घोराही । व्यावसायिक रूपमा तरकारी खेती गर्दै आएका किसानले आफ्नो उत्पादनको उचित मूल्य नपाएको गुनासो गर्दै आन्दोलनमा उत्रिएपछि किसान र व्यापारीबीच समन्वय कायम गरी कृषि उपज बजारलाई व्यवस्थित बनाउने पहल थालिएको छ। किसानका समस्या समाधान गर्दै उत्पादनको उचित मूल्य सुनिश्चित गर्ने उद्देश्यले पत्रकार एवं घोराही बनाऔँ अभियानका संयोजक सविन प्रियासनको नेतृत्वमा विशेष उपसमिति गठन गरिएको छ।
२०८३ कार्तिक १८ गते बसेको कृषि उपज बजार सञ्चालक समितिको आकस्मिक बैठकले किसान र व्यापारीबीच देखिएका समस्या समाधान गर्न तथा बजार व्यवस्थापनलाई प्रभावकारी बनाउन उपसमिति गठन गर्ने निर्णय गरेको हो। बजार सञ्चालक समितिका संयोजक सरस्वती खत्रीको अध्यक्षता तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाऔँ अभियानका संयोजक सविन प्रियासनको विशेष उपस्थितिमा बसेको बैठकमा किसान, व्यापारी, बजार सञ्चालक समितिका पदाधिकारी, सल्लाहकार तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो।
बैठकले तत्कालका लागि किसानले उत्पादन गरेको टमाटरको न्यूनतम थोक बिक्री मूल्यसमेत निर्धारण गरेको छ। निर्णयअनुसार गौरव जातको टमाटर प्रतिकिलो २५ रुपैयाँ र हिसना जातको टमाटर प्रतिकिलो ३५ रुपैयाँभन्दा कम मूल्यमा बिक्री नगर्ने सहमति भएको छ। किसानको उत्पादन लागत र बजारको अवस्थालाई ध्यानमा राखेर मूल्य निर्धारण गरिएको बैठकले जनाएको छ।
उपसमितिको संयोजकमा सविन प्रियासन रहनुभएको छ भने सदस्यहरूमा गिरिराज पुरी, प्रविन दाहाल, महेन्द्र खड्का, नारायण पोख्रेल, तारा डाँगी, बद्रीमोहन राई, बिपना ओली र अतिक फारुकी रहनुभएको छ। समितिमा किसान तथा व्यवसायी दुवै पक्षका प्रतिनिधिलाई समेटिएको छ।
त्यस्तै, सल्लाहकारमा सरस्वती खत्री, गोविन्द खड्का, पूर्णबहादुर मल्ल, कुमार घर्ती, मधुसुदन अर्याल, मानबहादुर घर्ती र प्रेमचन्द्र भुसाल (भीष्म) रहनुभएको छ।
उपसमितिका संयोजक प्रियासनले किसानले उत्पादन गरेको कृषि उपजको उचित मूल्य पाउने वातावरण निर्माण गर्नुका साथै व्यापारीहरूको व्यावसायिक हितलाई पनि ध्यानमा राखेर काम गरिने बताउनुभयो।
उहाँले भन्नुभयो, “किसानले पसिना बगाएर उत्पादन गरेको कृषि उपजले उचित मूल्य पाउनुपर्छ। अर्कोतर्फ व्यापारीहरूको व्यवसाय पनि सुरक्षित र व्यवस्थित हुनुपर्छ। किसान र व्यापारी एकअर्काका प्रतिस्पर्धी होइनन्, परिपूरक हुन्। त्यसैले दुवै पक्षबीच समन्वय, विश्वास र सहकार्य कायम गरेर बजारका समस्या समाधान गर्नुपर्छ भन्ने हाम्रो उद्देश्य हो।”
उपसमितिले बजारको नियमित अनुगमन गर्ने, किसान तथा व्यापारीका समस्या बुझ्ने, तरकारीको उत्पादन र मागको अवस्था अध्ययन गर्ने तथा जिल्ला बाहिरका बजारमा कृषि उपजको मूल्य र कारोबारको अवस्थासमेत जानकारी लिने निर्णय गरेको छ। यसका आधारमा किसानलाई मर्का नपर्ने र व्यापारीलाई पनि व्यावसायिक रूपमा सहज हुने गरी मूल्य निर्धारणका लागि आवश्यक सुझाव तथा पहल गरिनेछ।
हाललाई टमाटरको मूल्य निर्धारण गरिए पनि आगामी दिनमा अन्य तरकारी तथा कृषि उपजको मूल्य निर्धारण गर्ने विषयमा समेत उपसमितिले काम गर्ने संयोजक प्रियासनले जानकारी दिनुभयो।
बैठकमा सहभागी किसानहरूले उत्पादनको उचित मूल्य नपाउँदा खेतीपातीप्रति नै निराशा बढ्ने अवस्था आएको भन्दै बजार व्यवस्थापनमा प्रभावकारी पहल आवश्यक रहेको बताएका थिए। व्यापारीहरूले पनि बजारमा आपूर्ति, माग, बिक्री वितरण र मूल्यबीच सन्तुलन कायम गर्नुपर्ने धारणा राखेका थिए।
बैठकले किसान र व्यापारीबीच देखिन सक्ने समस्या तथा असमझदारीलाई आन्दोलन, आरोप–प्रत्यारोपभन्दा पनि आपसी संवाद र छलफलबाट समाधान गर्ने निष्कर्ष निकालेको छ। बजारलाई पारदर्शी, व्यवस्थित र सबै पक्षका लागि लाभदायक बनाउन सामूहिक प्रतिबद्धता व्यक्त गरिएको थियो।
किसान र व्यापारीबीच प्रत्यक्ष छलफल गरी कृषि उपजको मूल्य निर्धारण गर्ने यो पहललाई बजार व्यवस्थापनको सकारात्मक सुरुवातका रूपमा हेरिएको छ। यसले किसानलाई उत्पादनमा प्रोत्साहन गर्नुका साथै कृषि व्यवसायलाई व्यवस्थित र व्यावसायिक बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
