो खान दिई खुशी पार्ने गरिएको हो। लोक व्यवहारमा काग घरमा आई कराएमा शुभ बोल, शुभ बोल भनी भन्ने चलन छ। काग घर वरपर आई कराएमा उसले केही खबर लिएर आएको विश्वास गरिन्छ।
यस अवसरमा काठमाण्डौको कागेश्वरी मनोहरा नगरपालिका–१ को कागेश्वरी महादेव मन्दिरमा आज विशेष पूजा आराधना हुने गर्छ। यसैगरी हनुमानढोकाको कागेश्वरी मन्दिरमा पनि कागको विशेष पूजा आराधना गरिन्छ।
यस वर्ष तिथिको घटबढका कारण सायंकालमा कात्तिक कृष्ण त्रयोदशी परेका दिन शुरु हुने यमपञ्चक हिजो बेलुकीदेखि नै शुरु भएको छ। यमदीप दान हिजोदेखि नै शुरु भएको हो। गरगहना एवम् तामाका भाँडाकुँडा किन्ने धनतेरस पर्व हिजो नै मनाइएको छ।
भोलि नरक चतुर्दशी, कुकुर तिहार र लक्ष्मीपूजा परेको छ। पर्सि २३ गते गाईपूजा तथा २४ गते गोवर्धन पूजा, गोरुपूजा, बलिपूजा, हलितिहार तथा म्हपूजा मनाइनेछ। २४ गतेदेखि नेपाल संवत् ११४७ पनि शुरु हुनेछ।
यमपञ्चकको अन्तिम दिन अर्थात् २५ गते बुधबार यमद्वितीया तथा भाइटीका मनाइन्छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार भाइटीकाका लागि बिहान ११ बजेर ७ मिनेटको साइत उत्तम छ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
