• १९ कार्तिक २०८३, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
घोराहीमा कार्तिक २० गते महाकवि देवकोटा सांगीतिक साँझ हुने




घोराही । नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११८औँ जन्मजयन्तीको अवसर पारेर घोराहीमा सांगीतिक साँझ आयोजना हुने भएको छ ।

राप्ती साहित्य परिषद् दाङ शाखाको आयोजनामा आगामी कार्तिक २० गते शुक्रबार घोराहीस्थित कौशी ब्याङ्क्वेटमा ‘महाकवि देवकोटा सांगीतिक साँझ’ आयोजना गर्न लागिएको हो । साँझ ५ बजेदेखि सुरु हुने कार्यक्रम पारिवारिक वातावरणमा सञ्चालन गरिने परिषद्का अध्यक्ष याम रेग्मीले जानकारी दिनुभयो ।

कार्यक्रममा देवकोटाका सिर्जनासँगै नेपाली साहित्य, संगीत र संस्कृतिसँग सम्बन्धित सांगीतिक प्रस्तुति रहने आयोजकले जनाएको छ । देवकोटाको साहित्यिक योगदानको स्मरण तथा सम्मान गर्दै उहाँका कालजयी सिर्जनालाई संगीतका माध्यमबाट नयाँ पुस्तासम्म पुर्‍याउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो ।

कार्यक्रमको सांगीतिक संयोजन साई ग्रेस म्युजिक एन्ड इभेन्ट्सले गर्नेछ । गुरुकुल एकेडेमी र गोरखा इन्टरनेसनल पब्लिक स्कुलले सह-संयोजन गर्ने कार्यक्रम छ ।

वि.सं. १९६६ मा लक्ष्मीपूजाका दिन काठमाडौंको डिल्लीबजारमा जन्मिएका देवकोटा नेपाली साहित्यका महाकवि हुन् । कविता, महाकाव्य, निबन्ध, कथा, नाटक र उपन्यासलगायत साहित्यका विभिन्न विधामा कलम चलाएका उनले नेपाली साहित्यलाई नयाँ उचाइमा पुर्‍याउन महत्वपूर्ण योगदान दिएका छन् ।

‘मुनामदन’, ‘शाकुन्तल’, ‘सुलोचना’, ‘कुञ्जिनी’ र ‘पागल’ उनका चर्चित सिर्जना हुन् । विशेषगरी ‘मुनामदन’ मार्फत उनले मानवीय संवेदना, प्रेम, सामाजिक यथार्थ र मानवतावादी चेतनालाई सशक्त रूपमा अभिव्यक्त गरेका छन् । नेपाली साहित्यमा पुर्‍याएको अतुलनीय योगदानका कारण उनलाई महाकविका रूपमा सम्मान गरिन्छ ।

Facebook Comments