दाङ । कला, साहित्य, संस्कृति तथा रंगमञ्चको विकास र प्रवर्द्धनमा सक्रिय पहल थिएटर सामुदायिक कलाघरले सामाजिक विषयवस्तुमा आधारित टेलिभिजन सिरिज निर्माण गर्ने भएको छ । राष्ट्रिय च्यानलबाट प्रसारण गर्ने तयारीसहित निर्माण गर्न लागिएको सिरिजको निर्देशनका लागि चलचित्रकर्मी मुनाल घिमिरे अनुबन्धित भएका छन् ।
पहल थिएटरका अध्यक्ष केएल बुढाथोकीका अनुसार सिरिज निर्देशनका लागि घिमिरेसँग सम्झौता भइसकेको छ । सिरिजमा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको अभिनय रहनेछ । कलाकार छनोटका लागि छिट्टै अडिसन आह्वान गर्ने तयारीसमेत गरिएको अध्यक्ष बुढाथोकीले जानकारी दिए ।

सिरिजमा समाजका समसामयिक सवाल, सामाजिक विकृति र विसङ्गति, मानवीय संवेदना, सामाजिक रूपान्तरण तथा जनजीवनका विविध पक्षलाई कथावस्तु बनाइने पहल थिएटरले जनाएको छ । मनोरञ्जनसँगै सामाजिक चेतना अभिवृद्धि गर्ने उद्देश्यले निर्माण गर्न लागिएको सिरिजमा समाजका विद्यमान समस्या, संघर्ष, सम्भावना र सकारात्मक परिवर्तनका पक्षलाई कलात्मक ढङ्गले प्रस्तुत गरिनेछ ।
चलचित्र तथा दृश्य माध्यममा विशेष ज्ञान र अनुभव हासिल गरेका घिमिरे निर्देशनमा अनुबन्धित भएपछि सिरिजको प्रस्तुति, कथावाचन र प्राविधिक पक्षलाई गुणस्तरीय बनाउने अपेक्षा गरिएको छ ।
स्थानीय कलाकारको प्रतिभा र क्षमतालाई राष्ट्रियस्तरमा पहिचान दिलाउनुका साथै सामाजिक विषयवस्तुलाई प्रभावकारी रूपमा आमदर्शकमाझ पुर्याउने उद्देश्यले सिरिज निर्माण गर्न लागिएको थिएटरले जनाएको छ ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।
