• २१ कार्तिक २०८३, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
किसान र व्यवसायीबीच दूरी घटाउँदै घोराहीमा तरकारीको मूल्य निर्धारण




घोराही । किसानले उत्पादनको उचित मूल्य नपाउने र उपभोक्ताले महँगो मूल्यमा तरकारी खरिद गर्नुपर्ने समस्यालाई समाधान गर्ने उद्देश्यले दाङको घोराहीमा किसान र तरकारी व्यवसायीको संयुक्त सहभागितामा तरकारीको मूल्य निर्धारण गर्ने नयाँ अभ्यास सुरु गरिएको छ ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाऔँ अभियानका संयोजक सविन प्रियासनको अगुवाइमा सुरु गरिएको यस पहलमा किसान र व्यवसायी दुवै पक्षले सकारात्मक चासो देखाएका छन् । स्थानीय बजारको माग, आपूर्ति र कारोबारको अवस्थालाई आधार मानेर किसान र व्यवसायीको संयुक्त छलफलबाट मूल्य निर्धारण गर्ने अभ्यास नेपालमै सम्भवतः पहिलो भएको पहलकर्ताहरूको दाबी छ ।

लामो समयदेखि किसान र तरकारी व्यवसायीबीच मूल्य निर्धारण, बजार व्यवस्थापन तथा खरिदबिक्रीका विषयमा देखिँदै आएको असमझदारी र अविश्वास अन्त्य गरी दुवै पक्षको हित सुनिश्चित गर्ने उद्देश्यले मूल्य निर्धारण उपसमितिसमेत गठन गरिएको छ । उपसमितिको संयोजकमा प्रियासन रहनुभएको छ ।

व्यावसायिक तरकारी खेती गर्दै आउनुभएका गिरिराज पुरी, प्रविन दाहाल, महेन्द्र खड्का र नारायण पोखरेलले नयाँ अभ्यासप्रति खुसी व्यक्त गर्नुभएको छ । उहाँहरूले उत्पादन गर्नुअघि नै बजारको अवस्था, उत्पादन लागत र बिक्री मूल्यबारे स्पष्टता नहुँदा किसानले विभिन्न समस्या भोग्नुपरेको बताउनुभयो । सामूहिक छलफल र समन्वयबाट उत्पादनको उचित मूल्य पाउने वातावरण बन्ने उहाँहरूको अपेक्षा छ ।

किसानले तरकारी उत्पादन गर्न ठूलो मेहनत, समय र लगानी खर्च गर्नुपर्छ । तर, बजारमा पुगेपछि मूल्य निर्धारणमा किसानको भूमिका कमजोर हुँदा कतिपय अवस्थामा उत्पादन लागतसमेत उठाउन कठिन हुने गरेको छ । उत्पादन लागत, बजारको माग र उपलब्धतालाई ध्यान दिएर मूल्य निर्धारण गर्ने प्रणाली विकास भएमा किसानलाई व्यावसायिक खेतीमा थप प्रोत्साहन मिल्ने विश्वास गरिएको छ ।

त्यस्तै, लामो समयदेखि घोराहीमा थोक तरकारी कारोबार गर्दै आउनुभएका तारा डाँगी र अति फारुकीलगायत व्यवसायीले पनि नयाँ अभ्यासको स्वागत गर्नुभएको छ । बजारमा मूल्य निर्धारणको स्पष्ट आधार नहुँदा खरिदबिक्रीका क्रममा विभिन्न समस्या र विवाद उत्पन्न हुने गरेको उल्लेख गर्दै उहाँहरूले नियमित मूल्य निर्धारण प्रणालीले व्यवसाय सञ्चालन सहज बनाउने विश्वास व्यक्त गर्नुभयो ।

उपसमितिका सल्लाहकार सरस्वती खत्रीले पनि यस पहललाई सकारात्मक रूपमा लिनुभएको छ । त्यसैगरी सल्लाहकार प्रेमचन्द्र भुसाल, मधुसुदन अर्याल र कुमार घर्तीले किसान र व्यवसायीलाई एउटै ठाउँमा ल्याएर साझा समस्या समाधान गर्ने प्रयास महत्वपूर्ण भएको बताउनुभएको छ ।

उपसमितिका संयोजक प्रियासनका अनुसार दैनिक बिहान स्थानीय तथा बाहिरी बजारमा तरकारीको मूल्य, माग, आपूर्ति र कारोबारको अवस्थाबारे अध्ययन गरिनेछ । त्यसपछि बिहान ९ बजे उपसमितिको बैठक बसेर दैनिक मूल्य निर्धारण गर्ने अभ्यास सुरु गरिएको छ ।

किसानले उत्पादनको उचित मूल्य पाउनुपर्ने र व्यवसायीले पनि आफ्नो लगानी तथा श्रमअनुसार व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने उहाँको भनाइ छ । दुवै पक्षबीच विश्वास र सहकार्यको वातावरण निर्माण नगरी कृषि क्षेत्रको विकास सम्भव नहुने उल्लेख गर्दै प्रियासनले कसैलाई नोक्सान र कसैलाई अनुचित लाभ हुने अवस्था अन्त्य गरी पारदर्शी मूल्य प्रणाली स्थापित गर्नु पहलको मुख्य उद्देश्य रहेको बताउनुभयो ।

यस पहलले किसान र व्यवसायीबीचको सम्बन्धलाई विश्वासिलो बनाउनुका साथै घोराहीको तरकारी बजारलाई व्यवस्थित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । नियमित बजार अध्ययन, मूल्य निर्धारण र दुवै पक्षको सहभागितालाई निरन्तरता दिन सके किसानले उत्पादनको उचित मूल्य पाउने र व्यवसायीले पनि सहज तथा व्यवस्थित रूपमा कारोबार गर्न सक्नेछन् ।

किसानको खेतदेखि उपभोक्ताको भान्सासम्म जोडिएको तरकारी बजारलाई व्यवस्थित बनाउने यो प्रयास सफल भएमा घोराहीको अभ्यास अन्य स्थानीय तहका लागि पनि अनुकरणीय बन्न सक्नेछ ।

Facebook Comments